बट्लरको इच्छा : कप्तानीमा निरन्तरता

हिमाल प्रेस २३ कार्तिक २०८० ६:३८
8
SHARES
बट्लरको इच्छा : कप्तानीमा निरन्तरता

काठमाडौँ- विश्वकपमा इंग्ल्यान्डले अब एक खेल्न बाँकी छ। बुधबार नेदरल्यान्ड्सलाई हराएको इंग्ल्यान्डले अन्तिम खेलमा पाकिस्तानको सामना गर्नेछ।

विश्वकपमा गरेको प्रदर्शनको आधारमा के अनुमान भइरहेको छ भने, अब इंग्ल्यान्डमा कप्तान परिवर्तन हुनेछन्। तर हालका कप्तान जोस बट्लरले आफू कप्तान रहिररहन चाहेको बताएका छन्।

इंग्ल्यान्ड उपाधि रक्षा गर्ने लक्ष्यका साथ भारत पुगेको थियो। तर इंग्लिस टिमले भारतीय भूमिमा असाध्यै खराब प्रदर्शन गर्‍यो। आठ खेलमा जम्मा दुई जित हात पारेको इंग्ल्यान्ड हाल सातौँ स्थानमा छ।

सेमिफाइनलमा पुग्ने सम्भावना सकिइसकेकाले अब इंग्ल्यान्डको आशा च्याम्पियन्स ट्रफी मात्र हो। यसका लागि शीर्ष आठमा स्थान बनाउन आवश्यक छ। र, नेदरल्यान्ड्समाथि १६० रनको जित हात पारेपछि इंग्ल्यान्ड शीर्ष आठमा पर्ने सम्भावना जीवित बनेको छ।

पुनेमा नेदरल्यान्ड्सलाई हराएर इंग्ल्यान्डले पाँच खेलको पराजय शृंखलामा पूर्णविराम लगाएको हो। इंग्ल्यान्डको जितमा बेन स्टोक्सले शतक र क्रिस वोक्सले अर्धशतक बनाए। तर कप्तान बट्लर भने पाँच रनमा आउट भए। यो खेलमा मात्र होइन विश्वकपभर नै बट्लरले चित्तबुझ्दो खेल देखाउन सकेका छैनन्। उनले आठ इनिङ्समा बनाएको रन, १११ हो।

घर फर्कनुअघिको खेल खेल्न इंग्ल्यान्ड कोलकाता पुग्नेछ। यो खेलअघि कप्तान बट्लरले इंग्ल्यान्ड क्रिकेटका निर्देशक रब कीसँग भेटघाट गर्नेछन्। यो भेटले बट्लरको कप्तानी भविष्य तय गर्नसक्छ।

रबलाई भेट्नुअघि बट्लरले भने आफ्नो इच्छा सार्वजनिक रुपमै जाहेर गरेको छन्। ३३ वर्षीय बट्लरको इच्छा हो, कप्तानीमा निरन्तरता। ‘हो म कप्तानी छाड्न चाहन्न। कलाई थाहा छ, रब की भारत आइपुगेका छन्। हामीबीच छलफल हुनेछ। छलफलमा प्रशिक्षक पनि हुनेछन्। आशा छ यो छलफलमा आगामी शृंखलालाई लिएर योजना बन्नेछ,’ बट्लरले भनेका छन्। इंग्ल्यान्ड अर्को महिना वेस्ट इन्डिजको भ्रमणमा निस्किँदैछ।

बट्लरले नेदरल्यान्ड्समाथिको जितले आफूहरुलाई राहत दिएको पनि बताए। ‘यो विश्वकपमा हामीले सोचेजति खेल जित्न सकेनौँ। चाहेजस्तो खेल्न पनि सकिएको छैन। यसो भएपछि हामी पक्कै निराश थियौँ। यस्तोमा यो जितले हामीलाई राहत दिएको छ,’ बट्लरले भने।

बुधबार इंग्ल्यान्डले टस जित्दै ब्याटिङ गर्ने निर्णय गरेको थियो। टेस्ट कप्तान स्टोक्सले ८४ बलमा १०८ रन बनाएपछि इंग्ल्यान्डले नेदरल्यान्ड्सलाई विशाल लक्ष्य दिनसक्यो। जवाफी ब्याटिङमा उत्रिएको नेदरल्यान्ड्स ३७।२ ओभरमा १७९ रनमा समेटिएको थियो।

दुर्भाग्यवश टेस्ट कप्तान स्टोक्स वेस्ट इन्डिजको भ्रमणमा निस्किने इंग्लिस टिममा हुने छैनन्। यसको कारण हो, विश्वकप सकिएपछि हुन लागेको उनको घुँडाको शल्यक्रिया हुनेछ। उसो त स्टोक्सले विश्वकप नसकिँदै शल्यक्रिया गर्नुपर्ने कुरा पनि उठेको थियो। ‘इंग्ल्यान्ड सेमिफाइनलमा पुग्न नसक्ने भएपछि स्टोक्स भारतमा रहिरहनुपर्ने कुनै कारण छैन, बरु शल्यक्रिया गराइहाले हुन्छ,’ धेरैले यसो भने।

स्टोक्स भने आफू विश्वकप जारी रहँदा घर फर्कन तयार नभएको बताउँछन्। कप्तान बट्लरले पनि स्टोक्ससँग चाँडै इंग्ल्यान्ड जाने विषयमा कुरा नभएको प्रट पारे।

‘हामीले यो विषयमा कुरै गरेको छैन। आवश्यक पनि छैन। किनभने बेन त्यस्ता खेलाडी होइनन्, जो टिमलाई बीचमा छाड्न खोज्छन्,’ बट्लरले भने, ‘उनी हरेक इनिङ्समा सशक्त ब्याटिङ गर्न चाहन्छन्। जब जब टिम अप्ठ्यारोमा पर्छ तब तब उनी त्यसलाई पार लगाउन उभिन्छन्। उनी यो टिममा हुनु हामी सबैका लागि भाग्यको कुरा हो।’

बट्लरले पाकिस्तानसँगको खेलको महत्त्व असीम रहेको पनि बताएका छन्। ‘यो खेल हाम्रा लागि महत्त्वपूर्ण छ। मैले भनिहालेँ यो विश्वकपमा हामीले स्तर अनुसारको खेल देखाएका छैनौँ। अब यो अन्तिम खेल हो। यसमा हामी प्रभावशाली प्रदर्शन गर्दै घर फर्कंन चाहन्छौँ,’ बट्लरले भने।

इंग्ल्यान्डको आगामी विपक्षी पाकिस्तान हाल पाँचौँ स्थानमा छ। आठ खेलबाट आठ अंक नै जम्मा गरेको पाकिस्तानको सेमिफाइनल सम्भावना सकिइहालेको छैन।

प्रकाशित: २३ कार्तिक २०८० ६:३८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + 12 =