कसले रच्यो कोहलीको कथा?

हिमाल प्रेस २० कार्तिक २०८० ६:३५
38
SHARES
कसले रच्यो कोहलीको कथा?

काठमाडौँ- विराट कोहलीले सचिन तेन्दुलकर भारतीय क्रिकेटका नायक भएको र उनको कीर्तिमान बराबरी गर्न पाउँदा आफू सम्मानित महसुस भएको बताएका छन्।

विश्वकपमा आइतबार दक्षिण अफ्रिकाविरुद्ध शतक बनाएसँगै कोहलीले तेन्दुलकरले एक दिवशीयमा राखेको सर्वाधिक शतक (४९) को कीर्तिमान बराबरी गरेका हुन्।

कोलकातामा भारतलाई दक्षिण अफ्रिकामाथि २४३ रनको जित दिलाउन कोहलीले १०१ रन बनाए। उनको शतकको मद्दतले भारतले पाँच विकेटको क्षतिमा ३२६ रनको योगफल तयार पारेको थियो। कोहलीका लागि यो जित र शतक झनै विशेष किन पनि बन्यो भने उनी आफ्नो ३५ औँ जन्मदिनमा खेलिरहेका थिए।

आफ्नै भूमिमा जारी विश्वकपमा भारतले लगातार आठौँ जित हात पारेको हो। यो सफलता प्राप्त गर्न भारतले दक्षिण अफ्रिकालाई २७।१ ओभरमा ८३ रनमा अलआउट ग¥यो। भारतको जितमा कोहलीबाहेक महत्त्वपूर्ण साबित हुने खेलाडी थिए, रविन्द्र जडेजा। उनले ३३ रन खर्चिएर पाँच विकेट लिए।

१० टिम सम्मिलित विश्वकपको सेमिफाइनलमा स्थान भारतले यसअघि नै सुरक्षित गरिसकेको छ। भारतसँग अब १६ अंक छ। भारतले प्रारम्भिक चरणको आफ्नो अन्तिम खेलमा नेदरल्यान्ड्सको सामना गर्नेछ। पराजित दक्षिण अफ्रिका भने १२ अंकसहित दोस्रो स्थानमा छ। अन्तिम खेलमा दक्षिण अफ्रिका अफगानिस्तानसँग भिड्नेछ।

टस जितेर ब्याटिङ गरेको भारतले पहिलो विकेट गुमाउँदा ६२ रन बनाएको थियो। कप्तान रोहित शर्मा आउट भएपछि ब्याटिङ थालेका कोहलीले १२१ बल सामना गर्दा १० चौका प्रहार गरेका थिए। उनी अविजित रहे।

भारतीय इनिङ्स सकिनसाथ तेन्दुलकरले सामाजिक सञ्जाल एक्समा कोहलीलाई बधाई दिएका थिए। ‘राम्रो खेल्यौँ विराट। आशा छ केही दिनमा तिमीले ५० औँ शतक बनाउनेछौँ र मेरो कीर्तिमान भंग गर्नेछौँ,’ तेन्दुलकरले लेखेका छन्।

कोहलीले २७७ इनिङ्स खेल्दा ४९ शतक बनाएका हुन्। उनीसामु विश्वकपको समूह चरणमै ५० औँ शतक बनाउने अवसर छ।

‘तेन्दुलकरले दिनु भएको सन्देश मेरा लागि विशेष छ। मेरा लागि तेन्दुलकर हिरो हो, उहाँको कीर्तिमान बराबरी गर्न पाउँदा सम्मानित महसुस भएको छ। उहाँले खेलेको टेलिभिजनमा हेरेको। मलाई विश्वास थियो, यो दिन आउनेछ भनेर,’ खेलपछि कोहलीले प्रतिक्रिया दिए।

दक्षिण अफ्रिकालाई भारतको सजिलो विपक्षी मानिएको थिएन। किनभने दक्षिण अफ्रिकाले यसपालिको विश्वकपमा जम्मा एक खेल मात्र हारेको थियो। अन्तिम चारमा स्थान बनाइसकेको दक्षिण अफ्रिका नेदरल्यान्ड्ससँग स्तब्ध भएको थियो।

‘हाम्रा लागि यो साँच्चै ठूलो खेल थियो। हामी सम्भवतः विश्वकपको सर्वाधिक कठिन टिमसँग खेल्दै थियौँ। यसकारण राम्रो खेल्नुपर्छ भन्ने मानसिकताका साथ मैदान ओर्लिएका थियौँ,’ कोहलीले भने, ‘संयोगवश मैले पनि राम्रो खेल्नसके। फेरि आजै मेरो जन्मदिन थियो। समर्थकले मेरो जन्मदिनलाई विशेष बनाइदिनु भयो।’

कोहलीको सफलताले भारतीय क्रिकेट जगत्लाई खुसी बनाएको छ। कयौँ पूर्वखेलाडीले कोहलीलाई सन्देश पठाएका छन्। पूर्वओपनर सुनिल गावस्करले विशेष परिस्थितिमा कोहलीले सधैँ राम्रो खेल्ने बताए। उनले कोहलीलाई इंग्ल्यान्डका पूर्वअलराउन्डर इयान बोथमसँग तुलना गरेका छन्। ‘रिक्रिएसनल ड्रग’ प्रयोगका कारण प्रतिबन्धमा परेको बोथमले पुनरागमन खेलमा सर्वाधिक टेस्ट विकेटको कीर्तिमान राखेका थिए।

‘त्यसबेला इंग्ल्यान्डकै ग्राहम गुचले बोथमलाई सोधेका थिए, तिम्रो कथा कसले लेख्छरु यही प्रश्न कोहलीलाई पनि सोध्नु पर्ने बेला आएको छ। जन्मदिनमा ४९ औँ शतक प्रहार गर्नु कथा जस्तै हो। यस्तो कथा कोहलीका लागि कसले लेखेको हो? किनभने यो कथा सुन्दर छ,’ गावस्करले भनेका छन्।

दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिसले कोहलीले आफ्नो करियरमा हरेक किसिमका स्पिन बलमा खेल्ने खुबी विकास गरेको प्रतिक्रिया दिएका छन्। ‘विराटको ब्याटिङको एउटा अब्बल पक्ष के हो भने, उनी डट बल कम खेल्छन्। हरेक बलमा रन बनाउने प्रयास गर्छन्। सायद स्तरीय ब्याट्सम्यान र अरुबीचको फरक यही हो, प्रत्येक बलमा कम्तीमा एक रन भए पनि बटुल्ने, डटमै नछाड्ने,’ डु प्लेसिसले भनेका छन्।

उसो त कोहलीको सफलतातिर ध्यान नदिने खेलाडी पनि छन्। नयाँ दिल्लीमा बंगलादेशसँगको खेलको पूर्वसन्ध्यामा श्रीलंकाका कप्तान कुशल मेन्डिसलाई कोहलीको कीर्तिमानी शतकबारे सोधिएको थियो। जसमा उनले उल्टै प्रतिप्रश्न गरे, ‘म किन उनलाई बधाई दिऊ?’

प्रकाशित: २० कार्तिक २०८० ६:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 − 3 =