टिप्पणी

राजीनामापछि पाउने उन्मुक्तिले जंगीअड्डामाथि लागेको दाग

दुई पटक कोर्टमार्सल भएका व्यक्तिलाई उपरथीमा सिफारिस किन?

हिमाल प्रेस ३ मंसिर २०८० १९:१५
4.4k
SHARES
राजीनामापछि पाउने उन्मुक्तिले जंगीअड्डामाथि लागेको दाग जंगी अड्डा

काठमाडौँ– शैक्षिक प्रमाणपत्रमा उमेर सच्याएको विषय छानबिनमा तानिएपछि नेपाली सेनाका उपरथी ताराध्वज पाण्डेले पदबाट राजीनामा दिए। छानबिन प्रक्रिया अघि नबढेको भए उनी स्वतः तीनतारे जर्नेल अर्थात् रथीमा बढुवा हुने थिए। त्यसपछि उनलाई नेपाली सेनाको प्रधानसेनापति बन्न बाटो खुल्ने थियो। उमेर सच्याएर किर्ते गरेका पाण्डे सेनाको नेतृत्वमा पुग्दा कति खुसी हुने थिए होला ! अनि आफ्नो किर्ते प्रति कति गर्व गर्थे होलान !

पदबाट राजीनामा दिएर पाण्डेले आफ्नो पेन्सन र दर्जा त जोगाए। तर जंगीअड्डाले राजीनामा स्वीकृत गर्दा किर्ते गरेको आरोप लागेका उच्च सैन्य अधिकृतलाई उन्मुक्ति दिएको सन्देश गएको छ। यसले सैनिक इतिहासमा एउटा कालो दाग राख्नेछ। हुन त अन्य सेवामा पनि त्यही नै हुँदै आएको छ। कोही दोषी देखिए त्यसले राजीनामा दिए उन्मुक्ति पाउने परम्परा छ।

पाण्डे त पटकपटक कारबाहीमा परेका सैन्य अधिकृत हुन्। तर पनि अघिल्ला नेतृत्वले आँखा चिम्लिँदै आउँदा अहिले यो तहको अवस्था आएको हो। पाण्डेको उन्मुक्तिपछि जंगीअड्डातर्फ केही गम्भीर प्रश्न सोझिएका छन्, जंगीअड्डाले किन छानबिन नगरी पाण्डेलाई उन्मुक्ति दियो? किर्ते गरेका पाण्डेले सेनाभित्रको महत्त्वपूर्ण जिम्मेवारीमा रहँदा के-के गरे होलान्? चेन अफ कमान्डमा चल्नुपर्ने संगठनमा किन यति धेरै समस्या?

हुन त जंगीअड्डाले अहिले पनि दुई पटक कोर्ट मार्सल भइसकेका व्यक्ति सन्तोषबल्लभ पौडेलको बढुवा सिफारिस गरेको छ। उनीजस्तै दुई पटक कोर्टमार्सल भएका सुरेश बानियाँलगायत म्याद थप नभई अवकाश भएका छन्। कस्ता व्यक्तिलाई कहाँसम्म लैजान हुन्छ त्यो पनि ध्यान दिन आवश्यक देखिन्छ।  दुईदुई पटक गरको कारबाही बेवास्ता गरेर सेनाले सिफारिस गर्ने अनि रक्षा मन्त्रालयले सेनाले पठाएको फाइल सीधै सदर गर्दै जाने हो भने यस्ता समस्या  झनै बढ्ने देखिन्छ।

कारबाहीमा परेको व्यक्ति किन बढुवामा सिफारिस गरियो भन्ने प्रश्न पनि छ। रक्षा मन्त्रालयका सचिव किरणराज शर्माले यो विषयलाई गम्भीर रूपमा लिएका छन्। रक्षा सल्लाहकारका रुपमा रहेका पूर्व मुख्यसचिव शंकरदास बैरागी पनि यसमा संवेदनशील रहेको बताउँछन्। मुलुकको सुरक्षाको मियो सेनामा कुनै पनि प्रकारको दाग लागेको व्यक्ति हुन नहुने उनको अडान रहँदै आएको छ।

कुनै बेला थियो जंगीअड्डाले रक्षा मन्त्रालय चलाउँथ्यो तर अहिले त्यो अवस्था छैन। रक्षाले सबै अध्ययन गरेर मात्र मन्त्रिपरिषद्‌मा पठाउँछ। मन्त्रालयका एक अधिकारीले भने, ‘सेना भित्रै अध्ययन गरेर मात्र फाइल आएमा राम्रो हुने थियो।’

जानकारहरूका अनुसार पारदर्शी र अब्बल संगठनका रूपमा पहिचान बनाउँदै आएको नेपाली सेनाले ताराबहादुर पाण्डेलाई रथीमा बढुवा गर्न सन्दर्भमा उठेका गम्भीर प्रश्नको तत्काल जबाफ दिनुपर्नेछ। यसमा सबैभन्दा बढी भूमिका प्रधानसेनापति प्रभुराम शर्माको हुनुपर्छ।

पाण्डेले उमेर छानबिन हुने भन्नेबित्तिकै डराएर राजीनामा दिए। शर्माले छानबिन जारी राखेर सत्यतथ्य बाहिर ल्याउने गरी राजीनामा स्वीकृत गरिदिएको भए अझ राम्रो हुने थियो। पाण्डेल उमेरमा किर्ते नै गरेका थिए भने कारबाहीमा पठाएर नेपाली सेनाले आफूलाई अब्बल राख्न सक्ने थियो। पहिले नै यसरी छानबिन गरेर मात्र सिफारिस गर्ने गरेको भए समस्या हुने थिएन। त्यसैले यस प्रकरणमा संगठन र व्यक्ति दुवैको जिम्मेवारी बराबर छ।

बलाध्यक्ष रथी सरोजप्रताप राणा कात्तिक दोस्रो सातादेखि बिदामा बसे। उनी निवृत्त पनि भए। राणाले चार महिना थप जागिर खाना पाउने भए पनि रथीमा म्याद थप नभएपछि बिदामा बसेका थिए। उनी बिदामा बसेलगत्तै प्रधानसेनापति शर्माले पाण्डेलाई रथीमा बढुवा सिफारिसका लागि सूचना निकाले। अनि चीन भ्रमणमा गए। तर त्यही बीचमा पाण्डेले किर्ते गरेर उमेर सच्याएको विषय बाहिर आयो। जसमा अघिल्ला प्रधानसेनापति पूर्णचन्द्र थापाले आँखा चिम्लिएका थिए।

उपरथी पाण्डेको उमेर र शैक्षिक योग्यतासमेत नहेरीकन रथीमा बढुवा गर्न लागेको विषय विवादित बनेपछि पनि जंगीअड्डा चुपचाप थियो। सञ्चारमाध्यमले निरन्तर खबरदारी गरिरहे। राजनीतिक नेतृत्वमा एक किसिमको तरंग उत्पन्न भयो। जंगीअड्डा भने सकेसम्म पाण्डेलाई बढुवा गर्ने कसरतमा सक्रिय थियो। किनभने प्रधानसेनापति शर्मा विवादित छविका पाण्डेलाई रथीमा बढुवा सिफारिस गर्न तम्तयार थिए। उनले आफ्नो मातहतका कुरा सुने। सबैले सरकारी कागज आइसकेकाले समस्या नरहेको भन्दै शर्मा पाण्डेलाई रथीमा बढुवा गर्न तयार भए। तर शर्माले त्यो कागज किर्ते हो कि होइन भनेर ध्यान दिएनन्। उनलाई सैन्य संगठनभित्र टुँडिखेलको घाँससमेत बेचेर खान पल्केकाहरूले गुमराहमा राखे।

पाण्डेलाई रथी बनाएर प्रधानसेनापतिका लागि बाटो तय गर्न केही पूर्वप्रधानसेनापतिले पनि निकै पहलकदमी गरे। त्यसमा पनि घाँस बेचेर खाने समूह सक्रिय रहेको स्पष्ट भयो। यस प्रकरणले मुलुकको सेनाजस्तो संवेदनशील संगठनको नेतृत्वमा विवादित व्यक्तिलाई ल्याउन कतिसम्म चलखेल हुँदोरहेछ भन्ने पुष्टि गरिदिएको छ, त्यो पनि संगठन प्रमुख मात्रै होइन पूर्वप्रमुखसमेत मिलेर।

राष्ट्रपति कार्यालयका केही अधिकारी, उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काका आसेपासे, शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा उनको सल्लाहकार टिममा रहेर काम गरेका व्यक्तिहरूले पाण्डेलाई प्रधानसेनापतिको रोलक्रममा राख्न लबिङ गरेका थिए। त्यही समूहलाई भित्रको एक समूहले बढी चासो दिएकाले पनि यस्तो भएको हो। यही विषय सञ्चारमाध्यममा आएपछि रक्षामन्त्री खड्काले छानबिन गर्न निर्देशन दिएका थिए। मन्त्रालयका सचिव शर्मा पनि सेनामा दाग लगाउने पक्षमा थिएनन्। ।

अघिल्ला प्रधानसेनापति थापा सेनाभित्र अब कुनै पनि नक्कली प्रमाणपत्र भएका र उमेर सच्याएका व्यक्ति नरहेको भन्दै छाती फुलाएर अवकाश भएका थिए। थापा नेपाली सेनाका तिनै प्रधानसेनापति हुन् जो विवादास्पद प्रमाणपत्र देखाएर उपरथीसम्म बनेका रथी पाण्डेका विषयमा मौन थिए। अवकाश भएदेखि नै थापा पाण्डेलाई रथीमा बढुवा गर्ने पक्षमा भित्री रूपमा लागिपरेको उच्च सैन्य अधिकारीहरू बताउँछन्। यसका लागि थापाले सेनाभित्र आफ्ना समर्थकहरूको एउटा समूह खडा गरेका थिए। जंगीअड्डा उच्च स्रोतका अनुसार त्यो समूह प्रधानसेनापति शर्मालाई पाण्डेका पक्षमा एकोहोर ब्रिफिङ गर्दै आएको थियो।

त्यति मात्रै होइन, उनीहरू रोलक्रममा रहेका अन्य सैन्य अधिकृतका विषयमा भ्रामक प्रचार गर्दै हिँडेका थिए। एक सैन्य उच्च अधिकृत भन्छन्, ‘प्रधानसेनापति शर्मालाई सबै कोणबाट पाण्डे राम्रो र असल हो भन्ने पारिएको मात्र होइन, रोलक्रममा पाण्डेभन्दा पछाडि रहेका अशोक सिग्देलका विषयमा भ्रम छर्ने काम पनि भएको थियो।’

पाण्डेका विरुद्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र जुंगीअड्डामै परेको उजुरीका विषयमा पनि सैनिक नेतृत्वले चासो दिएन। सेनाका ती उच्च अधिकृत भन्छन्, ‘पाण्डेका पक्षमा टाँगा तान्ने घोडा हिँड्ने शैलीमै प्रस्तुत भयो सेनाको नेतृत्व। पाण्डेले उमेर सच्याएको ढड्डा विवरण सार्वजनिक हुँदा पनि जंगीअड्डाको नेतृत्व विवाद निरुपण भइसकेको भनिरहेको थियो।’

रथी सीताराम खड्काले यस विषयमा खुलेरै विरोध गरे। उनले पाण्डेको बढुवा सिफारिसमा हस्ताक्षर नगर्ने अडान लिए। पाण्डेको उमेर विवाद छानबिनमा जानुपर्ने जोडबल उनको थियो। यस विषयमा प्रधानसेनापति शर्मा र रथी खड्काबीच मतभेद भएको ती सैन्य अधिकृतले जानकारी दिए।

ती उच्च अधिकृतका अनुसार रक्षा मन्त्रालयका सचिव किरणराज शर्माले पाण्डेको बढुवा गर्ने विषयमा सेनाभित्र परेको उजुरी र अख्तियार दुरुपयोग अनुसन्धानबाट छानबिनका लागि आएको पत्रका विषयलाई गम्भीर रूपमा लिनुपर्ने अडानपछि प्रधानसेनापति शर्मा हच्किएका हुन्। ती उच्च अधिकृतले भने, ‘प्रधानसेनापति शर्मालाई कुनै प्रलोभन वा अलमलमा पारेर निर्णय लिन खोजिएको थियो तर त्यो सबै बाहिर आएपछि छानबिन समिति बनेको हो।’ बलाधिकृत रथी खड्काको नेतृत्वमा छानबिन समिति गठन भयो।

छानबिन गर्दा बदमासी देखिएमा पाण्डे कारबाहीको भागीदार बन्थे। उनीमाथि कारबाही भएको भए आउँदा दिनमा उमेर र शैक्षिक योग्यतामा छलछाम गर्ने हिम्मत कसैले गर्ने थिएन। विकसित मुलुकमा यस्तो विषयलाई गम्भीर अपराधका रूपमा लिइन्छ। अमेरिकाले शैक्षिक योग्यताको प्रमाणपत्र गलत वा नक्कली पुष्टि भएपछि उसले पाएका सबै सेवासुविधा फिर्ता लिन्छ। सम्मान र मानपदवी खोस्छ।

नेपाली सेना पारदर्शी छ भन्ने प्रमाणित गर्न पनि पाण्डेमाथि छानबिन गरेर वास्तविकता बाहिर ल्याउनुपर्छ। बदमासी गर्ने व्यक्तिलाई राज्य कोषबाट उपलब्ध गराइने सेवासुविधा दिनु हुँदैन। दोषी प्रमाणित भएमा अहिलेसम्म आर्जन गरेको सम्पत्तिसमेत छानबिन गर्नुपर्छ। किनभने पाण्डेले त राजीनामा दिएर आफू गलत रहेको पुष्टि गरिसकेका छन्।

यस्ता विषयमा रक्षामन्त्री निर्मम बन्नुपर्ने देखिन्छ। अनिमात्र आगामी दिनमा जंगीअड्डाबाट पूर्ण रूपमा छानबिन गरेर फाइल आउने रक्षा मन्त्रालयका अधिकारीहरु बताउँछन्। पाण्डेको राजीनामापछि अशोक सिग्देल वरिष्ठ उपरथी भएका छन्। अब प्रधानसेनापति शर्माले खाली भएको स्थानका लागि सूचना निकाल्दा सिग्देल सिफारिस हुनेछन्। यसपटक भने उनले आफैँले अध्ययन गरेर पठाउने सोच बनाएका छन्।

नेपाली सेनाका प्रवक्ता एवं सहायक रथी कृष्णप्रसाद भण्डारी भन्छन्, ‘उपरथी पाण्डेले राजीनामा दिइसक्नुभएको कारण अब रथीमा बढुवाका लागि पुरानै प्रक्रियाअनुसार सूचना निकालिनेछ। त्यसमा वरिष्ठतम उपरथी सिग्देल सर हुनुहन्छ।’

सैनिक सेवा नियमावलीअनुसार नेपाली सेनामा वरिष्ठ उपरथीलाई रथीमा सिफारिस गर्ने चलन छ। वरिष्ठतम रहेका मध्येबाट नयाँ नेतृत्व तय हुनेछ। सेनामा मिचेरभन्दा पनि पहिले  मिलाएर ल्याउने गरेको देखिन्छ। यसपटक मिलाएर ल्याएको व्यक्ति गलत परेपछि नयाँले मौका पाउन लागेका हुन्।

प्रधानसेनापति शर्माको तीनबर्से कार्यकाल आगामी भदौ २४ मा सकिनेछ। अहिले रथीमा बढुवा हुने वरिष्ठ सैनिक अधिकृतबाटै प्रधानसेनापति  तय हुने भएकाले पनि उपरथी सिग्देललाई रोक्ने प्रयास भइरहेको छ। सिग्देललाई बढुवा हुन नदिन पाण्डेका केही मानिस सक्रिय रूपमा  लागेको अधिकारीहरू बताउँछन्।

प्रकाशित: ३ मंसिर २०८० १९:१५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + 10 =