मानव अधिकारको रक्षा भए मात्रै लोकतन्त्र बलियो हुन्छ : राष्ट्रपति

हिमाल प्रेस २४ मंसिर २०८० ७:०३ | Sunday, December 10, 2023
मानव अधिकारको रक्षा भए मात्रै लोकतन्त्र बलियो हुन्छ : राष्ट्रपति राष्ट्रपति रामचन्द्र पौडेल। फाइल तस्बिर।

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले मानव अधिकारको सम्मान, संरक्षण र संवर्धन भए मात्र बहुलवादमा आधारित संसदीय लोकतान्त्रिक शासन प्रणाली बलियो हुने बताएका छन्।

७५ ‍औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा शुभकामना दिँदै राष्ट्रपति पौडेलले कानुनी राज्यको भरपर्दो व्यवस्थासँगै मानवअधिकारको प्रत्याभूतिबाट कुनै पनि नागरिक वञ्चित हुनु नपर्ने धारणा राखेका हुन्।

उनले संघ, प्रदेश, स्थानीय तह र सामाजिक संघसंस्था, सञ्चारमाध्यम तथा निजी क्षेत्रको सक्रियताबाट लैंगिक समानता र सामाजिक समावेशीकरणले नसमेटिएका समुदायको हक अधिकार, स्वतन्त्रता र न्यायको अनुभूति हुन सके मात्र मानव अधिकार दिवसले सार्थकता पाउने तर्क गरेका छन्।

व्यक्तिगत स्वतन्त्रता र लोकतान्त्रिक शासन प्रणालीलाई सारभूत बनाउने मानव अधिकारको महत्त्वपूर्ण पक्ष आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार भएको उल्लेख गर्दै राष्ट्रपति पौडेलले विश्वमा न्यायपूर्ण र समतामूलक समाज निर्माण गर्न राष्ट्रको ध्यान केन्द्रित भइरहेका सन्दर्भमा नेपालले पनि संविधानमा व्यवस्था भएको नागरिकको मौलिक हकको पूर्ण कार्यान्वयनका लागि अग्रसरता लिनुपर्नेमा जोड दिएका छन्।

उनेले सबै पक्ष र निकायलाई मानवअधिकारको मर्म तथा भावना आत्मसात् गर्ने प्रेरणा देओस् भनी कामनासमेत गरेका छन्।

संयुक्त राष्ट्रसंघको महासभाबाट मानवअधिकारको विश्वव्यापी घोषणापत्र जारी भएको दिनको स्मृतिमा प्रत्येक वर्ष डिसेम्बर १० मा विश्वभर यो दिवस मनाइन्छ।

प्रकाशित: २४ मंसिर २०८० ७:०३ | Sunday, December 10, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast