[अन्तर्वार्ता]

तस्करीबाट चलेको एमाले मेरो आन्दोलनबाट तर्सियो : दुर्गा प्रसाई

रमेश भारती ५ मंसिर २०८० १६:५३
534
SHARES
तस्करीबाट चलेको एमाले मेरो आन्दोलनबाट तर्सियो : दुर्गा प्रसाई

‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऔँ महाअभियान’ का नाममा मेडिकल व्यवसायी दुर्गा प्रसाईले मंसिर ७ गते राजधानीमा प्रदर्शन गर्दैछन्। सोही दिन नेकपा एमालेको भ्रातृ संगठन युवा संघले काठमाडौँमा सरकारको गतिविधिविरुद्ध कार्यक्रम गर्दैछ। युवा संघको कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्दैछन्। यस्तै प्रसाईले आफ्नो कार्यक्रममा सम्बोधन गर्ने भएका छन्।

हेपिएका जनता राजधानीमा उत्रिने थाहा पाएपछि एमाले अध्यक्ष ओली युवा संघलाई उचालेर सर्वसाधारण नागरिकको अधिकार खोस्नतिर लागेको प्रसाईको आरोप छ। उनी आफूहरूले गर्न लागेको मंसिर ७ को आन्दोलनपछि एमाले र ओलीको पाइन देखिने बताउँछन्। मंसिर ७ को आन्दोलनको सेरोफेरोमा रहेर प्रसाईसँग हिमाल प्रेसका रमेश भारतीले गरेको कुराकानी :

आन्दोलन केका लागि हो?

मंसिर ७ गतेदेखि काठमाडौँ केन्द्रित आन्दोलन सुरु गर्न लागेको  छौँ। हिन्दु राज्य कायम गर्नुपर्ने, राजसंस्था पुनर्स्थापना गर्नुपर्ने, संघीयता खारेज गर्नुपर्ने, लघुवित्त आतंक र आर्थिक संकटका कारण आत्महत्या गर्नुपर्ने अवस्था अन्त्य हुनुपर्ने, बैंक तथा वित्तीय संस्थाको चर्को ब्याज अन्त्य हुनुपर्नेलगायतका एजेन्डा लिएर आन्दोलन हुँदैछ।

अहिले जनताले भोगेका सबैभन्दा ठूलो समस्या पनि यिनै हुन्। एकतिर देश राजनीतिका नाममा लुटिएको छ भने अर्कोतिर केही व्यापारी पैसा लिएर विदेश पलायन हुँदैछन्। त्यसपछि नेपालको अवस्था के होला आफैँ सोच्नुहोस्।

तपाईँको आन्दोलनपछि जनताले न्याय पाउँछन् त?

पहिलो कुरा त आन्दोलनले एउटा परिवर्तन ल्याउँछ। त्यसपछि सरकार अहिलेका समस्या समाधान गर्न बाध्य हुन्छ। अनि सबैले आआफ्नो क्षेत्रबाट न्याय पाउँछन् भन्ने मेरो विश्वास छ।

तपाईँ कुन शक्तिको आडमा आन्दोलन गर्दै हुनुहुन्छ?

मेरो शक्ति भनेको जनता हो। योभन्दा अरू शक्ति मसँग छैन। म जनताको छोरो हुँ। जनताको मर्म र  समस्या बुझेर आन्दोलनमा लागेको हुँ। म राजनीतिक पार्टीजस्तो अरू शक्तिबाट सञ्चालित होइन।

नेपालको पैसाजति ५५ जना व्यापारीको हातमा छ। यति मात्र होइन यो देशमा केही मारवाडी व्यापारीले अर्थतन्त्रमा कब्जा जमाएका छन्। मैले उनीहरूले गर्दै आएको तस्करी र अन्य समस्याबारे आवाज उठाएको छु। तर एमालेलाई मेरो आवाज मन परेन। त्यही भएर केही विदेशी मारवाडीको सहयोगमा ममाथि आक्रमण भएको हो।

एमाले अध्यक्ष केपी ओलीलाई हजुरबा भन्नुहुन्छ। अहिले ओलीबाटै आन्दोलन दबाउने प्रयास भइरहेको छ भनिन्छ नि?

प्रसाईले घरघरको आन्दोलन सुरु गरेको हो। आन्दोलनमा पूर्व मेचीदेखि महाकालीसम्मका मानिस आउने भएपछि ‘हजुरबा’ डराए र म विरुद्ध लागेका हुन्। मंसिर ७ गतेदेखिको आन्दोलन आदिवासी, जनजाति, गरिब, सर्वहारा वर्ग, लघुवित्त पीडित, मजदुर, मध्यम व्यापारी र बागमती किनारका सुकुमबासीको हो। यस्ता जनतालाई लुटेर राजनीति गर्दै आएको पार्टी एमाले डराएको छ।

एमालेजति लुटरा पार्टी अरू कोही छैन। यो पार्टीमा गुन्डा, तस्करी र बिचौलियाको हालीमुहाली छ। तिनैबाट ओलीले पार्टी चलाएका छन्। यस्तो गतिविधिविरुद्ध आन्दोलन भएपछि ओली मात्र होइन, सत्ता नै डराएको हो।

आर्थिक मन्दी, देशमाथि भइरहेको लुटतन्त्र, तस्करी, नेपालीको पैसा विदेश लैजाने, युवा जति वैदेशिक रोजगारी जाने, देश युवाविहीन बन्ने, कृषि क्षेत्रमा उत्पादन नहुने, आयातमा निर्भर रहनुपर्ने तर देश तस्करको हातमा भएको पक्षमा आफूले आवाज उठाउँदा ओली मविरुद्ध लागेका हुन्।

तपाईँ र तपाईँको महाअभियानविरुद्ध एमाले नेता महेश बस्नेत किन लागे त?

महेश बस्नेतले गुण्डा लगाएर मलाई कालोमोसो दलाएर मविरुद्ध लागेका छन्। बस्नेत पनि तस्कर र मारवाडीबाट सञ्चालित छन्। उनी पैसाका लागि ममाथि खनिदाँ एमालेलाई घाटा भएको छ। उनलाई सामाजिक सञ्जालमा टोले गुन्डा भनेर गाली गरिरहेका छन्। राष्ट्रवादी आन्दोलनमा अन्य पार्टी केही नबोलेको अवस्थामा एमालेले मात्र नचाहिँदो फन्डा फैलाउन थालेको छ। त्यसबारे जनता जानकार भएका कारण झन् एमाले समस्यामा पर्‍यो।

तपाईको आन्दोलनमा पूर्वराजा ज्ञानेन्द्रको समर्थन छ रे हो?

गत फागुन १ गते प्रचण्ड नेतृत्वको सरकारले सार्वजनिक बिदा नै घोषणा गरेर ‘जनयुद्ध’ दिवस मनाइरहँदा पूर्वी नेपालको झापामा पूर्वराजा ज्ञानेन्द्र शाह, उनका छोरा पारस र राजपरिवारका अरु सदस्यहरूलाई एउटै मञ्चमा राखेर व्यवस्था परिवर्तनको ‘महाअभियान’ घोषणा गरिरहेको थिएँ, अहिलेलाई यति बुझ्नुहोस्। समय सबै कुरा बताउँदै जान्छ।

मंसिर ७ गतेदेखि अहिलेको व्यवस्थाविरुद्ध आन्दोलन हो। यो आन्दोलनबाट सत्ता पक्ष र प्रतिपक्ष नै डराइरहेको अवस्था छ। त्यही भएर आन्दोलनलाई रोक्न प्रयत्न समेत भए। तर यी सबै योजना असफल भए।

आन्दोलनमा जनताको सहभागिता कस्तो हुने अपेक्षा गर्नुभएको छ?

करिब एक महिनाअघि नै देशभरिबाट मान्छे ल्याएर काठमाडौँ आन्दोलनका लागि आउने थालेका छन्। अहिलेको आन्दोलन देश र जनताका लागि हो व्यक्तिका लागि होइन। नेपालमा अहिलेको सत्ता, राजनीतिक दल र यिनै व्यक्तिले शासन गरिरहे जनता भोकै मर्नेछन्। त्यही व्यवस्था फेर्ने पनि आन्दोलन आवश्यक छ।

आन्दोलनमा तीन लाख नागरिक सहभागी हुने अनुमान छ। तयारी पनि त्यत्त्तिकै लागि छ। जनसहभागिता ठूलो हुने देखेपछि एमाले डराएको हो।

प्रकाशित: ५ मंसिर २०८० १६:५३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × two =