गैँडाको खागसहित ८ जना पक्राउ

हिमाल प्रेस १४ मंसिर २०८० १६:१४
18
SHARES
गैँडाको खागसहित ८ जना पक्राउ

काठमाडौँ-  चितवन राष्ट्रिय निकुञ्जको भित्री भागमा दुईवटा गैँडाको खागसहित आठ जना पक्राउ परेका छन्। बिहीबार राष्ट्रिय निकुञ्जको मुख्यालय कसरामा पत्रकार सम्मेलनमार्फत पक्राउ परेका व्यक्तिहरूलाई सार्वजनिक गरिएको हो।

निकुञ्जको पूर्वी क्षेत्रमा पर्ने चपरचुली सुरक्षा चौकीबाट दुई किलोमिटर दक्षिण–पूर्वतर्फ कात्तिक ३० गते खाल्डोमा पारेर दुईवटा गैँडा मारिएका थिए। अन्दाजी १८ र छ वर्षका पोथी गैँडा मारिएपछि निकुञ्ज प्रशासन, नेपाली सेना र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोे तस्कर पक्राउ गर्न खटिएको थियो।

मङ्सिर ९ गते पूर्वी चितवनको राप्ती नगरपालिका–३ बाट छ जना र ११ गते सोही नगरपालिकाको भण्डाराबाट दुई जना पक्राउ परेका जनाइएको छ। पक्राउ परेकाहरूमा मकवानपुरका रमेश खाती, चितवनका पासाङ भनिने आइते सिंह मोक्तान, मकवानपुरका समसेर थिङ, मकवानपुरकै सिताराम थिङ, रोल्पाका अर्जुन रोका, गोरखाका धनबहादुर गुरुङ, चितवनका उनबहादुर स्याङतान र मकवानपुरका इन्द्र बहादुर तामाङ रहेको निकुञ्जका वार्डेन दिल बहादुर पूर्जा पुनले जानकारी दिए।

पत्रकार सम्मेलनमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग महानिर्देशक डा सिन्धुप्रसाद ढुङ्गानाले चाडपर्वमा बेला मौका छोपेर गैडालाई मारेको देखिएको जानकारी दिए। उनले उक्त घटनापछि पाठ सिकेको र आगामी दिनमा यस्ता घटना हुन नदिन थप गम्भीरता अपनाउने जिकिर गरे।

त्यस्तै केन्द्रीय अनुसन्धान ब्युरोका प्रवक्ता नवराज अधिकारीले पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको बताए। उनले गैडा मारेपछि खाग किन्नेहरूको खोजीमा रहेका बेलमा पक्राउ गर्न सफल भएको जानकारी दिए।

गैँडा मारेर खाग बिक्री गर्न तयारी गरिरहेको अवस्थामा उनीहरू पक्राउ परेका हुन्। पक्राउपछि उनीहरूबाट दुई वटा खागसमेत बरामद गरिएको छ। सशस्त्र द्वन्द्वको समयमा एकै वर्षमा ३८ वटासम्म गैँडा तस्करले मारेका थिए। पछिल्ला वर्षहरूमा वन्यजन्तु चोरी सिकारी घटेर गएको थियो। चितवन राष्ट्रिय निकुञ्जमा पछिल्लो गणनाअनुसार छ सय ९४ गैँडा रहेका छन्।

प्रकाशित: १४ मंसिर २०८० १६:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − one =