रास्वपा : प्रदेश संरचनामा विरोध, लोकतन्त्रमा अडिग (राजनीतिक प्रतिवेदनसहित)

हिमाल प्रेस १४ मंसिर २०८० ९:१०
6
SHARES
रास्वपा : प्रदेश संरचनामा विरोध, लोकतन्त्रमा अडिग (राजनीतिक प्रतिवेदनसहित)

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रदेश संरचना बदल्नुपर्ने प्रस्तावसहितको राजनीतिक प्रतिवेदन पारित गरेको छ।

महोत्तरीको जलेश्वरमा बसेको पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकमा सभापति रवि लामिछानेद्वारा संरचना नै बदल्ने बाटो लिनुपर्ने प्रस्ताव आएको हो ।

‘अहिलेको प्रदेश संरचनाले हामीलाई कहीँ लैजादैंन। त्यसमाथि यो भ्रष्टाचारको केन्द्र र कार्यकर्ता भर्ती केन्द्र बनेकोछ। यसकोविकल्प सोच्न एकछिन पनि ढिला गर्नु हुन्न,’ प्रतिवेदनमा भनिएको छ।

महोत्तरीको जलेश्वरमा सम्पन्न केन्द्रीय समिति बैठकबाट पारित सभापति रवि लामिछानेको राजनीतिक प्रतिवेदनमा भनिएको छ, ‘पुराना दलहरु आफू–आफू बैठक गरी यो व्यवस्था संकटमा छ भन्दैछन् । वास्तवमा संकटमा व्यवस्था होइन, संकटमा उनीहरु छन्, उनीहरूको राजनीति छ । व्यवस्था संकटमा परे जोगाउने जनता छन् ।’

व्यवस्था फेर्नुपर्छ भनिरहेका राजावादीहरुलाई जवाफ दिँदै रास्वपाको प्रतिवेदनमा भनिएको छ, ‘यही व्यवस्थाभित्रै रहेर हामी मुलुक र नागरिकको अवस्था परिवर्तन गर्न सक्छौं । अहिले व्यवस्था परिवर्तनको बहसभन्दा सुशासन र विकासको बहसमा केन्द्रित हुन जरुरी छ । गरिब, दुःखी, पीडित नागरिकको कहालीलाग्दो जीवनबारे बहस नगरेर अन्य परिवर्तनतिर बहस धकेलिने हो भने आमजनतालाई परिवर्तनको प्रत्याभूति दिने संकल्प अनिश्चिततातर्फ धकेलिन्छ । हामीले विगतमा सबै व्यवस्था देखेर आएका छौं ।’

लामिछानेको प्रतिवेदनमा अगाडि भनिएको छ, ‘हामीले यही व्यवस्थाभित्रै रहेर जनताको अभिमत जितेर सबैखाले परिवर्तन गर्न सम्भव छ भन्ने निष्कर्षका साथ पार्टी गठन गरेका थियौं । हाम्रो त्यो निष्कर्ष अहिले पनि कायमै छ।’

सभापति लामिछानेले भनेका छन्, ‘एकपटक सम्पूर्ण बल लगाएर यो देशलाई विकसित राष्ट्र बनाऔं । त्यत्ति गर्दा पुगेन भने जे फाल्नुपर्छ फालौं, जे ल्याउनुपर्छ ल्याऔं ।’

लामिछाने अगाडि थप्छन्, ‘सामाजिक न्यायलाई केन्द्रमा राखी, सुशासनको भीष्म प्रतिज्ञासहित द्रुत विकासका मोडलहरु ल्याएर रोजगारी सिर्जना गरी आर्थिक उन्नतिको वेग मार्नुको विकल्प अहिलेलाई केही पनि हुन सक्दैन ।’

प्रकाशित: १४ मंसिर २०८० ९:१०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 1 =