यात्रा डायरी

पूर्वप्रधानमन्त्री डा. भट्टराईसँग तीन दिन

रमेश दवाडी २५ कार्तिक २०८० १८:१४
474
SHARES
पूर्वप्रधानमन्त्री डा. भट्टराईसँग तीन दिन सिरानचोक गाउँपालिकाको पाण्डेबेँसीमा रहेको एउटा ढुंगामा बसेर आराम गर्दै डा. बाबुराम भट्टराई।

२९ जेठ, दिनको १ बजे। काठमाडौँमा ठूलो पानी परिरहेको थियो। सोही बेला गुर्जुधारामा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई चढेको गाडी टक्क रोकियो। म त्यसमा चढेँ। गाडीमा चालकसहित पाँचजना भयौँ। अनि हामी गोरखातर्फ अघि बढ्यौँ।

हाम्रो यात्रा गोरखाको रणनीतिक महत्त्वको दूधपोखरी मार्ग हुँदै खरिबोटसम्मको थियो। यात्राको उद्देश्य थियो, दूधपोखरी मार्ग निर्माणमा भइरहेको ढिलाइको स्थलगत अध्ययन र आमजनता तथा जनप्रतिनिधिसँग छलफल गर्नु। निरन्तर पानी परिरहेका कारण बाटो बिग्रिएर हामी खरिबोटसम्म पुग्न सकेनौँ।

पूर्वप्रधानमन्त्री एवम् नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्षसँगको यात्रा मेरा लागि नितान्त पहिलो थियो। त्यसमाथि बौद्धिक नेताको पहिचान बनाएका डा. भट्टराई। यात्रा अवधिभर मेरो मनमा अनेक कुरा खेलिरहे। हाम्रो गाडी कृष्णभीरको एउटा होटलअगाडि रोकियो। त्यहीँ खाजा खायौँ। भट्टराईका लागि घरबाटै लगिने रहेछ खाजा। सायद स्वास्थ्यलाई ध्यानमा राखेर होला। यात्राका क्रममा देखेका समस्या टिपोट गर्ने र तस्बिर खिच्ने बानी रहेछ भट्टराईको। उनले आँबुखैरेनी-डुम्रे सडक विस्तारका क्रममा देखिएका समस्या क्यामेरामा कैद गरे। सडक विस्तारका लागि सामग्रीसहित श्रमिक भारतबाट ल्याउने गरिएकोमा भट्टराईले दुःख व्यक्त गरे।

उनले नेपाली श्रमिक काम नपाएर भौँतारिन परिरहेको, विदेश जानुपरेको अवस्थामा विदेशी श्रमिक ल्याउनु ठिक नभएको बताए। स्वदेशी श्रमशक्ति नै प्रयोग गर्नुपर्ने र त्यसो गर्नसके पुँजी स्वदेशमै रहने भट्टराईको भनाइ थियो। आँबुखैरेनी सडक हुँदै हाम्रो गाडी विमलनगरतर्फ मोडियो। यात्राका क्रममा भट्टराईले गोरखा च्यांगलीको खाली जग्गामा औद्योगिक क्षेत्र बनाउन प्रस्ताव गरेको बताए। तर विभिन्न कारणले पूरा हुन सकेको छैन।

मर्स्याङ्दी नदीमा नजिकनजिक पुल बनाएर बजेट दुरुपयोग गरिएकोमा भट्टराईले असन्तुष्टि जनाए। पानी पर्न रोकिएन। रात पनि परिसकेको थियो। विमलनगरको ग्राभेल सडक हुँदै हामी पालुङटार पुग्यौँ। पालुङटार-१ मा नेसपाका स्थानीय नेताकार्यकर्ताले भट्टराईसँग पार्टीको पछिल्ला गतिविधिबारे चासो राखे। भट्टराई नेसपाका अध्यक्षसमेत हुन्।

हामी गोरखा लाग्नु केही दिनअघि नेसपा केन्द्रीय समितिको बैठक बसेको थियो। भट्टराईले स्थानीय नेताकार्यकर्तालाई संक्षिप्त रूपमा बैठकको निर्णय सुनाए। पार्टीले तत्काल कुनै दलसँग एकता नगर्ने र नेसपालाई वैकल्पिक राजनीतिक शक्तिका रूपमा लैजाने निर्णय गरेको जानकारी कार्यकर्ताहरूले पाए। यस्तै भट्टराईले नेसपाका एजेन्डा जनतालाई जानकारी गराउन कार्यकर्तालाई निर्देशन दिए। त्यसपछि बेलुकी ८ बजे हामी नेसपा जिल्ला सदस्य तथा वडा नं. ५ की सदस्य सीता विकको घरमा पुग्यौँ। बास त्यहीँ भयो।

जनताका गुनासा

भोलिपल्ट अर्थात् ३० जेठ बिहान नेसपा जिल्ला अध्यक्ष यानप्रसाद भट्टसहित जिल्ला र स्थानीय नेताहरूलाई भट्टराईले पार्टीको अवस्थाबारे जानकारी गराए। त्यसपछि पार्टी काममा लाग्न अनुरोध गरे। भट्टराईसँग प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुखले भेटघाट गरे। उनीहरूसँग भट्टराईले जिल्लाको विकास, सुरक्षालगायत विषयमा चासो राखे। बिहान हामी करिब ८ बजे सीता विकको घरबाट निस्कियौँ।

ग्राभेल सडक हुँदै हाम्रो यात्रा बयपानीतिर मोडियो। आकाशमा कालो बादल मडारिएको थियो। बिस्तारै बादल फाट्यो र घाम चर्कियो। गर्मी हुन थाल्यो। गर्मीमा असिनपसिन हुँदै बयपानीमा भट्टराईलाई कुरिरहेका रहेछन् स्थानीय। उनीहरूले खादामाला लगाइदिए। सम्मान गरे। भट्टराईसमक्ष केही समस्या बिसाए। सबैका गुनासा सुनेपछि भट्टराईले जवाफ दिए। विकास निर्माणदेखि केन्द्रीय राजनीतिका विषयमा स्थानीय जनतालाई अवगत गराए। सायद विश्वस्त भए!

गोरखाका स्थानीय बासिन्दाबाट स्वागत ग्रहण गर्दै डा. भट्टराई।

भट्टराईले गोरखा-२ बाट लगातार तीनपटकसम्म संसदीय चुनाव जितेका थिए। पार्टी कार्यकर्ताका अनुसार गोरखाप्रति उनको माया र लगाव वर्णन गरेर सकिन्न। भट्टराईलाई गोरखावासीको माया पनि उत्तिकै रहेछ भन्ने मैले नजिकबाट बुझेँ।

भट्टराईसँग सिरानचोक गाउँपालिका मुगेका जनताले धेरै किसिमका माग राखे। उनी आउने जानकारी पाएपछि स्थानीय फूलमाला उनेर बसेका रहेछन्। मन्दिर, बाटो, खानेपानीका लागि बजेट विनियोजन गरिदिन आग्रह गरे। भट्टराई पुग्नेबित्तिकै माला लगाइदिए। एकजना स्थानीयले भने, ‘हाम्रो भरोसा तपाईं हो। प्रचण्ड त चुनावमा मात्र आउनुभयो। भोट हाल्यौँ। जितायौँ। अहिले कहाँ हुनुहुन्छ, थाहा छैन। कहिलेकाहीँ उहाँको बोली रेडियोमा सुनिन्छ। टीभीमा देखिन्छ।’ लेखक बुद्धिसागरका गलज सेर यहाँ मेल खान्छ-

हामीलाई त पित्तल पनि सुनजस्तै लाग्छ
माथिमाथि बस्नेहरु जूनजस्तै लाग्छ।

हो, गोरखा-२ का ग्रामीण बस्तीका लागि प्रचण्ड जूनजस्तै बनेका छन्।

मकै र मोही

सिरानचोक गाउँपालिकास्थित मुगेदेखि केही मिनेटको दुरीमा रहेको पाण्डेबेँसीमा बिहानको खाना खायौँ। भोक लागेका बेला लौका, आलु र लोकल चामलको भात मिठो भयो। भट्टराईले त खाना थपे। भने, ‘खुब स्वादिलो। मिठो भयो। धेरै पछि खाना थपेँ।’

खाना खाएकै घरमाथि एउटा ठूलो ढुंगामा बसेर भट्टराईले केहीबेर आराम गरे। त्यहाँ बसिरहँदा आमा समूह आए। भट्टराईसँग भलाकुसारी गरे। आफ्ना समस्या सुनाए। आमा समूहको माग भवन निर्माण होस् भन्ने रहेछ। भट्टराईले भवन निर्माणका लागि पहल गर्ने प्रतिबद्धता जनाए। आमा समूहसँग फोटो खिचाए अनि हामी टुटुवानतर्फ लाग्यौँ।

भट्टराई आउने खबर पुगिसकेको हुँदा टन्टलापुर घाममा पनि धेरै स्थानीय जम्मा भइसकेका रहेछन्। गुरुङ समुदाय बाहुल्य टुटुवानका स्थानीयले फूलमाला र खादाले स्वागत गरे। भट्टराईसँग उनीहरूले पनि विकास निर्माणकै विषयमा चासो राखे। सडक स्तरोन्नति गरेर तत्काललाई ग्राभेल गरिदिन आग्रह गरे। कार्यक्रम चलिरहेको थियो। उनीहरूले मकै, भटमास, खट्टे, मोही खाजा खुवाए। भट्टराईले मिठो मानेर खाए।

गोरखाको टुटुवानमा मोही खाँदै डा. बाबुराम भट्टराई।

हामी त्यहाँबाट आएकै बाटो फर्कियौँ र अजिरकोट गाउँपालिकाको कार्यालय भच्चेक गयौँ।  अजिरकोट गाउँपालिकाका अध्यक्ष दीपक देवकोटा, उपाध्यक्ष अनिता भुजेललगायतले न्यानो स्वागत गरे। गाउँपालिकामा संक्षिप्त कार्यक्रम भयो। देवकोटाले भट्टराईकै ‘भिजन’ मा देश अगाडि बढेको बताए। माओवादीका नेतासमेत रहेका देवकोटाले जनयुद्धका केही घटना पनि स्मरण गरे।

गाउँपालिका नयाँ आर्थिक वर्षको नीति तथा कार्यक्रमको तयारीमा रहेछ। पूर्वअर्थमन्त्रीसमेत रहेका भट्टराईले नीति तथा कार्यक्रममा आधारित भएर केही सल्लाहसुझाव दिए। सडक, शिक्षा र स्वास्थ्यलाई नीति तथा कार्यक्रमको प्राथमिकतामा राख्नुपर्ने उनको सुझाव थियो। कार्यक्रम समापनपछि गाउँपालिका परिसरमा सामूहिक तस्बिर खिचाएर हामी फर्कियौँ।

भच्चेकबाट हामी चित्रेपोखरीस्थित सिरानचोक गाउँपालिकाको कार्यालय पुग्यौँ। अध्यक्ष ज्ञानेन्द्र गुरुङ, उपाध्यक्ष रीता देवकोटालगायतसँग भट्टराईले संक्षिप्त कुरा गरे। यहाँ पनि विकास निर्माणमा गाउँपालिकाले केकसरी काम गरिरहेको छ भन्ने विषयमा कुराकानी भयो।

दिन ढल्किँदै थियो। आकाश धुम्म थियो। गाउँपालिकामा सामूहिक तस्बिर खिचेर हाम्रो यात्रा अगाडि बढ्यो। छोप्राक पुग्यौँ। स्थानीय बासिन्दा हामीलाई कुरेर बसिरहेका रहेछन्। भट्टराईले २०६४ सालको चुनावमा गरेको प्रतिबद्धता जनताले भुलेका रहेनछन्। भट्टराईले स्थानीय जनताका कुरा सुने। टिपोट गरे। उनीहरुका कुरा सुनेपछि भट्टराईले जवाफ दिए। स्थानीय भवन पुनर्निर्माण र बाटो बनाउन पहल गर्ने बताए।

केही स्थानीयले प्रचण्डप्रति गुनासो गरे। मनमाया पोखरेलले भनिन्, ‘प्रचण्ड चुनावमा आउनुभयो। हामीले भोट दिएर जितायौँ। अहिले कहाँ हुनुहुन्छ थाहा छैन। तपाईं जसरी नै प्रचण्ड हामीकहाँ कहिले आउनुहुन्छ?’ भट्टराईले जवाफ दिए, ‘तपाईंहरूको सुखदुःखमा म छु, चुनाव नलडे पनि मैले तपाईंहरूका आवाज सम्बन्धित ठाउँमा पुर्‍याउँछु।’

पुर्ख्यौली घरमा बास

कार्यक्रम सम्पन्न गरी छोप्राकमै बेलुकीको खाना खायौँ। रात छिप्पिँदै थियो। हामी बेलबासस्थित भट्टराईको पुर्ख्यौली घरमा झर्‍यौँ। पानी परिरहेको थियो। ग्राभेल सडक हुँदै रातको १० बजेतिर घरमा पुग्यौँ। सुरक्षाकर्मी, भट्टराईका स्वकीय सचिव र म लहरै सुत्यौँ। भट्टराई घरको बीच तलामा सुते। उनी घर आउँदा सधैँ त्यहीँ सुत्दारहेछन्।

सबैभन्दा माथिल्लो तलालाई पुस्तकालय बनाउने भनेर भट्टराईले टेबल, कुर्सी राखेका छन्। घर आउँदा फुर्सद भएका बेला उनी त्यहीँ बसेर पढ्दा रहेछन्।
भोलिपल्ट (३१ जेठ) बिहान भट्टराईले सुनाए, ‘यहाँ किताब राख्न बनाइएको हो। यहाँ बसेर पढ्ने। बुढेसकालमा म यही घरमा आएर बस्छु भनेको छु। त्यसैका लागि सबै तयारी गरिएको हो।’ टेबल, कुर्सी, काठमा किरा नलागोस् भनेर रङ लगाइएको छ।

०७२ को महाभूकम्पले क्षति पुगेको घरमा भट्टराईले रेट्रोफिटिङ गरेका रहेछन्। २०१४ सालमा बनाइएको अहिलेको घरमुनि पुर्ख्यौली घर रहेछ। भट्टराई २०११ सालमा त्यहीँ जन्मिएका रहेछन्।

उनले मलाई देखाए, ‘ऊ त्यहाँ गोठ थियो। त्यसको छेउमा घर थियो।’ हालको घरको बार्दलीको एकापट्टि कुना देखाउँदै उनले बाल्यकाल सम्झिए।

आफ्नो पुर्ख्यौली घरको बार्दलीमा बसेर बाल्यकालका घटना सुनाउँदै डा. भट्टराई।

उनले भने, ‘यो घर बनाउँदाको टुकटुक आवाज अहिले पनि म सम्झन्छु। हामी अटाली (बार्दली) मा सुत्थ्यौँ। म यहीँ सुत्थेँ। (तस्बिरमा हेर्नुहोस्।) मलाई यो असाध्यै मनर्थ्यो। त्यतिबेला बिजुली थिएन। बेलुकी ७/८ बजे हामी सुत्थ्यौँ। यहाँबाट गोरखा दरबार देखिन्छ। उत्तरपट्टि मनास्लु र बुद्ध हिमाल (हिमालचुली) हेर्दै, आकाशतिर हेर्दै लामो समय टोलाउने, आकाश, तारा यी के हुन्? गम्दैगम्दै जाने क्रममा मेरो आकर्षण बढ्यो र ८/९ वर्ष भएपछि स्कुल जाने जुन अवसर मिल्यो त्यतिबेलादेखि विज्ञान, ब्रह्माण्ड, मानव जातिको उत्पतिप्रति मेरो चासो बढ्दै गयो। यही क्रममा म अहिले जहाँसम्म आइपुगेको छु, त्यो बाल्यकालको जिज्ञासा हो।’

उनले आफ्नो खेत देखाए। बाँझो रहेछ। बाँझो जग्गामा फलफूलका बिरुवा लगाउने भट्टराईको सोच रहेछ। घर वरपर भने उनले बिरुवा लगाएका रहेछन्। हामी भट्टराईको पुर्ख्यौली घरबाट हिड्यौँ।

बिहान त्यस्तै १०/११ बजे हामी छेपेटार पुग्यौँ। छेपेटारमा पार्टीकै एक स्थानीय नेताको घरमा खाना खाएपछि हाम्रो यात्रा गोरखा सदरमुकाम गोरखाबजार मोडियो। गोरखाबजारमा नेसपा जिल्ला कार्यालय छ। पत्रकारहरूसँग भट्टराईले आफ्ना भनाइ राखे। त्यसपछि नेसपा जिल्ला नेताहरूसँग कुराकानी गरेपछि हामी बेलुकी काठमाडौँ फर्कियौँ।

भट्टराईको चिन्ता

यात्राका क्रममा भट्टराईले देश विकास हुन नसकेमा चिन्ता व्यक्त गरे। त्यसको एउटै समस्या नेताहरूमा सही विचार (भिजन) नभएको र भएका नेता तथा पार्टी सत्ताबाहिर रहेको उनको भनाइ थियो। देश युवाविहीन हुन लागेकोमा अर्को चिन्ता थियो डा. भट्टराईको।

देशमा रोजगारी सिर्जना नहुनु, उत्पादनमा जोड नदिनु, पुँजीको सदुपयोग नहुनु, युवामैत्री नीति नहुनु, योजना नहुँदा देश युवाविहीन हुँदै गएको निचोड उनको थियो। कृषिप्रधान देशमा कृषि उत्पादन र उद्योगधन्दा पनि कम हुँदा समस्या बढ्दै गएको डा. भट्टराईले यात्राका क्रममा सुनाए।

तस्बिरहरू : रमेश दवाडी

प्रकाशित: २५ कार्तिक २०८० १८:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast