लुम्बिनीको प्रचारका लागि सहकार्य गर्न सम्झौता

हिमाल प्रेस २६ कार्तिक २०८० ९:०३
8
SHARES
लुम्बिनीको प्रचारका लागि सहकार्य गर्न सम्झौता

लुम्बिनी- बुद्धजन्मस्थल लुम्बिनीको विश्वव्यापी प्रचारप्रसार र पर्यटन प्रवर्द्धनका लागि बुद्ध परिपथका चार पालिका, लुम्बिनी विकास कोष, अन्तर्राष्ट्रिय गैरआवासीय नेपाली संघ (एनआरएन) एंव सरोकारवाला संस्थाहरूबीच सहकार्य गर्न सम्झौता गरिएको छ।

लुम्बिनी सांस्कृतिक नगरपालिकाको आयोजनामा शनिबार रामग्राम, कपिलबस्तु, देवदह नगरपालिका, लुम्बिनी विकास कोष एंव अन्तर्राष्ट्रिय गैरआवासीय नेपाली संघ (एनआरएन)सहित सरोकारवालाहरूको उपस्थितिमा बसेको प्रत्यक्ष र अनलाईन बैठकले लुम्बिनीको प्रचारप्रसार र पर्यटन प्रवर्द्धनका लागि सहकार्य गर्न समझदारी बनेको हो।

शान्तिका अग्रदुत गौतबुद्धको जन्मस्थल लुम्बिनीको अन्तर्राष्ट्रिय स्तरमा प्रचारप्रसार र बुद्ध परिपथको पर्यटन प्रवर्द्धन र विकासका लागि चार पालिका, लुम्बिनी विकास कोषसँगै बेलायत, अमेरिका, यूरोपलगायत विदेशमा भएका गैरआवासीय नेपालीहरूको संस्थाहरूबीच निरन्तर सहकार्य गरेर अगाडि बढ्ने समझदारी गरिएको हो छ।

बैठकमा लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराईले लुम्बिनीको पर्यटन प्रवर्द्धनका लागि विभिन्न देशमा रहेका गैरआवासीय नेपालीहरूको भूमिका महत्त्वपूर्ण हुने भन्दै स्थानीय पालिकाहरूसहितको सहकार्यले आगामी दिनमा थप सहज हुने बताए।

उनले लुम्बिनी विकास कोषले अन्तर्राष्ट्रिय गैरआवासीय नेपाली संघ (एनआरएन) हरूसँग सहकार्य गरेर बुद्ध जन्मस्थल लुम्बिनी, बुद्धका मार्गदर्शन र सन्देश विश्वमाझ प्रचारप्रसार गर्ने नीति लिएको बताउँदै अब सबैको सहकार्यले नै अन्तर्राष्ट्रिय पर्यटक भित्र्याउन सकिने बताए।

उनले विदेशमा गएका प्रत्येक नेपालीहरूले लुम्बिनीमा एक जना विदेशी पर्यटन पठाउने जिम्मा लिँदा पनि पर्यटन प्रवर्द्धन हुने बताए। बृहत्तर लुम्बिनी क्षेत्रका रामग्राम, देवदह, कपिलबस्तु र लुम्बिनी सांस्कृतिक नगरपालिकाहरूलेसमेत आफ्नो क्षेत्रका ऐतहासिक र पुरातात्विक स्थलहरुमा उत्खनन् र संरक्षणमा बजेट छुट्याएर काम गर्नुपर्ने कोषाध्यक्ष भट्टराईले बताए।

बैठकमा लुम्बिनी सांस्कृतिक नगरपालिकाका नगरप्रमुख सजरुद्धिन मुसलमानले विश्वभरका बौद्धमार्गीहरूको आस्थाको केन्द्रका रूपमा विकास गर्न लुम्बिनीको अन्तर्राष्ट्रिय स्तरमा व्यापक प्रचारप्रसारको खाँचो रहेको बताए। उनले लुम्बिनी विकास कोषसँगै लुम्बिनीको प्रवर्द्धनका लागि लुम्बिनी सांस्कृतिक नगरपालिकासँगै बुद्धपरिपथसँग जोडिएका रामग्राम, कपिलबस्तु र देवदह नगरपालिकासँगै गैरआवासीय नेपाली, होटल व्यवसायी, अन्य सरोकारवालाहरूबी सहकार्य आवश्यक रहेको बताए।

बैठकमा रामग्राम नगरपालिकाका नगरप्रमुख धनपत यादव, देवदह नगरपालिकाका नगरप्रमुख ध्रुवप्रसाद खरेल, कपिलबस्तु नगरपालिकाका नगरप्रमुख सुदीप पौडेलले लुम्बिनीसँगै बुद्ध जीवनसँग जोडिएका रामग्राम, देवदह, कपिलबस्तुको विकास हुनुपर्नेमा जोड दिए। उनीहरूले अन्तर्राष्ट्रिय गैरआवासीय नेपालीहरूको विभिन्न संस्थासँगको सहकार्य र समन्वयले बुद्धस्थलको प्रचारमा महत्त्वपूर्ण योगदान पुग्ने बताए।

यसैगरी बैठकमा गैरआवासी नेपाली संघ अमेरिकाका उपाध्यक्ष नेत्रप्रसाद पाण्डे, भर्चुअल माध्यमबाट गैरआवासी नेपाली संघ अमेरिका (एनआरएनए) का उपमहासचिव सोमनाथ सापकोटा, नेपाल अमेरिका पत्रकार संघ (नेजा) का अध्यक्ष सुरज भण्डारीले लुम्बिनी र बुद्धको प्रचार र बुद्धपरिपथको पर्यटन प्रवर्द्धन र विकासका लागि सहकार्यको वातावरण बनाउन आग्रह गरेका थिए।

प्रकाशित: २६ कार्तिक २०८० ९:०३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − four =