अर्थतन्त्रको अवस्था प्रचार भएजस्तो खराब छैन : प्रधानमन्त्री

हिमाल प्रेस ५ मंसिर २०८० २१:०७
4
SHARES
अर्थतन्त्रको अवस्था प्रचार भएजस्तो खराब छैन : प्रधानमन्त्री फाइल तस्बिर।

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशको अर्थतन्त्रको अवस्था प्रचार भएजस्तो खराब नभएको बताए।

‘नेपालको अर्थतन्त्रको विद्यमान अवस्था र भावी कार्यदिशा’ शीर्षकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा आज (मंगलबार) आयोजित छलफलमा प्रधानमन्त्रीले अर्थतन्त्रका चारवटै क्षेत्रमा क्रमशः सुधार हुँदै गएको बताए। उनले वास्तविक क्षेत्र, सार्वजनिक क्षेत्र, मौद्रिक क्षेत्र तथा बाह्य क्षेत्रमा सुधारका संकेत देखिन थालेका बताए।

‘मैले पनि अर्थतन्त्रको पुनरुत्थानको लागि नियमितरुपमा निर्देश गरिरहेको छु। हामीले प्रतिकूल समय पार गरिसकेका छौँ। विस्तारै अर्थतन्त्रका समष्टिगत आर्थिक परिसूचकमा सुधारका संकेत देखिन थालेका छन्,’ प्रधानमन्त्रीले भने, ‘अर्थतन्त्रको अहिलेको अवस्थाबारे हामी जानकार नै छौ । म स्वयं पनि उद्योगी, व्यवसायी, आयात निर्यातकर्ता, निर्माण व्यवसायी, यस क्षेत्रका विज्ञलगायत विभिन्न सरोकारवाला पेसाकर्मीसँग निरन्तर अन्तरक्रियामा छु।’

बाह्य क्षेत्रको अहिलेको अवस्था हालसम्मकै सबैभन्दा मजबुत देखिएको बताउँदै प्रधानमन्त्रीले पर्यटन आवागमनमा ३० प्रतिशतले वृद्धि भएको, विदेशी लगानी आप्रवाह वृद्धि भएको, शोधनान्तर बचतमा सुधार भएको, वैदेशिक मुद्रा सञ्चिति उच्च विन्दुमा पुगेको, बैंक वित्तीय क्षेत्र पनि सबल रहेको जानकारी दिए। ब्याजदर घट्दो अवस्थामा रहेको, लगानीयोग्य पुँजी वृद्धि भएको, निजी क्षेत्रमा कर्जा प्रवाह विस्तार हुँदै गएको उनले बताए।

प्रकाशित: ५ मंसिर २०८० २१:०७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + eleven =