चीनबाट दोलखा हुँदै १० महिनामा ३३ किलो सुन तस्करी

हिमाल प्रेस ५ मंसिर २०८० १६:४८
14
SHARES
चीनबाट दोलखा हुँदै १० महिनामा ३३ किलो सुन तस्करी

काठमाडौँ- चीनबाट दोलखा हुँदै नेपालमा १० महिनाको अवधिमा मात्रै ३३ किलो सुन तस्करी भएको प्रहरीले निष्कर्ष निकालेको छ। २०८० असोज १० गते बरामद गरेको ११ किलो सुन तस्करीको मुद्दा अनुसन्धानका क्रममा २०७९ मंसिरदेखि २०८० असोज १० गतेसम्ममा ३३ किलो सुन तस्करी भएको प्रहरीले निष्कर्ष निकालेको हो।

११ किलो सुन तस्करीमा संलग्न व्यक्तिहरुले नै यो अवधिमा ३३ किलो सुन भित्र्याएको पाइएको दोलखाका प्रहरी प्रमुख डीएसपी दीपक खड्काले बताए। सुन तस्करी प्रकरणको अनुसन्धान सकेर प्रहरीले जिल्ला सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएको छ।अब सरकारी वकिल कार्यालयमा अदालतमा अभियोग दायर गर्नेछ।

उनीहरुले मंसिर १० गते चीनबाट लुकाइछिपाई अवैध रुपमा पैठारी गरेको ११ किलो ५३२.०३८ ग्राम सुन प्रहरीले बरामद गरेको थियो। तर प्रहरीले थप सुन समेत तस्करी भएको निस्कर्ष निकाल्दै ३३ किलो सुनको एकतिस करोड एघार लाख सत्तरी हजार चार सय छयालिस रुपैयाँ बिगो कायम गरिएको छ।

बरामद भएको ११ किलो ५३२.०३८ ग्राम सुन नेपाल राष्ट्र बैंक टक्सार बिभाग ववरमहल काठमाडौंमा बुझाएको प्रहरीले जानकारी दिएको छ। तस्करीमा संलग्न व्यक्तिहरुको साथबाट प्रहरीले १८ लाख ३३ हजार ५ सय रुपैयाँ बरामद गरेको थियो। उक्त रकम समेत जफतको माग गरिएको छ। सुन तस्करी प्रकरणमा प्रहरीले पक्राउ परेका १५ र फरार १२ जना गरी २७ जनालाई प्रतिवादी बनाउन राय दिएको छ।

पक्राउ पर्नेमा चिनियाँ नागरिक हाल काठमाडौं बस्दै आएका ६६ वर्षीय तासी, दावा भन्ने आकर, चिनियाँ नागरिक ५४ वर्षीय टासी भन्ने जेङ रउ, दोलखाको बिगु गाउँपालिका १ घर भई हाल काठमाडौंको बौद्ध बस्ने ५५ वर्षीय नुर्वु छिरिङ, सोही ठाउँका १८ वर्षीय पेम्बा तामाङ, ३९ वर्षीय च्याङबा भन्ने चस्मान तामाङ रहेका छन्।

यस्तै, गुल्मीको सत्यवती गाउँपालिका ६ घर भई हाल काठमाडौंको टोखा बस्ने ६२ वर्षीय सनद प्रधान, सिन्धुपाल्चोकको चौतारा साँगाचोक गढी नगरपालिका ७ घर भई काठमाडौं बस्ने ४५ वर्षीय लाल बहादुर तामाङ, बाग्लुङको बाग्लुङ नगरपालिका ४ श्रीनगरटोल घर भई काठमाडौंको टोखा बस्ने ४४ वर्षीय तिलक बिक, सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका ५ घर भई ललितपुर बस्ने ४८ दिपेन्द्र राज शाक्य, दोलखाको बिगु गाउँपालिका १ का ३२ वर्षीय केशर तमाङ, २० वर्षीय माधव कुमार मगर, रसुवा कालिका गाँउपालिका ३ घर भई हाल काठमाडौं बस्ने ३८ वर्षीय चेतनाथ न्यौपाने, दोलखा बिगु १ की ३२ वर्षीया सुनमाला तामाङ, रामेछापको मन्थली नगरपालिका ५, हाटेचौर घर भई हाल काठमाडौं बस्ने ३३ वर्षीया महिमा माझी र १६ वर्षका बालक पक्राउ परेका छन्।

तस्करीमा संलग्न १२ जना फरार रहेको प्रहरीले जनाएको छ। उनीहरुले विभिन्न तहमा तस्करीको काम गर्न जिम्मेवारी बाँडफाँड गरेको प्रहरीको निष्कर्ष छ। चीनबाट अवैध पैठारी गरी नेपाल भित्र्याएको सुन दोलखाको बिगु गाउँपालिका ३ जामुनेकी सीता तमाङको घरमा डेरा बस्ने केशर तमाङको कोठाबाट प्रहरीले सुरुमा बरामद गरेको थियो। पछि अन्य ठाउँबाट प्रहरीले थप सुन बरामद गरेसँगै ११ किलो सुन बरामद भएको थियो।

उनीहरुविरुद्ध भन्सार ऐन २०६४ को दफा ५७ (१) (घ) को १ (ख) अनुसार, संगठित अपराध निवारण ऐन, २०७०, नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा ९५, बालबालिका सम्बन्धी ऐन, २०७५ को दफा ६६ र मुलुकी अपराध संहिता, २०७४ को दफा ४३ को एकीकृत कसूर अन्तरगत मुद्दा चलाउन प्रहरीको राय छ।

प्रकाशित: ५ मंसिर २०८० १६:४८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × one =