बालकृष्ण खाणले न्याय पाउनुहुन्छ : देउवा

हिमाल प्रेस १२ मंसिर २०८० १९:०५
24
SHARES
बालकृष्ण खाणले न्याय पाउनुहुन्छ : देउवा

भैरहवा (रुपन्देही)-  नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका नेता बालकृष्ण खाँणले न्याय पाउनेमा आफू आशावादी रहेको बताएका छन् । मंगलबार नेपाली कांग्रेस, रुपन्देहीको जिल्ला सम्मेलनमा बोल्दै सभापति देउवाले खाँणले न्याय पाउनेमा आफू आशावादी रहेको भन्दै खाँण बचाउको संकेत गरे।

सभापति देउवाभन्दा अघि बोल्ने जिल्लाका नेताकार्यकर्ताले केन्द्रीय सदस्य खाँणलाई फसाइएको र पार्टीले कुनै सहयोग नगरेको गुनासो गरेपछि उनले जबाफ दिएका हुन्।

सभापति देउवाले खाँण यहाँको नेता भएको र पटक–पटक यहाँका जनताले चुनेर पठाएको प्रतिनिधि भएकाले चिन्ता लाग्नु स्वाभाविक रहेको बताए। ‘अदालतमा विचाराधीन रहेको मुद्दामा बोल्न हुँदैन तर पनि मलाई खाँणले न्याय पाउने अपेक्षा छ,’ उनले भने।

देउवाले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमानस्थललाई आवश्यक पर्ने पूर्वाधारहरू नभएका कारण पूर्णरूपमा सञ्चालनमा आउन नसकेको बताए।

सम्मेलनमा बोल्दै कांग्रेस सहमहामन्त्री किशोरसिंह राठौरले रुपन्देहीमा कांग्रेस बलियो शक्ति भएर पनि कार्यकर्ताहरूमा कुरा सुन्नेसम्मको फुर्सद नहुँदा र पार्टी निर्माणमा ध्यान नदिँदा कमजोर हुँदै गएको जनाए।

केन्द्रीय सदस्य एवं सांसद डा.चन्द्र भण्डारीले कांग्रेसमा अन्तर्घात बढिरहेको र यसले पार्टीलाई कमजोर बनाएको बताए। उनले ३६५ दिननै पार्टीको झण्डा बोक्नेले चुनावमा अर्कैलाई भोट हाल्ने गरेको जनाउँदै त्यस्ता नेताकार्यकर्ता पार्टीलाई आवश्यक नरहेको बताए।

कांग्रेस नेता एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले प्रदेश सरकार अधिकारविहीन भएको भन्दै गुनासो पोखे। उनले संविधानको मर्मअनुसार अधिकार नदिइँदा प्रदेश सरकार ‘पंगु’ बनेको बताए।

सम्मेलनमा पार्टी केन्द्रीय सदस्य दीपक गिरी, अब्दुल रज्जाक, भरतकुमार शाह, देवेन्द्रराज कंडेल, जिल्ला सभापति रामकृष्ण खाँण, क्षेत्र नम्बर ३ का क्षेत्रीय सभापति सुशील गुरुङ लगायतले बोल्दै काँग्रेसलाई एकढिक्का बनाएर अघि बढे पार्टी मजबुत बन्ने बताए।

प्रकाशित: १२ मंसिर २०८० १९:०५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × one =