सरकारले खरिद नगर्दा किसानले पाएनन् धानको समर्थन मूल्य

हिमाल प्रेस २३ कार्तिक २०८० १७:५८
4
SHARES
सरकारले खरिद नगर्दा किसानले पाएनन् धानको समर्थन मूल्य

देउखुरी (दाङ)- दाङमा किसानले धानको समर्थन मूल्य पाउन सकेका छैनन्। जिल्लामा किसान तथा व्यापारीबीच आपसी सहमतिमा मूल्य निर्धारण गरी धान खरिदबिक्री भइरहेको छ।

सरकारले यस वर्ष मोटा धानको मूल्य प्रतिक्विन्टल तीन हजार एक सय ९८ रुपैयाँ र मध्यम धानको तीन हजार तीन सय ६२ रुपैयाँ तोकेको छ। तर किसान भने तोकिएको मूल्यभन्दा कममै बिक्री गर्न बाध्य छन्।

घोराही उपमहानगरपालिका-६ का मनोज चौधरीले गतवर्ष मोटा धान प्रतिक्विन्टल दुई हजार चार सय रुपैयाँमा बिक्री गरेको र यसपाली व्यापारीसँगको सहमतिमा दुई हजार सात सय रुपैयँमा धान बिक्री गरेको बताए। उनले एक बिघा जमिनमा धानखेती गरेका छन्।

घरमा भण्डारण गर्ने ठाउँ नहुँदा व्यापारीले तोकेको मूल्यमा धान बिक्री गर्न बाध्य भएको उनको भनाइ छ। ‘महँगोमा बीउ, मल र श्रमिक लगाएर धानखेती गर्नुपर्छ। तर धानको समर्थन मूल्य नपाउँदा लागानी खेर गएको जस्तो लाग्छ,’ उनले भने।

व्यापारीको मनोमानीका कारण आफूलाई समस्या परेको किसानको गुनासो छ। सरकारले तोकेको मूल्य यहाँ हालसम्म मूल्य लागू हुनसकेको उनीहरूको गुनासो छ। लमही नगरपालिका–३ का बेजलाल चौधरीले पनि व्यापारीको सहमतिमा प्रतिक्विन्टल दुई हजार ९ सय रुपैयाँमा स्थानीय व्यापारीलाई धान बिक्री गरेको बताए।

समयमै पानी परेकाले यसवर्ष धान उत्पादन राम्रो भए पनि समर्थन मूल्य पाउन नसक्दा आम्दानी कम भएको उनको भनाइ छ। लमही नगरपालिका–५ स्थित कक्षपति राइस मिलले यसवर्ष मोटा धान प्रतिक्विन्टल दुई हजार ९ सय रुपैयाँ र मसिनो धान प्रतिक्विन्टल तीन हजार दुई सय रुपैयाँमा खरिद गरेको मिलका व्यवस्थापक मदन अधिकारीले बताए।

गतवर्षभन्दा यो वर्ष धानको मूल्य राम्रो रहेको उनको भनाइ छ। मिलले धान खरिद गरेर चामल बनाइ बिक्री गर्ने भएकाले सरकारले निर्धारण गरेको मूल्यमा किसानको धान खरिद गर्न नसकेको उनको भनाइ छ।

सरकारी कम्पनी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले विगतका वर्षदेखि नै धान खरिद गरिरहेको छैन। भौतिक पूर्वाधारको अभाव र जनशक्ति अभावका कारण धान खरिद गर्न नसकेको तुलसीपुर शाखाका प्रमुख तिलक सुनारले बताए।

कम्पनीसँग हाल ५ हजार क्विन्टल धान राख्न मिल्ने दुई वटा गोदाम छन्। कृषि ज्ञान केन्द्र दाङको तथ्यांकअनुसार यस वर्ष ३८ हजार चार सय ९७ हेक्टर क्षेत्रफलमा धानखेती गरिएको थियो। रासस

प्रकाशित: २३ कार्तिक २०८० १७:५८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast