महाकविको निधनबारे भारतीय अखबार ‘आज’ ले प्रकाशित गरेको संस्मरण

सन्तोष खडेरी २७ कार्तिक २०८० ८:२०
96
SHARES
महाकविको निधनबारे भारतीय अखबार ‘आज’ ले प्रकाशित गरेको संस्मरण

हरेक वर्षझैँ यस वर्ष पनि लक्ष्मीपूजा दिनमा नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्ती नेपालसहित नेपाली भाषी रहेका संसारभर मनाइँदैछ। १९६६ सालमा काठमाडौँमा जन्मिएका देवकोटाको निधन २९ भदौ २०१६ मा पशुपति आर्यघाटमा भएको थियो।

देवकोटाको निधन भएलगत्तै भारत काशीको सुप्रसिद्ध हिन्दी दैनिक आजमा दुर्गाप्रसाद श्रेष्ठ ‘उपेन्द्र’ को नामबाट एउटा लेख छापिएको थियो। त्यसै लेखलाई स्वर्गीय लक्ष्मीप्रसाद देवकोटा शीर्षकमा चिरंजिवी घिमिरे मूगा धनकुटा (पू. नेपाल) ले अनुवाद गरी काशीबाट प्रकाशित हुने उदय मासिकको वर्ष १९ अंक १०, पौष २०१६ को अंकमा प्रकाशित गरेका थिए। प्रस्तुत छ ‘स्वर्गीय लक्ष्मीप्रसाद देवकोटा’ शीर्षकमा प्रकाशित सोही लेख :

अस्ति दिउँसो आल इन्डिया रेडियोको दिल्ली केन्द्रबाट समाचार सुन्दै थिएँ। एकाएक एउटा समाचार सुनेँ, स्तब्ध भएँ। दुई दिनपहिले उनको रुग्णताको समाचार आएको थियो। आज अचानक बज्रपात भयो। ५१ वर्षको आयुमा कवि नेपाली साहित्यलाई अनाथ बनाई हिँडे।

महाकवि लक्ष्मीप्रसाद देवकोटाको व्यक्तित्व शब्दको फ्रेममा अटाउँदैन। उनी हिन्दीका महाकवि ‘निराला’ झैँ निष्फिक्री, उदार र गम्भीर विचारक थिए। साँच्चै भनूँ भने जसरी ‘निराला’ लाई पाएर हिन्दी साहित्यले आफूलाई धन्य सम्झिरहेछ त्यस्तै प्रकार नेपाली साहित्य पनि देवकोटालाई पाएर धन्य थियो। उनी मस्त र फक्कड थिए। जसरी ‘निराला’ लाई केही पागलहरूले पागल भनेका थिए त्यसरी नै देवकोटाजीलाई एकचोटि केही पागलहरूले पागल पनि भनेका थिए। देवकोटाजीले यसको समुचित उत्तर ‘पागल’ शीर्षक कवितामा दिए-

जरुर साथी म पागल,

यस्तै छ मेरो हाल!

म शब्दलाई देख्दछु, दृश्यलाई सुन्दछु।

वासनाले स्वाद लिन्छु,

आकाशभन्दा पातला कुरालाई छुन्छु।

ती कुरा जसको अस्तित्व लोक मान्दैन,

जसको आकार संसार जान्दैन,

म देख्दछु ढुंगालाई फूल

जब जलकिनारामा जल चिप्ला ती कोमलाकार,

चाँदनीमा स्वर्गकी जादूगर्नी मतिर उम्सेर, पत्रिएर, वास्निएर, उप्सिएर, ब्युँझिएर, बदलिएर, नर्मिएर, बल्किएर, चल्किएर उठ्दछन्।

म पागलझैँ फूलझैँ एक किसिमका चकोर फूल

म बोल्दछु तिनीसँग जस्तो बोल्दछन् मसँग,

एक भाषा साथी जो लेखिन्न छापिन्न बोलिन्न,

बुझाइन्न, सुनाइन्न,

जुनेली गंगा किनारामा छाल आउँछ

तिनको भाषा साथी छलछल।

उनी फेरि भन्छन् –

प्राथमिक राप तापेर

म घामको ठण्डीमा सेतो बसिरहेको देख्दा दुनियाँले मलाई तरंगी भने।

देवकोटाजीको पुस्तकाकारका रूपमा प्रकाशित कृतिहरूमा सर्वोत्कृष्ट कृति मुनामदन हो। मुनामदनको स्थान नेपालीमा त्यही छ जो स्थान संस्कृतमा मेघदूत को। यी दुईवटै रचना विश्वसाहित्यका सुन्दर निधि हुन्। तर एउटा ज्ञात छ अर्को अज्ञात छ। मुनामदन नेपाली जातीय छन्द झ्याउरेमा लेखिएको छ र मेघदूतजस्तै संगीतमय छ। मुनामदनबाहेक उनले शाकुन्तल र सुलोचना महाकाव्यहरूको पनि रचना गरेका छन्। यसबाहेक सतकडौँ अन्य फुटकर कविताहरूको अमूल्य भण्डार पनि उनले नेपाली साहित्यलाई दिएका छन्।

देवकोटाजीको प्रारम्भकालीन कविताहरूमा एक अनियन्त्रित भावुकको भावोच्छृङ्खलता थिएन। कल्पनाले पनि सीमोल्लंघन गरेको थिएन। कवि आफ्नो वरिपरिको वातावरणमा घुलेर–मिलेर, प्राकृतिक सौन्दर्यले प्रभावित भएर कविताको धारा प्रवाहित गर्दथे। तर जतिजति उनमा परिपक्वता आउँदै गयो, जीवनको कठिन संघर्षसित लड्नुपर्‍यो। आफ्नो वरिपरि उनले करुणा, व्यथा, पीडा र आँसु देखे। यी सबले आप्लावित भएर उनले ‘सेली’ झैँ ‘झञ्झाप्रति’, ‘पागल’ इत्यादि कविताहरूको रचना गरे। उनको हृदयबाट भौतिक कृत्रिमता, मानव क्रूरताप्रति विद्रोहको प्रबल धारा निस्क्यो। ‘सेली’ ले जसरी ‘एडिनायस’ मा आफ्नो कथा लेखे, देवकोटाले पनि ‘पागल’ को सृष्टि गरेर आफ्नो विद्रोही हृदयको परिचय दिए।

देवकोटाजीको यस विद्रोही हृदयमा पनि सेली, किट्स, वार्यनझैँ मिठो आगो बल्दथ्यो। त्यसै आगोको प्रकाशमा उनको कविता चम्कन्थ्यो। उनको कविता मिश्रीको डल्लो जस्तै खाँदा कडा र स्वादमा गुलियो हुन्थ्यो। कविको हृदय जतिजति अनुभवी हुँदै गयो उनको लेखनी खारिँदै गयो। उनको भावुकता दार्शनिकतामा परिवर्तित हुँदै गयो। देवकोटाजीलाई विशेष गरेर कल्पनात्मक वर्णात्मक शैली नै प्रिय थियो। कसैले प्राकृतिक दृश्यहरूको वर्णन उनको कवितामा धेरैले प्राप्त गर्छन्। अनुप्रास र संगीतको मोह पनि उनलाई खूब थियो साँचै भनूँ भने कविलाई कविताभन्दा संगीतसँग धेरै प्रेम थियो। उनको यही संगीतता उनको कविताको लोकप्रियताको केन्द्र हो।

कवि मानव हृदयको सम्पूर्ण हलचल र युगको सम्पूर्ण चेतनालाई अभिव्यक्त गरेर नै युग र जीवनको प्रतिनिधित्व गर्छ। इतिहासको सीमित परिधिमा नआउने मानव भावनाहरूको मनोहर संसारको चित्र बनाउन नै कवि अगाडि बढ्छ। मूकको क्रन्दन, व्याकुलको आँसु र जागरुकहरूको आह्वान देवकोटाजस्तो उद्बुद्ध कविले सुन्छ। प्रगतिशील कविताहरूको निर्माण गर्छ।

अब कविका केही कविताहरूको निरुपण हेरौँ। इन्द्रधनुषलाई देखेर कवि भन्छन्–

पघले सृजन घन अब हे सावन रंगधनी,

ललित रे चूली चूली गाँसी कलाकी इन्द्रेणी,

वाष्द्रवमा किरणबुना यो धनुष नवीन

हान्दछ कुसुम शर दृग दिलमा

झन्कारी क्या भावना चीन।

यो प्राकृतिक सौन्दर्य वर्णनको उत्कृष्ट नमुना हो। कवि इन्द्रेणीलाई देखेर सावनको पहिलो बादलको कल्पना गर्छ र उसको भावना शब्द रूपमा बर्सिन्छ।

सेलीको ‘ओड टु द वेस्ट विन्ट’ झैँ देवकोटाजीले ‘झन्झाप्रति’ को रचना गर्नुभो।

‘आँ फिजारी घनका झाँक्रा

सगर सगर गाँसी

उग्ररुपिणी प्रलयसदनी

वर्षकी वेदना राशी

नाश रे शेष शिशिर

देवकोटाले पनि भने–

अतीत करागत सब

आत्माहरूको क्रन्दन फोई

नाच रे खण्डित कृष्ण धनमा

इन्साफ मागेर रोई

चम्की झंझकी हे आत्मा

सुत्छ मनुज अँधेरी रातमा।

देवकोटाको हृदयमा गरिब, दलित र असहायका प्रति प्रेम थियो। उनी ‘वर्ड स्वर्थ’ झैँ फूल र ढुंगाहरूमा पनि सजीव मूर्तिको दर्शन गर्दथे। अत्याचार, अनाचर र आडम्बरको आडमा पापाचारलाई सहन सक्तैनथे। त्यसैले सेलीले झैँ पागल भनिए। वार्यन र किट्सझैँ आफ्नो जीवनकालमा यथेष्ट यश पनि आर्जित गरे। परन्तु उनलाई आफ्नो जीवनसँग सन्तोष थिएन। उनलाई आफ्नो परिवारबाट सुख मिलेन, किनभने उनी यथार्थताका पुजारी थिए, कृत्रिममताका विरोधी थिए। अन्यायलाई देखेर चुप लाग्दैनथे। यसैले उनलाई कहिल्यै पनि आराम मिलेन। यद्यपि उनी आफ्ना जीवनको अन्तिम क्षणसम्म नेपाल एकेडेमीका माननीय सदस्य थिए। एकपल्ट शिक्षामन्त्रीसम्म भइसकेका थिए तैपनि उनको हृदय प्रसन्न थिएन। उनका कवितामा उनको मूक हृदयको पुकार, क्रन्दन झल्किन्छ। नेपाली साहित्यले विश्वलाई आप्लावित गर्ने इच्छाले त्यो गरिब ग्रेजुयट चटाईमा बसेर लेख्दथ्यो। चटाईमा बसेर लेखिरह्यो र कसलाई थाह छ सायद मरुञ्जेल चटाईमा सुतिरह्यो होला। उनका परिवारले उनलाई पथभ्रष्ट भन्थ्यो, समाजले पागल। सिगरेटले पोलिरहेको औँलाको पीडामा अलिकति पनि ध्यान नदिएर कवितामा हराइरहने कविले आफ्नी धर्मपत्नीलाई यही आश्वासन दिँदै रहे- ‘यो किताब छापिएर बेचुँला।’

त्यही गरिब युवक ५१ वर्षको उमेर भएर नेपाली साहित्यको मूर्धन्य साहित्यकारहरूमा सर्वोपरि भएर मर्‍यो।

देवकोटाजी महान् कवि हुनुका साथ साथै महान् देशभक्त पनि थिए। जब उनलाई पुस्तकालय खोल्ने कुराको समर्थनमा हस्ताक्षर गरेकाले राणा शासकहरूले तीन वर्ष कारावासको सजाय दिए, जब उनको प्रथम महाकाव्य अग्निदेवतालाई होमियो तब महाकविको सागरजस्तो हृदय आन्दोलित भई उठ्यो र त्यसै बेला उनले अनुभव गरे कि देशमा प्रजातन्त्रको परम आवश्यकता छ। उनको हृदयमा देशप्रेम र प्रजातन्त्रको मात्रा कति धेरै थियो यसको अनुमान यिनको अन्तिम शब्दबाट गर्न सकिन्छ जो उनको मुखबाट मृत्युशय्यामा मुखरित भएको थियो– ‘देशमा प्रजातन्त्रको बीउ रोपिसकिएको छ। आशा छ, यसको बिरुवा फल्लाफुल्ला, सुक्न नपाउला।’

आज उनी छैनन्, तर जबसम्म विश्वमा साहित्य नाउँको कुनै चिज विद्यमान रहन्छ, उनका कृतिहरू अमर रहन्छन्। उनी आकाशमा चम्कने ताराहरूझैँ मनुष्यको हृदयमा प्रकाश दिएर उनीहरूलाई सही बाटो निर्देश गरिरहनेछन्। आर्काइभबाट

प्रकाशित: २७ कार्तिक २०८० ८:२०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + five =