फाइल तस्बिर
                                            काठमाडौँ– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री एवं नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले पार्टीको ‘मिसन’ सुशासन हुनुपर्नेमा जोड दिएका छन्। आइतबार सानेपामा पार्टीको मुखपत्र ‘नेपाल पुकार’को विमोचन कार्यक्रममा उनले निर्वाचनलाई मिसन बनाउँदा देश बिग्रिएको टिप्पणी गरे।
‘मिसन ०८४ कता–कता सुन्छु, चुनाव जिताइदिऔँ भन्ने मिसनले देश बिग्रेको छ। कांग्रेसको मिसन सुशासन हुनुपर्छ,’ उनले भने। उनले रोइलो गरेर नहुने भन्दै पार्टी सुध्रिन आवश्यक रहेको बताए। पार्टीका नेता एकार्काप्रति गालीगलौजमा उत्रने गरेको उनले उल्लेख गरे।
‘एउटा पार्टीको नेताले अर्को पार्टीको नेतालाई गाली गर्नबाहेक केही सिकेनौँ। तर, राजनीतिक दलको साझा शत्रु गरिबी, रोग, भोक, भ्रष्टाचार हो भन्न सकेनौँ,’ उनले भने, ‘भ्रष्टाचारको फाइल खोल्दै गयो, अर्को आउँछ। फोहोरको डंगुर रहेछ, खोल्दै जाँदा हात गलिसक्यो।’
उनले आफूलाई पदको चिन्ता नरहेको बताए। सभापति शेरबहादुर देउवाप्रति उनले कटाक्ष पनि गरे। ‘मलाई चिन्ता छैन, पद आउँछ जान्छ। हाम्रो सभापति पाँचपटक प्रधानमन्त्री हुनुभयो, फेरि हुने नहुने होला,’ कार्यक्रममा गुरुङले भने।

                                             
                                             
                                             
                                             
                                             
                                             

