माओवादी नेता बर्तौलामाथि खुकुरी प्रहार गरेको आरोपमा तीनजना पक्राउ

हिमाल प्रेस १ मंसिर २०८० १६:३८
246
SHARES
माओवादी नेता बर्तौलामाथि खुकुरी प्रहार गरेको आरोपमा तीनजना पक्राउ

काठमाडौँ– नेकपा माओवादी केन्द्रका बागमती प्रदेश कमिटी सदस्य जनक बर्तौलामाथि खुकुरी प्रहार आरोपमा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार ज्यान मार्ने उद्योग कसुरमा इलामको पशुपतिनगर क्षेत्रबाट तीनजनालाई पक्राउ गरिएको हो।

बाँकेको कोहलपुर नगरपालिका–१० का २४ वर्षीय शेरबहादुर थारू, झापा मेचीनगर नगरपालिका–८ मेचेका ३४ वर्षीय कैलाश भन्ने टेकबहादुर प्रधान र कोहलपुर नगरपालिका–१ कौशीला बस्ने २६ वर्षीय आशिष लामिछाने मगरलाई प्रहरीले पक्राउ गरिएको परिसरले जनाएको छ।

गत कात्तिक २२ गते काठमाडौँ महानगरपालिका–१० बानेश्वरस्थित आई प्‍लेक्स मलनजिकै बर्तौलामाथि दुई जना व्यक्तिहरूले खुकुरी प्रहार गरी फरार भएका थिए। अनुसन्धानको क्रममा प्रहरीले उनीहरूको पहिचान, पीडितबाट सूचना संकलन र विभिन्न विधि र पद्धतिको प्रयोग गरिएको परिसरले जनाएको छ।

परिसरको भनाइमा बर्तौलामाथि सांघातिक आक्रमण गर्न तीन महिना अघिदेखि नै योजना बनेको खुलेको छ। बर्तौलाको दैनिक गतिविधिमाथि उनीहरूले निगरानी गरेका थिए। आक्रमणपछि दुवै जना भागेका थिए। शेरबहादुरले करिब पाँच सय मिटर पश्चिम भागेर एक घरभित्रको कम्पाउण्डभित्र पसेर कपडा फेरेका थिए। ती कपडा, हतियारहरू त्यहीँ फालेर उनी फरार भएका थिए।

प्रहरीको निगरानीबाट बच्न उनीहरू हिँड्दै नयाँ बसपार्क पुगेर त्यहाँबाट झापा हुँदै इलाम पुगेका थिए। उनीहरू दुई जनालाई इलाम पुर्‍याउने काम टेकबहादुर प्रधानले गरेका थिए। त्यसबापत उनले रकम लिएका थिए।

यस्तै उनीहरूले एउटा होटलमा बसेर योजना बनाएको खुलेको छ। पक्राउ परेका व्यक्तिहरू पहिले पनि पटकपटक आपराधिक गतिविधिमा संलग्न रहेको प्रहरीले जनाएको छ। चोरी तथा डाका, हातहतियार खरखजाना, लागुऔषध र ज्‍यानसम्बन्धी उद्योगजस्ता गतिविधिमा संलग्न भई सजाय भुक्तान गरेको खुलेको छ।

उनीहरूलाई जिल्ला अदालत काठमाडौँबाट १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थप भएको छ।

प्रकाशित: १ मंसिर २०८० १६:३८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 2 =