अनेरास्ववियूले वितरण गर्‍यो भूकम्प प्रभावित विद्यार्थीलाई शैक्षिक सामग्री

हिमाल प्रेस १२ मंसिर २०८० ८:१३
58
SHARES
अनेरास्ववियूले वितरण गर्‍यो भूकम्प प्रभावित विद्यार्थीलाई शैक्षिक सामग्री

काठमाडौँ- नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियूले जाजरकोटका भूकम्प प्रभावित विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ। अनेरास्ववियूले जिल्लाका विभिन्न ७ विद्यालयका करिब १ हजार विद्यार्थीलाई अत्यावश्यकीय शैक्षिक सामग्री हस्तान्तरण गरेको हो ।

भूकम्प प्रभावित विद्यालय पन्छाउन र नयाँ अस्थायी टहरा निर्माणका निम्ति जाजरकोट पुगेको अखिलको टोलीले प्रभावित विद्यार्थीहरुलाई न्यानो कपडा, झोला, कापि, कलम र पेन्सील लगायतका शैक्षिक सामग्री उपलब्ध गराएको हो ।

अनेरास्ववियूकी केन्द्रीय अध्यक्ष आरती लामाले भूकम्पमा अभिभावक गुमाएका र विपन्न समुदायका विद्यार्थीका लागि राहत पुगोस् भन्ने उद्देश्यले यसरी सहयोग गरिएको जानकारी दिइन् ।

अध्यक्ष लामाले भनिन्, ‘भूकम्पका कारण शैक्षिक भविष्य जोखिममा परेका विद्यार्थीलाई सहयोग गर्ने मुल उद्देश्य बोकेर हामी यहाँ आएका हौँ । यिनै विद्यार्थीलाई सहयोग गर्न भनेरै हामीले राजधानीमा देउसी र भैलो आयोजना गरेका थियौं । देउसीबाट जुटेको रकमबाट भूकम्प प्रभावित बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्न पाउँदा असाध्यै खुसी लागेको छ ।’

अध्यक्ष लामाको नेतृत्वमा गएको टोलीले केही दिनदेखि भत्किएका घरहरु पन्छाउनेदेखि नयाँ अस्थायी टहरा निर्माण गर्ने लगायतका काम गरिरहेको सो संगठनका केन्द्रीय कार्यालय सदस्य नरेश न्यौपानेले बताए ।

न्यौपानेका अनुसार अनेरास्ववियूले आफ्नो पार्टी नेकपा एकीकृत समाजवादी जाजरकोट जिल्ला कमिटी र स्थानीय प्रशासनसँगको समन्वयमा काम अघि बढाइरहेको छ ।

प्रकाशित: १२ मंसिर २०८० ८:१३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 − 1 =