विश्व शान्तिका लागि लुम्बिनीमा मोन्लम पूजा

हिमाल प्रेस १६ कार्तिक २०८० १८:४६
34
SHARES
विश्व शान्तिका लागि लुम्बिनीमा मोन्लम पूजा

लुम्बिनी- बुद्धजन्मस्थल लुम्बिनीमा विश्व शान्तिका लागि प्राणिधान (मोन्लम पूजा) सुरु गरिएको छ। बिहीबारदेखि पूजा सुरु गरिएको हो।

महायान परम्पराअनुसार नेपाल बौद्ध लोट्स श्रमणेरिका (आनी) संघले तीन दिने मोन्लम पूजा सुरु गरेको हो। संसारभर बुद्ध नेपालमा जन्मिएको सन्देश दिन र विश्व शान्तिका लागि वार्षिक रूपमा यस्तो पूजा गर्ने गरिएको हो।

लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे) को उपस्थितिमा खेन्छेम पेमा शेर्पा (रिपोन्छे)ले मोन्लम पूजा गराएका हुन्। उपाध्यक्ष लामाले लुम्बिनीमा आनीहरूको मोन्लम पूजाबाट यो वर्ष पूजाको सुरुवात भएको बताउँदै आगामी दिनमा यस्ता पूजा बढाउँदै लैजाने बताए।

उनले आफू कोषको उपाध्यक्ष हुँदा नै लुम्बिनीमा लामा, गुरुहरूको उपस्थितिमा विभिन्न खालका पूजा गराउने प्रतिबद्धता जनाएको बताए। उनले अब बेलाबेलामा ठूला–ठूला मोन्लुम पूजाहरू हुने पनि बताए।

भगवान बुद्धका उपदेशका पाठहरू गर्दै बोद्धिसत्व गरेकाहरूको स्मरणमा गरिएको पूजाको महायान परम्परामा निकै ठूलो महत्त्व रहेको लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले बताए।

उनले लुम्बिनी विकास कोषले मोन्लमजस्ता पूजालाई नीतिगत रूमा प्रोत्साहन गर्ने नीति लिइएको पनि बताए। यो वर्षका लागि पूजा सुरु गरिएको बताउँदै उनले नोभेम्बर र डिसेम्बरमा पनि पूजा गरिने बताए।

लुम्बिनीमा धार्मिक पर्यटक आर्कषित गर्न र यसले बुद्धका उपदेश तथा सन्देश थप फैलने मद्दत पुग्ने उनको भनाइ थियो। नेपाल बौद्ध लोट्स श्रमणेरिका (आनी) संघले प्रत्येक वर्ष लुम्बिनी स्थित मायादेवी मन्दिरमा मोन्लम पूजा गर्दै आएको छ।

बुद्धजन्मस्थल नेपाल र लुम्बिनी हो भन्ने सन्देश दिन र विश्वभर नै शान्तिको कामना गर्दै विगत ६ वर्षदेखि मोन्लम पूजा गर्दै आएको संघका संस्थापक अध्यक्ष खेमो डोल्पा छिरिङ लामाले बताइन्। पूजा शनिबारसम्म चल्नेछ।

प्रकाशित: १६ कार्तिक २०८० १८:४६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + eight =