दिवा खाजाले तान्यो विद्यार्थी

हिमाल प्रेस २ मंसिर २०८० ८:१३
250
SHARES
दिवा खाजाले तान्यो विद्यार्थी

बाजुरा- विद्यालयमा सञ्चालन गरिएको दिवा खाजा कार्यक्रम प्रभावकारी बनेको छ।

विद्यालयमा नियमित उपस्थित नहुने बालबालिकालाई सहभागी गराउँदै आएपछि पछिल्लो समय बाजुरामा दिवा खाजा कार्यक्रम प्रभावकारी बनेको हो।

बूढीनन्दा नगरपालिका–९ सिद्धेश्वरी आधारभूत विद्यालयका छात्र किरन रोकायाले विद्यालयमै खाजा मिल्न थालेपछि खाजा खान घर जानुपर्ने समस्या हटेको बताए।

उनी भन्छन्,‘घरमा खाजा खान गएका बेला विद्यालयमा आउँदा पढाइ छुट्ने गर्थ्यो। अहिले विद्यालयमै खाजा मिल्न थालेपछि सबै विषय राम्रोसँग पढ्न पाएको छु।’

विद्यालयमा सञ्चालन भएको यो दिवा खाजा कार्यक्रमले मजस्तै यहाँका अन्य बालवालिकालाई समेत नियमित विद्यालय आउन सहयोग गरेको रोकायाले बताए।

दिवा खाजा कार्यक्रम लागु नहुनुभन्दा पहिला यहाँका अधिकांश बालबालिका दिउँसो भोक लागेपछि पढाइ छाडेर नास्ताका लागि घरमा जानेगरेका थिए।

नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय तथा विश्व खाद्यान कार्यक्रमको आर्थिक सहयोगमा बाजुराका २३९ वटा विद्यालयमा यो दिवा खाजा कार्यक्रम सञ्चालन भएपछि अहिले बालबालिकाको त्यो समस्या हटेको छ।

विद्यालयमै मिठो र पोषिलो खाजा खान पाउने आशले पछिल्लो समय बालबालिका नियमित विद्यालयमा आउन थालेपछि विद्यार्थी संख्यामा समेत वृद्धि भएको बूढीनन्दा नगरपालिका –९ को सिद्धेश्वरी आधारभूत विद्यालयका शिक्षक तुलाबहादुर रावतले बताए।

‘विद्यालयमा सञ्चालन भएको यो दिवाखाजा कार्यक्रमले यती बेला स-साना बालबालिकालाई समेत विद्यालयमा आउन निकै उत्प्रेरित गर्दै आएपछि विद्यालयमा बालबालिकाको संख्या वृद्धि भएको हो,’ उनले भने।

यो कार्यक्रम सञ्चालन नहुनुभन्दा पहिला यहाँका अधिकांश बालबालिका घरमै बस्नेगरेका थिए ।

पालिकाले प्रतिबालवालिकालाई १५ रुपैयाँका दरले रकम दिन्छ। त्यो रकमले विद्यालयले बालवालिकाहरुलाई विष्कुट, मासु चिउरा र फलफुल खुवाउने गर्दछन्।

बाजुराका ७ वटा स्थानीय निकायका झन्डै १३८ विद्यालयमा विश्व खाद्यान कार्यक्रम र दुई वटामा स्थानीय निकायका झण्डै १०१ विद्यालयमा नेपाल सरकारको शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको आर्थिक सहयोगबाट दिवा खाजा कार्यक्रम सुरु भएको छ। गोरखापत्र दैनिकबाट

प्रकाशित: २ मंसिर २०८० ८:१३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 4 =