काठमाडौँ- क्रिकेट विश्वकप २०२३ मा दोस्रो नम्बरमा रहेको साउथ अफ्रिकाले तेस्रो नम्बरमा रहेको न्युजिल्याण्डलाई ३५८ रनको लक्ष्य दिएको छ।
भारतको पुनेमा टस हारेर ब्याटिङ गरेको साउथ अफ्रिकाले ५० ओभरमा ४ विकेटको क्षतिमा ३५७ रन बनाएको हो। साउथ अफ्रिकाका लागि ओपनर क्विन्टन डि ककले ११४ रन तथा तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका रस्सी भानडेर डुसेनले १३३ रनको शतकीइ इनिङ्स खेले।
त्यस्तै डेभिड मिलरले ३० बलमा ५३ रन बनाउँदै अर्धशतकीय इनिङ्स खेले। न्युजिल्याण्डका लागि टीम साउथीले १० ओभरमा ७७ रन दिँदै २ विकेट लिए।
जारी विश्वकप प्रतियोगितामा साउथ अफ्रिका १० अंकसहित दोस्रो र न्युजिल्याण्ड ८ अंकसहित तेस्रो स्थानमा रहेका छन्। भारत प्रतियोगिताको पहिलो स्थानमा रहेको छ।
यसअघि सन् २००३ यता २०१९सम्म साउथ अफ्रिका र न्युजिल्याण्डबीच पाँचवटा विश्वकपमा ५ वटा खेल भएका छन्। ती सबै खेल न्युजिल्याण्डले नै जितेको छ। जारी प्रतियोगितामा साउथ अफ्रिकाले नेदरल्याण्ड्सबाहेक सबैसँग जितेको छ।
एसोसिएट टिम नेदरल्याण्ड्ससँगमात्रै साउथ अफ्रिका हारेको थियो। प्रतियोगितामा साउथ अफ्रिकाले ६ खेलमा ५ जित निकालेको छ। त्यस्तै न्युजिल्याण्डले ६ खेलमा ४ खेल जितेको छ।
जारी प्रतियोगितामा साउथ अफ्रिका र न्युजिल्याण्ड दुवै टिम बलिया देखिएका छन्। यसअघि अस्ट्रेलियासँग भएको खेलमा ३८९ रनको लक्ष्य पछ्याएको न्युजिल्याण्ड ५ रनले हार्न पुगेको थियो।