एनसेलद्वारा एसियाली पारा खेलकुदमा पदक विजेता पलेशा गोवर्धनको सम्मान

हिमाल प्रेस १६ कार्तिक २०८० ११:३२
एनसेलद्वारा एसियाली पारा खेलकुदमा पदक विजेता पलेशा गोवर्धनको सम्मान

काठमाडौँ– हालै सम्पन्न चौथो एसियाली पारा खेलकुद २०२२ मा नेपाललाई पहिलो पदक दिलाउन सफल तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई एनसेल आजियाटा लिमिटेडले सम्मान गरेको छ। पलेशाको सम्मान गर्दै एनसेलले १ लाख रुपैयाँ नगद पुरस्कार प्रदान गर्ने घोषणा गरेको हो।

पलेशाले चीनको हाङझावमा आयोजना भएको एसियाली पारा खेलकुदमा तेक्वान्दो खेलमा महिलातर्फ के–४४, ५७ केजी मुनिको क्याटगोरीमा कास्य पदक जितेकी थिइन्। यस बाहेक एनसेलले राष्ट्रिय पारालिम्पिक समिति (एनपीसी) नेपालसँग नेपाली पारा खेलाडीहरूको समग्र तालिम र विकासका लागि ‘हामी तपाईंकै लागि’ थिमअन्तर्गत सहकार्य र सहयोग प्रदान गर्दै आएको छ।

नेपालका लागि पलेशाको उपलब्धिबाट उत्साहित, एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले भने, ‘पलेशाको यो एतिहासिक उपलब्धिबाट हामी हर्षित छौँ। यो जित नेपालका पारा–एथलीटहरूको उत्कृष्ट प्रदर्शनको नतिजा हो। पलेशा र अन्य सबै पारा खेलाडीहरूले हामी सबैलाई प्रेरित गरेका छ र पारा टोलीलाई हाम्रो समर्थन जारी राख्न पाउनु सम्मानको कुरा हो। एनपीसीसँगको हाम्रो सहकार्यले पलेशाजस्ता सच्चा नायक पारा खेलाडीहरूलाई प्रेरणा प्रदान गर्ने उदेश्य राखेको छ र हामी समावेशीतालाई सदा कदर गर्दै यसका लागि प्रतिबद्ध छौँ।’

‘एसियाली पारा खेलकुदबाट पहिलो पटक देशको लागि पदक जितेर ल्याउन पाएकोेमा म गौरवान्वित छु। हामीजस्ता पारा खेलाडीको विकास र प्रशिक्षणको लागि एनसेलले गरेको सहयोगको लागि म हामी सबै पारा खेलाडीहरुको तर्फबाट धेरैधेरै धन्यवाद दिन चाहन्छु र एनसेल र एनपीसीको यो सहकार्य दीर्घकालीन रहोस् भन्ने कामना गर्दछु। पारा खेलाडीहरूको विकासका लागि भएको यो सहकार्यले आगामी दिनमा अझ धेरै पारा खेलाडी लाभान्वित हुने र देशका लागि थप अन्तर्राष्टिय सफलता दिलाउने विश्वास लिएको छु,’ पलेशाले भनिन्।

पलेशाले चीनकी लिटिङ याङलाई पराजित गर्दै सेमिफाइनलमा देशको लागि कास्य पदक ल्याउन सफल भएकी थिइन्। यो वर्ष एसियाली पारा खेलकुदमा एथलेटिक्स, ब्याडमिनटन, साइकलिङ, पौडी, तेक्वान्दो, जुडो, पावर लिफ्टिङ, सुटिङ र टेबलटेनिस गरि विभिन्न १० खेलका विधामा १९ जना पारा खेलाडीले नेपालको प्रतिनिधित्व गरेका थिए।

प्रकाशित: १६ कार्तिक २०८० ११:३२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + nineteen =