चितवनमा बढ्दैछ तोरीखेती

हिमाल प्रेस ११ पुष २०८० २०:३४ | Wednesday, December 27, 2023
चितवनमा बढ्दैछ तोरीखेती फाइल तस्बिर

चितवन- चितवनका किसान पछिल्लो समय नगदेबाली तोरी खेतीतर्फ आकर्षित हुन थालेका छन्। जिल्लामा राष्ट्रिय निकुञ्ज र मध्यवर्ती सामुदायिक वनबाट निस्किएका वन्यजन्तुले अन्य अन्नबालीमा भन्दा कम क्षति गर्ने भएपछि यहाँका किसान तोरीखेती गर्नतर्फ केन्द्रित भएका हुन्।

माडी नगरपालिका-३ का ओमप्रकाश महतो विगत ५ वर्षदेखि तोरीखेती गर्दै आएका छन्। उनले यसभन्दा पहिला धान भित्र्याएपछि गहुँ र आलुखेती गर्दै आएका थिए। महतोले अहिले आफ्नो १० कट्ठा र भाडामा लिएको १० कट्ठा जग्गामा तोरीखेती गर्दै आएका हुन्। ‘जंगली जनावरले तोरीबालीलाई कम क्षति गर्ने भएकाले यसमा जोड दिएका हौँ,’ उनले भने।

यस क्षेत्रमा हात्ती, गैँडा, चित्तललगायतले अन्नबाली क्षति गर्ने गर्दछन्। अहिले माडीमा तोरी टन्न फलेको छ। महतोले भने, ‘हाम्रो गाउँमा ६० हेक्टरभन्दा बढी जमिनमा तोरी खेती गरिएको छ। तोरी छिटो पाक्ने तथा उचित मूल्य पनि पाइने भएकाले सबैले तोरीबाली लगाउने गरेका छन्।’

यस्तै खैरहनी नगरपालिका–१२ का नवीनकुमार श्रेष्ठ विगत दुई वर्षदेखि तोरीखेती गर्दै आएका छन्। उनले १६ कट्ठा जग्गामा तोरीखेती गर्दै आएका छन्। पानी कम लाग्ने र जनावरले समेत असर कम गर्ने भएपछि तोरीखेती गर्न थालेको उनको भनाइ छ।

तोरी थन्काएपछि सोही बारीमा खर्बुजा खेती गर्ने योजनामा रहेको उनले सुनाए। तोरीले मूल्य पनि राम्रो पाउने भएकाले यो खेती गरिएको भए पनि अहिले बजार सुस्त हुँदा मूल्य घट्छ कि भन्ने चिन्ता लाग्ने गरेको श्रेष्ठको भनाइ छ।

कृषि ज्ञान केन्द्र चितवनका अनुसार जिल्लामा यस वर्ष २१ हजार आठ सय ५० हेक्टर क्षेत्रफलमा तोरी खेती गरिएको छ। यो क्षेत्रफल गत वर्षको तुलनामा बढी हो।

गत वर्ष १४ हजार सात सय ६५ हेक्टर क्षेत्रफलमा तोरी खेती गरिएको केन्द्रका योजना अधिकृत उमराज अर्यालले बताए। उनका अनुसार यो क्षेत्रफल गत वर्षको तुलनामा सात हजार ८५ हेक्टरले बढी हो। गत वर्ष जिल्लामा १९ हजार एक सय ९४ मेट्रिक टन तोरी उत्पादन भएको थियो। यो वर्ष तोरी उत्पादनमा समेत वृद्धि हुने उनको भनाइ छ।

बर्खे धान र मकै लगाएका अधिकांश ठाउँमा तोरी खेती गरिएको छ। तोरी बाली छिटो पाक्ने, चैते धान लगाउन सहज हुने नगदे बाली भएकाले किसानको ध्यान यस बालीतर्फ गएको योजना अधिकृत अर्यालले बताए। -रासस

प्रकाशित: ११ पुष २०८० २०:३४ | Wednesday, December 27, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast