चिनी आपूर्ति सहज बनाउन चितवनमा अनुगमन

हिमाल प्रेस २२ कार्तिक २०८० १४:५३
8
SHARES
चिनी आपूर्ति सहज बनाउन चितवनमा अनुगमन

चितवन- तिहार नजिकिँदै जाँदा चितवनमा चिनीको अभाव हुन नदिन जिल्ला प्रशासन कार्यालयले गोदामहरूमा अनुगमन गरेको छ। गृहमन्त्रालयको परिपत्रअनुसार कार्यालयले बजारमा रहेका ठूला व्यवसायीको गोदाममा अनुगमन गरेको हो।

कार्यालयका निमित्त प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माका अनुसार कार्यालयले चितवनका बजार क्षेत्र नारायणगढमा रहेका १४ गोदामको अनुगमन गरेको छ।

अनुगमनका क्रममा बजारमा चिनीको अभाव नरहेको पाइएको उनले बताए। ‘अन्य जिल्लामा जस्तो यहाँ चिनीको अभाव छैन,’ उनले भने, ‘बजारमा खाद्य वस्तुमा लेबल र उत्पादन मितिसँगै बिक्री मूल्यसमेत टाँसी सामान बिक्रीका लागि राखिएको छ।’

सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहेको संयुक्त बजार अनुगमन समितिले बजारमा रहेका ठूला गोदामको अनुगमन गरेको थियो। जिल्लामा आवश्यक पर्ने चिनी रहेको भेटिएकाले अहिले खासै समस्या नहुने किराना व्यवसायी संघ चितवनका अध्यक्ष हरिराज पौडेलले जानकारी दिए। ‘पहिलाकोजस्तो खपत नहुने अनुमान गरेका छौँ। अहिलेसम्म त्यस्तो समस्या आएको छैन,’ उनले भने।

पसलेले संघले तोकेको मूल्यमा बिक्री गरिरहेका पौडेलले जानकारी दिए। दसैँको समयमा जिल्लामा चिनीको केही अभाव भए पनि दसैँपछि बिस्तारै सहज हुँदै गएको उनले बताए। तिहारमा बढी मात्रामा मिठाई बनाइने हुँदा चिनीको खपत बढी हुने गर्दछ। रासस

प्रकाशित: २२ कार्तिक २०८० १४:५३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + 14 =