खरानीको भुतभुतेमा कम्युनिस्ट आन्दोलन

माधवप्रसाद नेपाल २ मंसिर २०८० १३:३४
334
SHARES
खरानीको भुतभुतेमा कम्युनिस्ट आन्दोलन

केशव दाहाल कुनै बेला वामपन्थी राजनीतिक दलको पूर्णकालीन सदस्य थिए। अहिले उनको पहिचान लेखकका रूपमा ज्यादा छ। समसामयिक सामाजिक/राजनीतिक विषयमा कलम चलाउन थालेपछि उनलाई धेरैले स्तम्भकारका रूपमा चिन्न थालेका हुन्। राजनीतिक एवम् सामाजिक अभियानमा पनि संलग्न दाहालका अनगिन्ती फुटकर सामग्रीका साथै तीनवटा ग्रन्थ प्रकाशित छन्।

‘नेपाली राजनीतिको पुनर्गठन’ (२०७३) दाहालको पहिलो गैरआख्यानात्मक कृति हो। ‘मोक्षभूमि’ (२०७७) उपन्यास हो। पछिल्लो पुस्तक ‘माधवी ओ माधवी’ (२०७९)  चाहिँ निबन्धसङ्ग्रह हो। माधवी मदनमणि दीक्षितको उपन्यास ‘माधवी’ की प्रमुख नारी पात्र हुन्। तिनै नारीलाई निम्न आदरार्थी शब्द ‘ओ’ ले सम्बोधन गरी ‘माधवी ओ माधवी’ कृतिको शीर्षक राखिएको छ।

‘माधवी ओ माधवी’ मा समाज, राजनीति, भ्रमण, प्रेम र संस्कृतिसँग सम्बन्धित २३ वटा निबन्ध छन्। नौवटा निबन्ध नेपालभूमिभन्दा बाहिर भ्रमण गरी रचना गरिएका हुन्। जस्तै : मानव बधशाला (कम्बोडिया), नक्सलबाडीका नक्सलाइट (भारत), मार्क्सका तीन अवतार (जर्मनी), इबेलाको उडान (किर्गिस्तान), चिहानबाट (भारत), चार झड्का (अफ्रिका), कति टाढा छ अमेरिका? (अमेरिका), बिहारको बालुवा (भारत), सुन्दर मन (भारत)। दाहालले यी रचनामार्फत आफूले टेकेको भूगोल र परिवेशलाई सुगन्धित रूपमा लिपिबद्ध गरेका छन्।

दुईवटा निबन्ध स्वदेश भ्रमणसँग सम्बन्धित छन्। जस्तै : बादलमाथिको देशमा (सभापोखरी यात्रा) र प्यारी जलजला (काठमाडौँ : झापा यात्रा)। पहिलोमा दाहाल उच्च पहाडी क्षेत्रको प्रकृतिसँग एकाकार भएर प्रस्तुत भएका छन्। अर्कोचाहिँ काठमाडौँदेखि झापा यात्रा र त्यहाँ केही भूगोल समेटिएको यात्रा निबन्ध हो।

राजनीतिको र, किन रिसाउँछ उल्लु मुसहर? बदनाम बन्द, चुनावको खेती, कमरेडको खैरो श्रीपेच, देश अर्थात् प्रश्नहरू राजनीतिसँग सम्बन्धित निबन्ध हुन्। ईश्वरको पतन, मृत्युको कथा, पहिलो किताब, जीवनको रङ, राधे राधे, माधवी ओ माधवी समाज, संस्कृति, जीवनशैली, अनुभूति र प्रेमसँग सम्बन्धित छन्।

यहाँ मानव बधशाला, नक्सलबाडीका नक्सलाइटहरू, मार्क्सका तीन अवतार, इबेलाको उडान, चिहानबाट, राजनीतिको ‘र’, किन रिसाउँछ उल्लु मुसहर?, जीवनको रङ, बिहारको बालुवा, बदनाम बन्द, चुनावको खेती, कमरेडको खैरो श्रीपेच गरी १३ वटा निबन्धले उठान गरेका विषयवस्तुबारे सङ्क्षिप्त चर्चा गरिएको छ। अन्य १० निबन्धमा पनि दाहालको राजनीतिक चेतनाको अभिव्यक्ति मुखर नभएको होइन। यद्यपि ती रचना वामपन्थी राजनीतिभन्दा अन्य विषयमा बढी केन्द्रित भएकाले यहाँ समेटिएको छैन।

सुरु गरौँ, दाहाल कम्युनिस्ट राजनीतिमा झुकाव राख्दाका ती दिनहरूबाट। दाहाललाई २०३९ सालमा अनेरास्ववियुको जिल्ला सम्मेलनमा सहभागी हुँदा साथीहरूले कमरेड भनेर सम्बोधन गरेछन्। यो शब्द उनलाई असाध्यै मन परेछ। त्यसैले उनलाई कमरेडहरूको सपनाको कथा कस्तो होला भन्ने खुलदुली बढेछ। यसपछि उनी विश्व कम्युनिस्ट आन्दोलनको गहिराइतर्फ प्रवेश गर्छन्।

सन् १८४८ मा कम्युनिस्ट पार्टीको घोषणापत्र लेख्दाको इतिहास र परिकल्पनामा दाहालले निकै कलात्मक रूपमा प्रस्तुत गरेका छन्। अनि दाहालले कम्युनिस्ट आन्दोलनमा देखिएका दुर्भाग्यका पोकाहरूका पत्रपत्र खोतलेका छन्। कम्युनिस्ट पार्टीको घोषणापत्र लेखिएपछि भोकाहरूको विद्रोहको युग कसरी सुरु भयो? फ्रान्स, जर्मनी, अस्ट्रिया, इटालीलगायत देशमा मजदुर आन्दोलन कसरी नयाँ उचाइ प्राप्त गर्‍यो? विश्वमा कमरेडहरूको युगको थालनी कहिले भयो? भोल्गा र राइन नदी तर्दै सहारा मरुभूमिका पत्रपत्र छिचोल्दै र एमेजोनका घनघोर झाडी पार गर्दै कमरेडहरू कसरी सगरमाथाको काखसम्म फैलिए भन्ने यथार्थ बुझ्न पुस्तक निकै उपयोगी छ।

सन् १९१७ मा सोभियत क्रान्ति सम्पन्न भएपछि भनिँदै आएको छ, विश्व कम्युनिस्ट आन्दोलनको शिखर यात्रा सुरु भयो। यहाँनेर दाहालको विमति छ। उनी लेख्छन्, त्यसपछि मार्क्सवादी समाजवादमा दुर्भाग्यहरू देखापर्‍यो। लाल अराजकता फैलियो। समाजवादमा झुप्रो हरायो, दरबार, श्रीपेच र सिंहासनमा परिणत भयो। दाहाल अनुसार नेपालका वामपन्थीहरूमा पनि यसको झिल्का उहिल्यै प्रवेश गरेको हो। त्यसैले त यहाँका विचारशून्य कामरेडहरू कुनै अट्टालिकामा बसेर अन्तर्राष्ट्रिय गीत गाइरहेका छन्। र, यता सडकमा भोका मान्छेहरूको जुलुस समाजवादको शोक धुन बजाइरहेको छ।

सुकुमबासी बस्तीको मुसहर जो ३० वर्षदेखि कमरेडहरूको जुलुसमा नारा लगाउँदलगाउँदै गुमनाम छ। काठमाडौँको चिसो पेटीमा माग्न बस्ने एक दुःखी महिला भोकै छिन्। क्रान्तिमा लडेको युवक र हडतालमा हिँडेकी युवती अरबको बालुवामा सुन खौज्दैछन्। यो समकालीन नेपाली समाजले भोग्दै आएको यथार्थ हो जति बेला प्रधानमन्त्रीको कुर्सीमा तिनै जनतालाई क्रान्ति र परिवर्तनको सपना देखाएर सत्तामा पुगेका पुष्पकमल दाहाल  देशको कार्यकारी प्रमुख छन्।

सात दशकको इतिहास बोकेको नेपाली कम्युनिस्ट आन्दोलन मात्रै होइन, विश्व कम्युनिस्ट आन्दोलनका आदर्शहरूले आफूलाई कसरी भत्काए त? त्यसबारे बुझ्न मार्क्स, लेनिन र पोलपोटबारे केही बुझ्नैपर्छ।

सुरु गरौँ कार्ल मार्क्सबाट। जर्मन दार्शनिक मार्क्सलाई धेरैले आफ्नो आदर्श मान्छन्। नेपाललगायतका केही मुलुकका वामपन्थी दलहरूका उनका भक्त हुन्। दलहरूले उनको सिद्धान्तमा टेकेर नेपाली जनतालाई अनेक आश्वासन बाँडेको सात दशक भइसकेको छ। राजनीतिमा मात्रै होइन कलासाहित्यका विभिन्न विधामा मार्क्सलाई केन्द्रमा राखेर विश्वविद्यालयमा धेरै शोधअनुसन्धान भएका छन्। सर्वहारा वर्गका लागि मुक्ति भन्दै मार्क्सका भक्तहरू अझै पनि उनको गुणगान गाइरहेका छन्।

दाहाललाई पनि कुनै बेला मार्क्स प्रेरक व्यक्तित्व, आदर्श, शिक्षक, पथप्रदर्शक र संसारकै उत्कृष्ट मान्छे लाग्थे। जर्मनी पुगेपछि उनको त्यो विश्वास विपरीत दिशातर्फ मोडिन पुग्छ। किनभने पुँजीवादका घोर विरोधी मार्क्सलाई त पुँजीवादले नै बेचिरहेको रहेछ। मार्क्स जन्मभूमिमा पुगेपछि कम्युनिस्ट पार्टीहरू व्यक्तिवादको चरम विकृतिमा फसेको दाहालले बुझेका छन्।

विश्व कम्युनिस्ट आन्दोलनका भीआई लेनिन, स्टालिन, माओत्सेतुङ, किम इल सङ, हो ची मिह्न, फिडेल क्यास्ट्रो आदिले मार्क्सवादलाई उग्र, तीव्र र बलपूर्वक राजनीति र राज्य सत्तामा स्थापित गरेका हुन्। तर अहिले आइपुग्दा यस्तो प्रवृत्ति सर्वहारा अतिवाद, कम्युनिस्ट सर्वसत्तावाद र शक्तिको केन्द्रीकरण हुँदै व्यक्तिवादतर्फ अगाडि बढेको दाहालले उल्लेख गरेका छन्। त्यसैले त मार्क्सले भनेजस्तो समाज स्थापना नै नभई मार्क्सवाद इतिहासको एउटा कुनामा थन्किन पुगेको छ।

दाहाल लेख्छन्, ‘मार्क्सपछिका दुई सय वर्ष यसरी नै सकिए। लेनिनपछिका डेढ सय वर्ष पनि गफगाफमै सकिए। तर पनि मार्क्सले भनेजस्तो आदर्श समाज स्थापना हुन सकेन।’ किन यस्तो भयो त? वामपन्थ र मार्क्सवादका अनुयायीहरूले बुझ्नुपर्ने गुढ कुरा त्यहीँ वर्णन गरिएको छ। त्यहाँ दाहालले मान्छेलाई ईश्वर हुनबाट बचाउने र मार्क्सवादलाई सत्ताधारी कम्युनिस्टबाट जोगाउने सूत्र प्रस्तुत गरेका छन्।

अर्को सन्दर्भ छ, लेनिनको देशमा टेक्दाको। दाहाल पूर्वसभोभियत भूमि किर्गिस्तान पुगेका छन्। त्यहाँ उनले लेनिनका सपना, किर्गिस्तानका विगत र वर्तमानका अनेक आयाम पर्गेलेका छन्। किर्गिस्तानमा मनग्गे भोड्का, भेडा र घोडा छन्। विकास निर्माणका संरचना बनिरहेका छन्। तर लेनिन छैनन्। मार्क्सको दर्शन र वर्गसंघर्षका दस्ताबेज उहिल्यै सङ्ग्रहालयमा थन्किइसकेको त्यहाँका युवा पुस्ताले बताउँदो रहेछ।

सन् १९९० अघि किर्गिस्तानका युवा असल कमरेड बन्ने सपना देख्थे। उनीहरूलाई कम्युनिस्ट पार्टीप्रति बडो श्रद्धा हुन्थ्यो। अचेलका युवा पैसा, उत्पादन र मस्तीमा रमाइरहेका छन्। सामूहिक सपना र समाजका विषयमा सोच्नुभन्दा युवाहरू व्यक्तिगत स्वतन्त्रता र शान्त जीवनको सपना देख्न थालेका छन्। तीन दशकअघि विघटन भएको समाजवादी देशका युवा आज कसरी सोच्दैछन् भन्ने मूल प्रश्नमा आधारित रहेर दाहालले लेनिनहरू कसरी इतिहासको गर्तमा पुगे भन्ने विषयको चिरफार गरेका छन्।

सोभियत संघमा स्टालिन युग आएपछि स्थिति झन् खराब बन्यो। कामरेडहरू प्रतिरोधको सिकार भए। पाँच लाखको त हत्या भयो। पार्टी बैठक बस्न छाड्यो। स्टालिनको क्रूरताबाट दिक्क भएर उनकी पत्नीले आत्महत्या गरेकी थिइन्। विश्वका अनेक देशमा कमरेडहरूको सत्तारोहण भए पनि भुइँमान्छेको अनुहारमा लाली नचढेको सन्दर्भलाई दाहालले सोदाहरण प्रस्तुत गरेका छन्।

व्यक्ति हत्याकै चर्चा गर्दा पोलपोट अग्रपंक्तिमा आउँछन्।  कम्बोडियाका पूर्वतानाशाह पोलपोटलाई वामपन्थीहरूले त्रिकालदर्शी भन्दै उच्च प्रशंसा गर्छन्। कतिपयले चाहिँ हत्यारा पनि भनेका छन्। अनि केहीले त्यसको प्रतिरोध गरेको पाइन्छ। कम्युनिस्ट गुरुबाट प्रशिक्षित दाहाललाई कुनै बेला पोलपोट महान् मान्छे लाग्दो रहेछ। कम्युनिस्ट पार्टीको एउटा प्रशिक्षणमा उनले सुनेका रहेछन्, ‘अनिकालमा माओ पुराना छालाका जुत्ता उमालेर सुप पिउँथे। भियतनाम युद्धमा काका हो ची मिन्हले एक्लै हजार अमेरिकीलाई ढालेका थिए। पोलपोट त झन् त्रिकालदर्शी थिए। उनी गाउँमा बस्थे र सहरका बुर्जुवाहरूको सातो लिन्थे।’ लाल खमेरको महिमागान सुनेका दाहाललाई उनीबारे नजिकबाट बुझ्ने उत्कट अभिलाषा रहेछ। एकपटक उनी कम्बोडिया पुग्छन्। पोलपोटबारे अध्ययन गर्छन्। अनि पोलपोटबारेको महिमागान रसातलमा पुगेको अनुभूति गर्छन्। किनभने त्यहाँ  दाहालले पोलपोटलाई श्रद्धा गर्ने एकजना पनि भेटेनन्।

भेटून् पनि कसरी? पोलपोटले आफ्नो शासनकालको चार वर्ष (सन् १९७५-१९७९) मा गरिब, रोगी, बालबालिका, किसान, कवि, कलाकार, सर्वसाधारण गरी २० लाखभन्दा बढीको नरसंहार गरेर बर्बरता देखाएका थिए। त्यसको घाउ कम्बोडियाली जनतामा ताजै रहेछ। समृद्ध किसान परिवारमा जन्मिएर पेरिस विश्वविद्यालयबाट उच्चशिक्षा हासिल गरेका पोलपोटले कम्बोडियालाई एकदलीय कम्युनिस्ट समाजवादी राज्यमा रूपान्तरण गरेका थिए।

मस्तिष्क हल्लाउने कुरा त मानिस कसरी मारिन्थे भन्ने प्रसंगमा छ। दाहाल लेख्छन्, ‘…उनीहरूको कसुर के हो कसैलाई थाहा हुँदैनथ्यो। उनीहरूलाई बन्चरो, खुर्पा, झम्पल वा घनले हानेर मारिन्थ्यो। दिनभर लगातार मार्दा पनि सकिँदैनथ्यो र बाँकीलाई अर्को दिन मार्न राखिन्थ्यो।’ उनका अनुसार त्यो सङ्ग्रहालय इतिहासको त्यस्तो घाउ हो, जसको खाटा बसेको छैन र मानव सभ्यतालाई तर्साइरहेको छ।

दाहाल यसपछि आउँछन् नेपाली कम्युनिस्टहरूले अर्को आदर्श मानेको नक्सलवादी आन्दोलनतर्फ। झापा विद्रोहलाई नेपाली कम्युनिस्ट आन्दोलनको मानक मान्नेहरू धेरै छन्। त्यो विद्रोहमा स‌ंलग्न भएका नेताहरूको त्यही नक्सलवादीबाट प्रभावित थिए। नक्सलवादी तत्कालीन नेकपा मालेलाई मात्रै होइन, दक्षिण एसियाका सम्पूर्ण ग्रामीण किसान विद्रोहलाई ऊर्जा दिएको थियो।

दाहालको ग्रन्थमा चार दशकअघिसम्म लालविद्रोहीको केन्द्र रहेको नक्सलबादीको सूत्रपात, उत्कर्ष र पतनको कथा पढ्न पाइन्छ। चारु मजुमदारले रोपेको विद्रोहको आगो अहिले निभ्दैछ। कसरी त?

नक्सलबाडी मेचीपारिको सानो गाउँको साधारण किसान बस्ती हो। सन् १९७० सम्म त्यो गाउँ क्रान्तिका लागि आगोजस्तो तातो र रातो थियो। पाँच दशक बित्दा त्यहाँको कम्युनिस्ट आन्दोलन कसरी खरानीभित्रको भुतभुतेमा परिणत भयो भन्ने कारणसहितको चर्चा दाहालले वर्णन गरेका छन्। चारु आफ्ना सहकर्मी कानु सन्याल र सुरेन बोससँग मिलेर भारतीय कम्युनिस्ट आन्दोलनलाई उचाइतर्फ लग्दै थिए। नक्सललाई किसान विद्रोहका लागि उर्वर भूमिमा रूपान्तरण गर्ने उनीहरूको लक्ष्य थियो।

नक्सलवादीकै नाममा पाँच हजारभन्दा धेरै कम्युनिस्ट विद्रोहीको हत्या भयो। चारु भारतीय कम्युनिस्ट पार्टीका नेता बने। नेपाल र भारतका मात्रै होइन, एसियाली किसान विद्रोहको प्रेरणाका स्रोत उनी अहिले गुमनाम छन्। उनी नेतृत्वको दल १७ भन्दा बढी टुक्रामा विभाजन भयो। चारु ५३ वर्षको उमेरमा पक्राउ परे। यातनाबाट उनको मृत्यु भयो। चरम निराशामा पुगेर कानु सन्यालले आत्महत्या गरे। सन् १९५३ बाट सुरु भएर स्थापित हुन लागेको कम्युनिस्ट पार्टी र आन्दोलनले १९७४ मा पुग्दा कसरी पतन बाटो रोज्यो भन्ने नालीबेली दाहालले प्रस्तुत गरेका छन्।

कम्युनिस्ट पार्टीले विद्रोहको सानो स्वरलाई क्रान्तिको झिल्को ठान्छ। त्यसलाई विद्रोहको बीजका रूपमा लिएर विपन्न र किसान अघि सारेर आन्दोलनको यात्रा थाल्छ। तर नक्सलमा सफल भएन। त्यसैले दाहालको लेख्छन्, ‘असफलताबाट सिक्न चाहने कम्युनिस्टका लागि नक्सलवादी खुला विश्वविद्यालय हो।’ पश्चिम बंगालको वाम विद्रोह सरकारी वामपन्थी दलहरूबाट बदनाम भएको यथार्थ दाहालको लेखनीमा पाइन्छ।

यसपछि दाहाल केन्द्रित हुन्छन्, वामपन्थी दलका एकजना पूर्व शीर्ष नेताको राजनीतिक चरित्रतर्फ। यस क्रममा उनले वैकल्पिक राजनीतिको औचित्यमाथि प्रकाश पारेका छन्। उनले पुरानाभन्दा नितान्त फरक विचार, संगठन शैली, संस्कृति, जीवनपद्धति र कार्यादेशसहितको राजनीतिलाई वैकल्पिक राजनीतिक शक्तिका रूपमा लिएका छन्। त्यसमा जोडेका छन् माओवादी जनयुद्धका एक प्रमुख सूत्राधार एवम् पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलाई। भट्टराई २०७२ मा नयाँ संविधान जारी भएपछि माओवादी पार्टीक औचित्य सकिएको भन्दै अलग भएका थिए। त्यसपछि देखा परेको  भट्टराईको राजनीतिक र सांगठनिक चरित्रलाई दाहालले गहन अध्ययन गरेका छन्।

भट्टराई आफैँ वडा तहसम्म शक्तिशाली बन्न खोज्दा सामूहिक नेतृत्वको प्रस्ताव ओझेलमा परेको, उनी पूर्वमाओवादी घेराबाट बाहिर आउन नसकेको जस्ता कारणले नयाँ शक्ति ओरालो यात्रातर्फ लागेको दाहालको विश्लेषण छ।

भट्टराईको राजनीतिक उतारचढावको प्रसंग त्यतिमा मात्रै सीमित छैन। विहारी विपन्नमाथि बाबुरामले गरेको उपहास पनि पुस्तकमा पढ्न पाइन्छ। दाहालले विहारको भव्य सडक र कोशीमाथि बनेको महासेतुको वृत्तान्त अघि सार्ने क्रममा भट्टराईलाई समेटेका हुन्। विहारको भव्यताभित्रको गरिबी, नांगा केटाकेटी, भोक-रोग-अभाव र अपमानको विस्तृत विवरण छ। तिनै विपन्नमाथि शासन गरेका नीतीशकुमारको ढाँचालाई पूर्वप्रधानमन्त्री भट्टराईले कुनै बेला ‘नीतीशकुमारको मोडेल अवलम्बन गर्नुपर्छ’ भनेका थिए। दाहालले त्यहाँ पुगेर बल्ल बुझेछन्, भट्टराईले त नीतीशकुमार मोडेल भनेर विहारी जनतामाथि उपहास पो गरेका रहेछन्।

भारतबाट अङ्ग्रेज गयो। लोकतन्त्र आयो तर सर्वसाधारण उस्तै गरिबी र उस्तै अभावमा बाँचिरहेका छन्। उनीहरूमाथि शासन गर्ने लालु र नीतीश पनि उस्तै रहेको दाहालले लेखेका छन्। किनकि त्यहाँ पनि जनालाई भुलभुलैयामा पारेर लुटतन्त्र मच्चाउने क्रम जारी छ।

यसपछि दाहाल प्रवेश गर्छन् तराईको विपन्न बस्तीतर्फ। यस्तो बस्ती जहाँ राजनीतिक परिवर्तनले जीवनशैलीमा कुनै फेरबदल भएको छैन। उल्लु मुसहर पूर्वी तराईको एक विपन्न किसान हो। ऊ जन्मजात सुकुमबासी छ। उसले २०४८ सालदेखि २०६५ सम्म एमालेलाई भोट हाल्यो। २०६४ मा माओवादीलाई भोट हाल्यो। २०७४ मा आइपुग्दा ऊ दलहरूप्रति आक्रोशित भएको छ।

उसले भनेको छ, ‘म अबको चुनावमा कसैलाई पनि भोट हाल्दिनँ। सबका सब ठग छन् भातेहरू!’ उसको बुझाइमा सत्ता भनेको कांग्रेस, कम्युनिस्ट र माओवादी हो। यस्तै गरिबका लागि एमाले, कांग्रेस र माओवादी सबै उस्तै हुन्। उसका बाउको जीवन अर्काको हली बस्दैमा बितेको छ। ऊ पनि हली हो भने छोरा पनि हली हो। देशको राजनीतिक व्यवस्थाप्रति ऊ निकै आक्रोशित छ। उसले भनेको छ, ‘हामी गरिबलाई यो देशले न उभिन जमिन दिन्छ, न त काम गर्न जागिर। आफ्ना सन्तानको आफैँ मलामी जानुपर्ने देश हो यो। मलाई लाग्छ- देश भनेको धनीहरूको मौजा हो, गरिबका लागि मात्र चियानघारी।’

दाहालले मुसहरका तर्फबाट कमरेडहरू, वामपन्थीहरू, प्रजातन्त्रवादीहरू, काङ्ग्रेसहरूलाई व्यङ्ग्य गरेका छन्। प्रधानमन्त्री, मन्त्री, नेता, सत्ताका रक्षक, सेवक र चम्चाहरूप्रतिउनको कटाक्ष छ। उनले भनेका छन्, ‘सरकार र मदारी उस्तै, सत्ता र मदारी उस्तै, चटके र प्रधानमन्त्री उस्तै।’

विपन्न बस्तीलाई त राजनीतिले छोएन न नै। राजनीतिमा लागेर पार्टीका लागि जीवन बलिदान दिने पनि पार्टी सत्तामा पुगेका बेला देशबाटै बाहिरिनुपर्ने यथार्थको वर्णन पुस्तकमा पाइन्छ। दाहालले प्रसंग झिकेका छन्, ४२ सालमा कम्युनिस्ट पार्टीको सदस्यता लिएका एक युवकको। ती युवक माले, एमाले र माओवादी जनयुुद्धमा सहभागी हुन्छन्। प्रहरी आक्रमणमा पक्राउ पर्छन्। शान्तिप्रक्रियापछि छुटकारा पाउँछन्। पार्टी इन्चार्जले ५० लाख रुपैयाँ हिनामिना गरेको आरोप लगाएर उनलाई श्रमशिविरको सजाय दिइन्छ। अनि २०६३ सालपछि बल्ल स्वतन्त्र र नयाँ जीवनको थालनी गर्न पाएका रहेछन्। त्यसपछि उनी काम र मामको खोजी गर्दै दिल्लीको दरबानमा पुगेका रहेछन्।

देश र राजनीतिक व्यवस्था बदल्न हिंसाको राजनीतिमा लागेका ती युवक २०६३ यता पछुताउन पुगे। युवकले भनेका छन्, ‘हिजो भारतसँग भिड्न सुरुङ खनियो। आज भारतकै महाजनको घरलाई सुरक्षा दिएर बसिएको छ। जिन्दगी यस्तै रहेछ। कता हिँडेको मान्छे कता पो पुगियो।’ उनले जनयुद्धलाई भ्रम भनेका छन्। केही सीमित व्यक्तिले मात्रै युद्धबाट फाइदा लिए। उनी भन्छन्, ‘नेताहरूको झोली भरियो, हामी साना मान्छेहरू रित्तिएछौँ। त समाजवाद न साम्यवाद। हामीले त सपनाको पछाडि कुद्दाकुद्दै कसैका लागि जिन्दगी खनाइदिएछौँ।’ कम्युनिस्ट आन्दोलन, माओवादी जनयुद्धका सपना अनि परिवर्तनपछि एउटा युवकको निराशाको अभिव्यक्ति र पलायनले नेपाली वामपन्थको अराजनीतिक चरित्रलाई दाहालले उदांगो बनाइदिएका छन्।

‘जीवनको रङ’ निबन्धमा राजनीतिक परिवर्तनले छुन नसकेका तीन पात्र अघि सारेर नेपाली नेताहरूको वास्तविक चरित्र देखाइएको छ। यसमा दाहालले हामीले अवलम्बन गरेको राजनीतिको विकृतिमाथि प्रश्न उठाउँदै आक्रोश पोखेका छन्। उनको प्रश्न छ- एउटी युवती आफ्नो दूधमुखे बच्चासहित सडकमा आउन बाध्य हुन्छे कसरी? पटकपटक भएका लोकतान्त्रिक आन्दोलनहरूले मान्छेको भाग्य किन फेर्न सकेनन्?

जवान छोराको उपचार गर्न एउटा खसी, कानका टप र बुहारीका पाउजू बेचेर काठमाडौँ छिरेकी एउटी वृद्धा बिना उपचार गाउँ फर्कन लागेकी छन्। अस्पतालले खुट्टा काट्नुपर्छ भनेछ। खुट्टा काट्न निकै महँगो पर्ने भएपछि उनीहरू घर फर्कन बसभाडा माग्न बसेका रहेछन्। त्यो देखेपछि दाहालले प्रश्न गरेका छन्, उनीहरूले के अपराध गरे होलान्? यो नियति हो कि राजनीति? कस्तो राज्य हो यो? रोग, भोक, ऋण र अपहेलनाको औषधि के छ? के हाम्रो समाजवाद उन्मुख राज्यसँग मान्छेको भाग्य बदल्ने सामर्थ्य  छैन?

एउटा खरो कम्युनिस्ट कार्यकर्ता, जो माओवादी ‘जनयुद्ध’ को घाइते थियो। आफ्नै नेताको आश्वासनबाट सपरिवार काठमाडौँ आयो। नेता मन्त्री बन्यो, भेट दिएन। त्यो कार्यकर्तासँग भने डेराभाडा तिर्ने र नियमित चुलो जलाउने पैसा थिएन। एक वर्ष नहुँदै त्यो कामरेड राजधानीबाट गायब हुन्छ। दाहाल प्रश्न गर्छन्- भाग्यको ढोकामा भोटेताल्चा लागेको त्यो अभागी युवा कम्युनिस्ट आफ्ना परिवारलाई लिएर कता गयो होला? ती अबोध नानीहरूको पढ्ने रहर के भयो होला?

किशोरकालमा कम्युनिस्टहरू न्यायप्रेमी हुन्छन् र कांग्रेस लोकतान्त्रिक समाजवादी हो भन्ने सुनेर राजनीतिसँग नजिकिएका दाहाल यति बेला जिल्लिएका छन्, जति बेला दैनिक १५ सय युवा कामको खोजीमा बिदेसिन बाध्य छन्। दाहाल लेख्छन्, ‘लोकतन्त्रका अगुवाहरू परम्परागत शक्ति संरचनाको व्यूहमा अभिमन्यूजसरी फसेका छन्। तिनै मुठीभर मान्छेका लागि देश स्वर्ग छ। राजनीतिक परिवर्तनले दल र नेताहरूले जीवनको आनन्द उठाएका छन्। धेरैको आर्थिक हैसियत फेरिएको छ। समाजवाद त नेताहरूलाई आएको छ। तिनीहरूकै शक्ति उन्मादले लोकतन्त्र थिलथिलो भएको छ।’

अर्को सन्दर्भ छ माओवादी पार्टीले छरेको भ्रमबारे। माओवादी पार्टीले २०५० देखि २०७० सम्म सामन्तवाद, साम्राज्यवाद, समाजवाद, संविधानसभा, जनताको मुक्ति, संघीयता, आत्मनिर्णयको अधिकार, केन्द्रीकृत शासन, पहिचान, राष्ट्रिय स्वतन्त्रता, जनवाद र जीविकाजस्ता शब्द धेरै पटक प्रयोग गर्‍यो। अनेकपटक बन्दहडताल आयोजना गर्‍यो। तर उसको पछिल्लो व्यवहारले  भ्रमहरूको वैधताका लागि मात्रै यस्ता शब्दको प्रयोग गरेको दाहालको बुझाइ छ।

दाहालले चुनावलाई पनि भ्रम भनेका छन्। मान्छेबाहेक यस धर्तीमा चुनाव गर्ने अरू कुनै प्राणी होलान्? के भोट हाल्नु भनेको मान्छेले आफ्ना दुःखलाई राजनीतिक वैधता दिनु मात्र हो? कि हो शासकहरूको झुट, बेइमानी र सत्तालिप्साको स्वीकारोक्ति र अहङ्कारको अनुमोदन? यी तीन प्रश्न अघि सारेर दाहालले सुनसरी र काठमाडौँका चुनावको प्रचार रणनीति, प्रचारशैली, मतदाता शिक्षालाई संस्मरणका रूपमा उतारेका छन्।

दाहाल लेख्छन्, ‘हामी ठूलाठूला नारा लगाउँथ्यौँ। चीन, रुस र भियतनामको कुरा गर्थ्यौँ। अमेरिकालाई साम्राज्यवादी र पुँजीवादी देश भनेर आलोचना गथ्यौँ। अहिलेका कम्युनिस्टहरूलाई हेर्दा लाग्छ, हामी संसारकै सबैभन्दा ठूलो झुट बोलिरहेका थियौँ। उति बेला कम्युनिस्ट हुनु गर्व थियो, पार्टीहरू राजनीति गर्थे। अहिले कम्युनिस्ट हुनु भ्रम र लेनदेन रहेछ।’

उति बेला राजनीति सेवा, सिद्धान्त र निष्ठाको कुरा थियो अहिले राजनीति व्यापार र भ्रष्टाचार। उतिबेला लोकतन्त्र मुख्य कुरा थियो भने अहिले लोकतन्त्र दलतन्त्रमा र दलतन्त्र लुटतन्त्रमा परिणत भएको दाहालले उल्लेख गरेका छन्। काठमाडौँमा २००४ देखि २०७४ सम्म चौध पटक स्थानीय चुनाव भए पनि त्यसको परिणामले जनतालाई केही दिन नसकेको तथ्य यसमा पाइन्छ।

राजनीतिक टिप्पणी गर्दा दाहाल आफैँमाथि आलोचना गर्न पछि परेका छैनन्। संगठनको सीमाभित्र बस्न नसक्ने, केही हदसम्म अराजक, स्वार्थको भारी बोक्न नचाहने स्वभावका दाहाल लोकतन्त्रको मूल्यलाई सबैभन्दा ठूलो आदर्श ठान्छन्। उग्र कम्युनिस्ट, मध्यमार्गी कम्युनिस्ट हुँदै वैकल्पिक राजनीतिक धारतर्फ लागेका दाहालको स्वभावगत विशेषता कृतिमा झल्किएको छ। दाहालले आफू कम्युनिस्ट बन्दाका सपनाहरूको रोचक बयान गरेका छन्।

दाहाल कतै भावुक प्रेमीका रूपमा प्रकट हुन्छन् प्रेमपत्रजस्तै अभिव्यक्ति लिएर। कतै सच्चा कम्युनिस्टको आवरणमा देखापर्छन् परिवर्तनको शङ्खनाद गर्दै। कतै चञ्चले बालकजसरी प्रस्तुत भएका छन् अनेक प्रश्न अघि सारेर। अनि कतै राजनीतिक टिप्पणीकारका रूपमा प्रस्तुत हुन्छन् विश्लेषक बनेर।

दाहाल कम्युनिस्ट पार्टीप्रति निर्मम छन्। कम्युनिस्टहरूले नै मार्क्सलाई सबैभन्दा बढी बदनाम गरेको निष्कर्ष उनको छ। मार्क्सको देशका नागरिकले मार्क्सलाई चिन्दैनन्। लेनिनको देशमा वर्ग संघर्षका कुरा सङ्ग्रहालयमा थन्किएको छ। भारतीय कम्युनिस्टको एउटा  मूल हाँगो गुमनाम बनेको छ। अनि यता भने तिनै नेताको नाम भज्दै राजनीति गर्ने दलहरूको शैली दाहाललाई उदेकलाग्दो लाग्छ। त्यसैले त नेपालका माओवादी नेताहरूलाई उनले ‘युद्ध सरदार’ को विशेषण दिएका छन्।

कम्युनिस्ट आन्दोलनप्रति दाहालको लेखाइ वस्तुतथ्यमा आधारित छन्। किनभने उनी कुनै बेला कम्युनिस्ट पार्टीको कार्यकर्ता बनेर सांगठनिक मोर्चामा आबद्ध भएका योद्धा हुन्। उनलाई कम्युनिस्ट नेताहरूको बोली र व्यवहार भलिभाँती थाहा छ। अर्को कुरा उनका सबै निबन्ध सम्बन्धित परिवेश र भूगोलको अध्ययन भ्रमणपछि लेखिएका छन्।

पुस्तकमा कम्युनिस्टहरू कसरी दिशाहीन र भ्रष्टीकरण हुँदै पलायनको सम्मुखमा पुग्छन् भन्ने दृष्टान्त त छ नै कुनै बेला क्रान्तिकारी कम्युनिस्ट कार्यकर्ता क्रमशः किनारीकृत हुँदै कसरी अर्कै क्षेत्रमा संलग्न हुन पुग्छ भन्ने यथार्थको उत्तर पनि अभिव्यक्त छ। आफूलाई लागेका कुरा स्पष्ट रूपमा लेख्ने खुबी भएका दाहालको वाक्य गठन छोटा छन्। भाषा सरल छ। शैली कलात्मक छ। यथार्थलाई पनि कल्पनाको लेप लगाउन सिपालु दाहालको उक्त पुस्तक पढ्दा आख्यानमा डुबेजस्तो हुन्छ। विश्व कम्युनिस्ट आन्दोलनका विभिन्न सन्दर्भलाई आलोचनात्मक रूपमा प्रस्तुत गरिएको यो पुस्तक किताब पब्लिसर्सले प्रकाशित गरेको हो।

प्रकाशित: २ मंसिर २०८० १३:३४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − one =