टिकटक बन्दप्रति क्यान महासंघ : प्रविधिमाथि प्रतिबन्ध प्रत्युत्पादक

हिमाल प्रेस ३० कार्तिक २०८० १६:३५
10
SHARES
टिकटक बन्दप्रति क्यान महासंघ : प्रविधिमाथि प्रतिबन्ध प्रत्युत्पादक

काठमाडौँ- सरकारले टिकटकमाथि प्रतिबन्ध लगाएको भन्दै कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ)ले आपत्ति व्यक्त गरेको छ।

सरोकारवाला निकायहरूसँग आवश्यक छलफल र परामर्श नै नगरी हठात्‌मा टिकटकमाथि प्रतिबन्ध लगाइएको क्यान महासंघको आरोप छ। टिकटक प्रतिबन्धको निर्णयले समस्या समाधानभन्दा चुनौती थप्ने चेतावनी क्यान महासंघले खिएको छ।

सूचना र सञ्चार प्रविधिको विकास र विस्तारले अवसर र चुनौती दुवै स्वाभाविक आए पनि सरकारले प्रविधिलाई समस्याका रूपमा हेरी निषेध गर्न खोजेको क्यान महासंघका अध्यक्ष रणजित कुमार पोदारले बताए।‘समस्या नियन्त्रणको नाममा प्रविधिमाथि नै प्रतिबन्ध लगाउन खोज्नुले सरकारको नियत छताछुल्ल भएको छ,’ अध्यक्ष पोदारले भने, ‘कन्टेन्ट नियमन गर्न पहलै नगरी प्लेटफर्ममाथि प्रतिबन्ध लगाउनु प्रत्युत्पादक हुन्छ।’

सूचना प्रविधिको विकासको गतिलाई रोकेर नरोकिने बताउँदै अध्यक्ष पोदारले यसको प्रयोगलाई व्यवस्थित गर्न राज्यले उचित योजना ल्याउनुपर्ने बताए। ‘नेपालमा उपलब्ध सबैखाले सामाजिक सञ्जालको सुव्यवस्थित प्रयोगका लागि सरकारले विज्ञ टोलीमार्फत वार्ता तथा समन्वय गर्न क्यान महासंघले आग्रह गरेको छ।

त्यस्तै क्यान महासंघका महासचिव चिरञ्जीवी अधिकारीले पछिल्लो समय नेपालमा टिकटक लोकप्रिय सामाजिक सञ्जालको रूपमा प्रयोग भइरहेकोमा यसको उपयोगिता ख्याल नराखी सरकारले बन्द गर्ने निर्णय गरेको बताए।

टिकटकलाई करको दायरमा ल्याई व्यावसायिक वातावरणमा सञ्चालन तथा नियमनको व्यवस्था गर्न सके देशको अर्थतन्त्रमा पनि सहयोग पुग्ने उनको भनाइ छ।

प्रकाशित: ३० कार्तिक २०८० १६:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × five =