भिजन लुम्बिनीको आईपीओ बिक्री खुला

हिमाल प्रेस १६ कार्तिक २०८० १२:३९
6
SHARES
भिजन लुम्बिनीको आईपीओ बिक्री खुला

काठमाडौँ- कास्कीको माछापुच्छ्रे गाउँपालिकामा निर्माणाधीन सेती नदी जलविद्युत् आयोजनाको प्रवर्द्धक भिजन लुम्बिनी ऊर्जा कम्पनीले सर्वसाधारणका लागि आजदेखि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गरेको छ।

माछापुच्छ्रे-२ सार्दिखोलामा निर्माण भइरहेको आयोजना २५ मेगावाट क्षमताको हो। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीयबासी र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई निष्कासन गरेको आईपीओ बाँडफाँटपछि सर्वसाधारणका लागि आईपीओ जारी गरेको छ।

कम्पनीले सर्वसाधारणका लागि कुल २० लाख ७५ हजार २८५ कित्ता साधारण सेयर निष्कासन गरेको छ। धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ।
सर्वसाधारणका लागि जारी गरिएको आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ।

यसैगरी अधिकतममा ३ लाख ८० हजार कित्ता सेयरका लागि आवेदन दिन सकिने कम्पनीले जनाएको छ। निष्कासन बन्द छिटोमा यही कात्तिक २० गते र ढिलोमा मंसिर १ गतेसम्म हुने कम्पनीले जनाएको छ।

आयोजनाको सिभिल, हाइड्रो मेकानिकल, इलेक्ट्रोमेकानिकल र प्रसारण लाइन निर्माणतर्फका सबै काम अन्तिम चरणमा पुगेको छ। मंसिर महिनाभित्र आयोजना सम्पन्न भएर व्यावसायिक रूपमा विद्युत् उत्पादनको तयारी गरिएको छ।

माछापुच्छ्रेको सार्दिखोला भराभरीस्थित सेती नदीमा बाँध निर्माण गरी ६ हजार ४०० मिटर लामो भूमिगत पाइपमार्फत पानी ल्याएर १८७ मिटर उचाइबाट चिन्तेबगरस्थित पावर हाउसमा खसालेर विद्युत् उत्पादन गर्ने योजना छ।

आयोजनाको लगानी ५ अर्ब २० करोड रहेको छ। यसमा ३ अर्ब ५० करोड विभिन्न बैंक तथा वित्तीय संस्थाले लगानी गरेका छन्। अन्य लगानी प्रवर्द्धक, स्थानीयबासी तथा आईपीओ जारी गरेर पूरा गरिएको कम्पनीले जनाएको छ।

प्रकाशित: १६ कार्तिक २०८० १२:३९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × five =