कोशीमा माओवादी र नेकपा एसलाई समेटेर सरकार विस्तार, एमाले बाहिरिने

हिमाल प्रेस १७ कार्तिक २०८० १९:०१
50
SHARES
कोशीमा माओवादी र नेकपा एसलाई समेटेर सरकार विस्तार, एमाले बाहिरिने कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की।

काठमाडौँ- कोशी प्रदेश सरकारमा मन्त्रिपरिषद् विस्तार भएको छ। शुक्रबार बसेको गठबन्धनको निर्णयअनुसार मुख्यमन्त्री केदार कार्कीले नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीलाई समेटेर सरकार विस्तार गरेका हुन्। माओवादीबाट गणेश उप्रेती र नेकपा एकीकृत समाजवादीबाट कमलप्रसाद जबेगु मन्त्री नियुक्त बनेका छन्।

मुख्यमन्त्री बनाउन भूमिका खेलेको नेकपा एमालेको विरोधका बाबजुद कार्कीले माओवादी केन्द्र र एकीकृत समाजवादीका सांसदहरु उप्रेती र जगेबुलाई मन्त्री बनाउने निर्णय गरेका हुन्।

मुख्यमन्त्री कार्कीले भने, ‘माओवादी र एकीकृत समाजवादीका सांसदलाई मन्त्रीमा नियुक्त गरेको छु। आजै शपथ हुन्छ।’

एमाले सरकारबाट बाहिरिने

केन्द्रको सत्ता गठबन्धनबाट विद्रोह गरेका कार्कीलाई मुख्यमन्त्रीमा समर्थन गरेको नेकपा एमाले भने सरकारबाट बाहिरिने भएको छ। कार्की कांग्रेसका ८ र एमालेका ३० सांसदको समर्थनमा मुख्यमन्त्री बनेका थिए। उनलाई विश्वासको मत दिँदा अन्य दलले पनि समर्थन गरेका थिए। एमालेले कांग्रेस र एमालेलाई मात्र समेटेर सरकार विस्तार गर्नुपर्ने अडान लिएको थियो। तर, मुख्यमन्त्री कार्कीले एमालेबाहेकका दलका सांसदलाई समेटेर मन्त्रिपरिषद्‌ विस्तार गरेपछि एमाले चिडिएको हो।

एमालेले यसअघि नै प्रदेशसभामा रहेका अन्य दललाई सरकारमा सहभागी गराए सरकारबाट बाहिरिने चेतावनी दिएको थियो।

एमाले संसदीय दलका नेता हिक्मत कार्कीले केन्द्रको गठबन्धनमा आफूहरू सहभागी नहुने बताए। उनले भने,’हाम्रो दल पनि त सरकारमा सामेल छ अहिले त। तर, हामीलाई जानकारी नै नदिई सरकार विस्तार भएको छ। यो दुर्गन्धित गठबन्धनमा हामी रहन सक्दैनौँ।’ कार्की नेतृत्वको सरकारमा एमालेका रामबहादुर राना मन्त्री छन्।

एमाले ३० र कांग्रेसमा ८ सांसदहरुको समर्थनमा केदार कार्की असोज २९ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए। मुख्यमन्त्री कार्कीले यसअघि कांग्रेसका शम्शेर राईलाई पनि मन्त्री बनाइसकेका छन्। एमाले सरकारबाट बाहिरिने भएसँगै कोशी सरकार फेरि एकपटक संकटमा परेको छ।

प्रकाशित: १७ कार्तिक २०८० १९:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × five =