आज काठमाडौँ महानगरपालिका स्थापना दिवस, टुँडिखेलमा विशेष समारोह आयोजना

हिमाल प्रेस २९ मंसिर २०८० ७:०० | Friday, December 15, 2023
आज काठमाडौँ महानगरपालिका स्थापना दिवस, टुँडिखेलमा विशेष समारोह आयोजना

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले आज २९औँ महानगर दिवस मनाउँदै छ। २९ वर्षअघि २०५२ साल मंसिर २९ गते काठमाडौँ नगरपालिकाबाट महानगरपालिका घोषणा भएको थियो।

यस अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रमुख आतिथ्यमा सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गर्न लागिएको छ। बिहान ९ बजेदेखि १२ बजेसम्म हुने समारोहमा उपस्थित हुनका लागि महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले महानगरवासीलाई आग्रह गरेका छन्।

मुलुकमा रहेका ६ वटा महानगरमध्ये काठमाडौँ महानगरपालिका सबैभन्दा पुरानो र जनसंख्याका आधारमा सबैभन्दा ठूलो महानगर हो। काठमाडौँ सहरलाई व्यवस्थित बनाउने उद्देश्यले राणा प्रधानमन्त्री चन्द्रशमशेरले १९७६ सालमा सफाइ अड्डाका रूपमा यसको स्थापना गरेका थिए।

२००३ सालमा तत्कालीन प्रधानमन्त्री पद्मशमशेरले शासन सुधारको घोषणा गर्दा सफाइ अड्डालाई म्युनिसिपालिटी नामकरण गरेको इतिहासमा उल्लेख छ। त्यसपछि २०१० मा तत्कालीन प्रधानमन्त्री मातृकाप्रसाद कोइरालाको पालामा काठमाडौँ म्युनिसिपालिटीको नाम परिवर्तन गरी काठमाडौँ नगरपालिका बनाइएको थियो। त्यही बेलादेखि काठमाडौँले नगरको स्वरूप पाएको हो।

२०१९ सालमा काठमाडौँ म्युनिसिपालिटीको नाम काठमाडौँ नगर पञ्चायत राखिएको थियो भने २०४७ मा फेरि काठमाडौँ नगरपालिका नामकरण गरियो। २०५२ मंसिर २९ गते देशकै पहिलो महानगरपालिकाका रूपमा काठमाडौँ महानगर विधिवत् रूपमा स्थापित भएको थियो।

प्रकाशित: २९ मंसिर २०८० ७:०० | Friday, December 15, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast