विद्यार्थीको रोजाइमा प्राविधिक शिक्षा

हिमाल प्रेस ८ मंसिर २०८० १२:०६
36
SHARES
विद्यार्थीको रोजाइमा प्राविधिक शिक्षा

भोजपुर- भोजपुरका विद्यार्थीको रोजाइमा प्राविधिक शिक्षा पर्न थालेको छ। विभिन्न माध्यमिक विद्यालयले ऐच्छिक विषयका रूपमा प्राविधिक शिक्षा अध्ययन गराउन थालेपछि यसप्रति विद्यार्थीको आकर्षण बढेको हो।

रामप्रसाद राई गाउँपालिका–३ भुल्केमा रहेको पञ्चकन्या माध्यमिक विद्यालयले प्राविधिक शिक्षाको थालनी गरेपछि वडाका अधिकांश विद्यार्थीले यो शिक्षा लिँदै आएका छन्।

विद्यार्थीले कृषि विषयमा प्राविधिक शिक्षा लिँदै आएका छन्। शिक्षा हासिल गरेपछि सहजरूपमा रोजगार पाइने तथा जीवनोपयोगी सीप हासिल हुने भएसँगै विद्यार्थीको रोजाइमा प्राविधिक शिक्षा परेको विद्यालयका प्रधानाध्यापक पेशलकुमार तिमल्सेनाले बताए।

शिक्षालाई सीपसँग, सीपलाई श्रमसँग, श्रमलाई रोजगारसँग र रोजगारलाई बजारसँग जोडेर उत्पादनशील र उत्पादनमुखी बनाउनका लागि प्राविधिक शिक्षाको सुरुआत गरेको उनी बताउँछन्।

‘शिक्षालाई जीवनोपयोगी बनाउन आवश्यक छ’,उनले भने,‘हामीले व्यावहारिक शिक्षा दिन सकेमा विद्यार्थीमा जीवनयापनको वातावरण बन्छ। विद्यार्थीलाई कृषि विषयको प्राविधिक शिक्षा दिँदै आएका छौँ।’

विद्यार्थीलाई सहज प्राविधिक शिक्षाको पहुँच विस्तार गर्न प्राविधिक शिक्षामा जोड दिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टेकराज भट्टराईले बताए।

यस वर्ष पढ्दै कमाउँदै कार्यक्रमअन्तर्गत पाँच लाख लागतमा च्याउखेती गर्न घर निर्माणसँगै प्राविधिक शिक्षाका लागि आवश्यक सामग्री खरिद गरिने उनको भनाइ छ।

आवेदन माग गरेर विद्यार्थीको रोजाइको आधारमा च्याउखेती,टमाटर खेती, फलफूल खेती, तरकारी खेतीमा जोड दिइएको भट्टराईले बताए।

तरकारी बिक्रीबाट आएको रकम प्रोत्साहनका रूपमा विद्यालयले विद्यार्थीलाई दिने गरेको छ। विद्यार्थीले च्याउखेती, टमाटर खेती, माछापालन, काउली, एभोकाडो खेतीसँगै अन्य कृषिका विषयमा अभ्यासमार्फत ज्ञान लिँदै आएका छन्।

विद्यार्थीलाई प्राविधिक शिक्षासँग जोड्दै दक्ष जनशक्ति उत्पादनमा रामप्रसादराई गाउँपालिकाले योजनाबद्धरूपमा काम गरिरहेको गाउँपालिका अध्यक्ष थामबहादुर राईले बताए।

‘अहिलेको आवश्यकता प्राविधिक शिक्षा हो’,अध्यक्ष राईले भने,‘हामीले सीपमूलक शिक्षामा जोड दिँदै आएका छौँ। प्राविधिक शिक्षाले दक्ष जनशक्ति उत्पादन सहयोग पुग्नेछ।’

प्रकाशित: ८ मंसिर २०८० १२:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + nineteen =