कोशी प्रदेश सरकार : थप दुई मन्त्रीले लिए शपथ

हिमाल प्रेस १७ कार्तिक २०८० १९:४३
20
SHARES
कोशी प्रदेश सरकार : थप दुई मन्त्रीले लिए शपथ

काठमाडौँ- कोशी प्रदेश सरकारमा थप दुई मन्त्रीले पद तथा गोपनीयताको शपथ खाएका छन्। एमालेको असहमतिका बाबजुद कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले मन्त्रीमण्डल विस्तार गरेका हुन्।

नयाँ मन्त्रीहरूमा माओवादी केन्द्रबाट मोरङ क्षेत्र नम्बर २ (१) बाट निर्वाचित सांसद तथा पार्टीका कोशी प्रदेश सचिव गणेश उप्रेती (सुशील) र नेकपा (एकीकृत समाजवादी)बाट पाँचथरका कमलप्रसाद जवेगु मन्त्री बनेका हुन्।

उनीहरूलाई प्रदेश प्रमुख पर्शुराम खापुङले शुक्रबार साँझ पद तथा गोपनियताको शपथ खुवाएका छन्। जबेगु कांग्रेसका उद्धव थापाको नेतृत्वको सरकारमा पनि सहभागी भएका थिए।

गत असोज २७ गते मुख्यमन्त्री नियुक्त भएका कार्कीले मन्त्रिपरिषद्‌मा एमालेबाट रामबहादुर राना मगर र कांग्रेसका शम्शेर राईलाई यसअघि नै मन्त्री नियुक्त गरिसकेका छन्। चारै मन्त्रीहरूको कार्यविभाजन भने अझै भएको छैन। आइतबारसम्ममा जिम्मेवारी तोकिने गठबन्धन दलका नेताहरूले बताएका छन्।

आजको मन्त्रिपरिषद्‌ विस्तारमा एमालेले असन्तुष्टि जनाउँदै सरकारबाट बाहिरिने बताएको छ। कार्की एमालेका ३० र कांग्रेसका विद्रोही ८ सांसदको समर्थनमा मुख्यमन्त्री बनेका हुन्। उनलाई विश्वासको मत भने अन्य दलले पनि दिएका थिए।

प्रकाशित: १७ कार्तिक २०८० १९:४३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 5 =