लुम्बिनी कांग्रेस : राष्ट्रियसभा सदस्य उम्मेदवारका लागि १२३ जनाको नाम सिफारिस

हिमाल प्रेस १० पुष २०८० २०:२६ | Tuesday, December 26, 2023
लुम्बिनी कांग्रेस : राष्ट्रियसभा सदस्य उम्मेदवारका लागि १२३ जनाको नाम सिफारिस

लुम्बिनी- राष्ट्रियसभा निर्वाचनका लागि लुम्बिनी प्रदेशका जिल्लाहरूबाट १२३ जना उम्मेदवारका लागि प्रदेश कमिटीमा सिफारिस आएको छ। आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनमा जिल्लाहरूबाट न्यूनतम २ जनादेखि अधिकतम ३२ जनासम्म उम्मेदवार बनाउन प्रदेश कमिटीलाई सिफारिस आएको हो।

रुकुमपूर्वबाहेक अन्य जिल्लाबाट पूर्व सांसददेखि स्थानीय तहमा उम्मेदवार बनेकासम्मलाई जिल्ला कार्यसमितिले उम्मेदवारका लागि सिफारिस गरी पठाएको नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले जानकारी दिए। उनका अनुसार प्रदेश कमिटीले जिल्लाबाट सिफारिस भई आएका नामावलीहरूको ब्याख्यासहित केन्द्रीय कमिटिलाई सिफारिस गरी पठाउनेछ।

लुम्बिनी प्रदेशबाट राष्ट्रियसभा सदस्य पदका लागि पूर्व उपसभामुख पुष्पा भुसालदेखि सार्वजनिक लेखा समितिका पूर्व सभापति भरत शाहसम्मका नेताहरूको नाम सिफारिस भएर आएको छ। भुसाल अर्घाखाँचीबाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा एमालेका टोपबहादुर रायमाझीसँग पराजित भएकी हुन् भने शाह रुपन्देही क्षेत्र नम्बर ५ मा एमालेका बासुदेव घिमिरेसँग प्रतिनिधिसभा निर्वाचन हारेका हुन।

त्यस्तै राष्ट्रियसभाका लागि नेपाली कांग्रेस केन्द्रीय सदस्य गेहेन्द्र गिरी, कृष्ण किशोर घिमिरे, प्युठानबाट डा.गोविन्द पोखरेल, गुल्मीबाट चन्द्र केसीको नाम सिफारिस भएको छ। रोल्पाबाट २ र बाँकेबाट ३२ जनाको नाम राष्ट्रियसभा सदस्यका लागि सिफारिस भई जिल्लाबाट आएको र यसउपर प्रदेश कमिटीले कैफियत लेखेर केन्द्रमा पठाउने प्रवक्ता प्रचण्ड विक्रम न्यौपानेले बताए। उनका अनुसार पार्टीमा पुर्‍याएको योगदान, क्षमता र राजनीतिक पृष्ठभूमि लेखेर केन्द्रमा प्रदेश कमिटिले पठाउनेछ।

लुम्बिनीबाट एमालेका कुमार दसौदी र कांग्रेसकी अनिता देवकोटाको फागुन २० गते राष्ट्रियसभा सदस्यको पदावधि सकिने भएपछि निर्वाचन हुने भएको हो। पुस २३ गते राष्ट्रियसभा उम्मेदवारको मनोनयन दर्ता गर्ने निर्वाचन आयोगको कार्य तालिका रहेको छ।

प्रकाशित: १० पुष २०८० २०:२६ | Tuesday, December 26, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast