प्रदेशमा उम्मेदवार बनेका एमालेका ६ जनाले केन्द्रीय सदस्य पद गुमाए

हिमाल प्रेस २२ कार्तिक २०८० १७:१०
42
SHARES
प्रदेशमा उम्मेदवार बनेका एमालेका ६ जनाले केन्द्रीय सदस्य पद गुमाए

काठमाडौँ- प्रतिपक्षी नेकपा (एमाले)मा ६ केन्द्रीय सदस्य पद रिक्त भएको छ। बुधबार बसेको सचिवालय बैठकपछि उपमहासचिव प्रदीप ज्ञवालीले प्रदेश निर्वाचनमा उमेदवार बनेका र निर्वाचित भएका केन्द्रीय सदस्यहरुको पद रिक्त भएको जानकारी दिए। एमालेमा एउटा कमिटीमा रहेकाले अर्को कमिटीमा निर्वाचन लडे पद जाने व्यवस्था रहेको छ।

प्रदेश अधिवेशनमा पराजित चार र निर्वाचित दुईजना केन्द्रीय सदस्यहरुले पद गुमाएका हुन्। प्रदेश अधिवेशनमा बागमतीका उमेदवार हरि रिजाल, गण्डकीका उमेदवार मायानाथ अधिकारी, बागमतीका उमेदवार कृष्णप्रसाद दाहाल र कोसीका उमेदवार विनोद ढकालले पद गुमाएका छन्। उनीहरु प्रदेश निर्वाचनमा पराजित भएका थिए।

पोलिट्ब्युरो सदस्य गुलाबजंग शाह कर्र्णाली प्रदेशको अध्यक्षमा निर्वाचित भएका छन्। बागमती प्रदेश अध्यक्षमा कैलाश ढुङ्गेल निर्वाचित भएका छन्। शाह र ढुङ्गेल केन्द्रीय सदस्य रहँदैनन्, उनीहरु अब पदेन पोलिट्ब्युरो सदस्य हुन्।

त्यस्तै एमालेले मंसिर १४ देखि तीन हप्ता लामो मध्यपहाडी लोकमार्ग अभियान चलाउने भएको छ। पहाड समृद्ध नभई मुलुक समृद्ध नहुने भएकाले अभियान चलाउन थालिएको उनको भनाइ छ। ‘निराशाको खेती मौलाइरहेको छ। भइरहेका कामको उजागर गरेर राम्रो सन्देश दिने उद्देश्य छ’ उनले भने।

ज्ञवालीका अनुसार मंसिर १४ गते बिहान ८ः३० बजे झुलाघाटबाट पार्टी अध्यक्ष केपी शर्मा ओलीले अभियानको उद्घाटन गर्ने छन्।

प्रकाशित: २२ कार्तिक २०८० १७:१०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 4 =