उपाधिका लागि भारतले अस्ट्रेलियालाई दियो २४१ रनको लक्ष्य

हिमाल प्रेस ३ मंसिर २०८० १८:४७
12
SHARES
उपाधिका लागि भारतले अस्ट्रेलियालाई दियो २४१ रनको लक्ष्य

काठमाडौँ- घरेलु टोली भारतले अस्ट्रेलियालाई एकदिवसीय विश्वकप २०२३ को उपाधि जित्न २४१ रनको लक्ष्य प्रस्तुत गरेको छ।  अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय रंगशालामा जारी फाइनलमा भारत र अस्ट्रेलियाबीच प्रतिस्पर्धा भइरहेको छ।

टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा अल आउट हुँदै २४० रन बनाएको हो। भारतले १०.२ ओभरमा तीन विकेट गुमाएर ८१ रन जोड्दा शुभमन गील, कप्तान रोहित शर्मा र पछिल्लो खेलमा शतक बनाएका श्रयेस ऐयरलाई गुमाएको थियो। रोहितले चार चौका र तीन छक्काको मद्धतमा ४७ रन बनाउँदा गील र ऐयरले समान चार रन मात्र जोड्न सके।

तेस्रो नम्बरमा आएका विराट कोहली र पाचौं नम्बरमा आएका के एल राहुलले पारी सम्हाले। जारी विश्वकपमा उत्कृष्ट लयमा रहेका कोहलीले ६३ बलमा चार चौकाको मद्धतमा ५४ रनको अर्धशतकीय पारी खेले। उनी कप्तान प्याट कमिन्सको शिकार बनेका थिए।

उता १०७ रनमा एक चौका प्रहार गरेका राहुलले पनि ६६ रनको अर्धशतकीय पारी खेले। राहुल मिचेल स्टार्कको बलमा जोश इङ्लिशबाट क्याच आउट भए। यसबाहेक सुर्यकुमार यादवले १८ रन बनाउँदा कुल्दीप यादवले १० रन जोडे। अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन्।

अस्ट्रेलियाका लागि मिचेल स्टार्कले सर्वाधिक ३ विकेट लिए। जश हेजलउड र कप्तान प्याट कमिन्सले समान दुई विकेट लिँदा ग्लेन म्याक्सवेल र एडम जाम्पाले एक–एक विकेट लिए। दुई टोली दोस्रो पटक फाइनलमा प्रतिस्पर्धा गरिरहेका छन्। सन् २००३ मा दुईबीच फाइलनमा भिडन्त भएको थियो। अस्ट्रेलिया एक सय २५ रनले विजयी भएको थियो।

एकदिवसीय विश्वकपमा भारत चौथो र अस्ट्रेलिया आठौं पटक फाइनल खेलिरहेका छन्। यसअघि भारत सन् १९८३, २००३ र २०११ मा फाइनल खेलेको थियो। आठौं पटक फाइनलमा स्थान बनाएको अस्ट्रेलियाले सात मध्ये पाँच फाइनल जितेको छ।

अस्ट्रेलिया पछिल्लो २७ वर्ष फाइनलमा पराजित भएको छैन। २४ वर्षमा पछिल्लो चार फाइनल जितेको छ। सन् १९९६ मा पछिल्लो पटक श्रीलंकासँग फाइनलमा पराजित भएको थियो।

दुईबीच पछिल्लो भेट चेन्नईमा भएको थियो। लिग चरणमा भारत ६ विकेटले विजयी भयो। अस्ट्रेलिया र भारतबीच हालसम्म एक सय ५० खेल भएका छन्। जसमा बढी अस्ट्रेलियाले ८३ र भारतले ५७ खेल जितेको छ। १० खेल अनिर्णित बनेका छन्।

प्रकाशित: ३ मंसिर २०८० १८:४७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − three =