२०६४/६५ सालतिर होला। नयाँ पत्रिकामा छापिएको एउटा लेखको लेखकको नाम मेरो मनमा पनि छापियो।
लेखको शीर्षक थियो- ‘एउटा जिप भीरैभीर।’ अनि लेखकको नाम थियो- बुद्धिसागर।
भाषा यति सरल, यति मीठो र यति चमत्कारपूर्ण थियो कि आँखा हुँदै मनसम्म पुगिहाल्यो। मेरो साँघुरो पठन संसारमा यसरी बुद्धिसागर आइपुगेका थिए। त्यसपछि म उनको पाठक भएँ। उनका हरेक लेख यथासम्भव नबिराई पढ्ने पाठक!
म गम्भीर पाठकचाहिँ होइन। कुनै ‘टेक्स्ट’ को आनन्द ग्रहण गर्ने मामुली पाठक हुँ। मेरो मान्यता के छ भने पाठकलाई पढ्दा आनन्द आयो भने सो आनन्द दिलाउने लेखक सफल भयो। यस अर्थमा मेरा निम्ति बुद्धिसागर सफलतम् लेखक हुन्।
मेरो प्रिय साथी कवि/लेखक विनोदविक्रम केसीले एउटा कफी-बसाइमा बुद्धिसागरमाथि गरेको टिप्पणी म यदाकदा सम्झने गर्छु। उसले भनेको थियो, ‘बुद्धि साधारण ‘थिम’ समातेर असाधारण लेख्छ। जे लेख्छ, हृदयदेखि लेख्छ। उसको लेखाइमा कहीँ जटिलता हुँदैन, बौद्धिक ‘सोअफ’ हुँदैन। ‘कर्नाली ब्लुज’ नेपाली बाल्यकाल-वाङ्मयको ‘मोडर्न डे क्लासिक’ हो।’
म विनोदसँग सहमत छु। शतप्रतिशत सहमत।
भनिरहनुपरेन, बुद्धिसागर उम्दा लेखक हुन्। उनको लोकप्रियताले सो तथ्य सिद्ध छ। उनको लेखाइको विशेष स्वाद छ। मिठास छ। भावना पोख्न प्रयोग गरिने भाषा सरल र सुन्दर छ। कहीँकतै ढुंगा लाग्दैन। पाठक तृप्त हुन्छ। भोको पेटले स्वादिष्ट भोजन पाएझैँ स्वादिलो सामग्री पाउँछ। अनि अघाउँछ।
बुद्धिसागर ‘सेलिब्रिटी राइटर’ हुन्। यो पनि भनिरहनुपर्ने कुरा होइन। मलाई उनको असाध्यै मन पर्ने अर्काे पाटो छ। त्यो हो उनी अखबार र युट्युबहरूमा सेलिब्रिटी लेखकका हैसियतले ‘अन्टसन्ट’ अन्तर्वार्ता दिँदै हिँड्दैनन्। हाम्रा केही सेलिब्रिटी लेखकले आफ्ना ‘दर्जनौँ प्रेमिका’ र ‘एक बाकस प्रेमपत्र’का हास्यास्पद विज्ञप्ति दिएर हैरान पारेका छन्। बुद्धिसागर यस्ता सस्ता कुराबाट आजका मितिसम्म जोगिएका छन्।
०००
‘उसले दिएको उमेर’ बुद्धिसागरले ‘सरप्राइज’ भन्दै आफैँले सामाजिक सञ्जालमा विमोचित गर्दा पाठक साँच्चै ‘सरप्राइज्ड’ भएका थिए। केही गाइँगुइँ नभई सीधै किताब आयो। लेखकको उपन्यास ‘एक्लो’ आएको नौ महिनापछि बजारमा भित्रिएको हो। केही थाहा नपाई एकैचोटि आफ्ना प्रिय लेखकको किताब देखेपछि खुसी भएका पाठक पढ्न आतुर भए। उत्तिकै उत्सुक पनि।
बुद्धिसागरको पाठकलाई ‘आफूसँगै यात्रा गराउने कला’ अद्भुत छ। पाठक कहिले कैलालीको मटेरा पुग्छन्। कहिले कालीकोट, मान्म। कहिले जामुन टिप्न रूख चढ्छन्। कहिले सुगा खोज्दै जंगल चहार्छन्। कहिले कमिक्समा हराउँछन् त कहिले फिल्ममा डुब्छन्। लेखकसँगै पाठकले पनि छातीमा डाँडाको चिसो बतास महसुस गर्छन्। पाठकलाई आफ्ना भावना सँगसँगै डोर्याउन सक्नु एक लेखकको सबैभन्दा ठूलो शक्ति हो। यस अर्थमा बुद्धिसागर शक्तिशाली लेखक हुन्। जोसँग त्यो बेजोड शब्दशक्ति छ।
किताबमा डुब्नु एकछिन त्यसमै हराउनु। अनि किताबको ‘म’ पात्र भइदिनु। उनको लेखनमा यो कुरा पाठकले अनुभूत गर्छन्। पाठकले किताबको पात्रमा आफूलाई खोज्न थाल्छन्। भेट्छन् पनि। आफ्नै कथा अर्काको मुखबाट सुनिरहेजस्तै गरी पढ्न थाल्छन्। हरेक मान्छेसँग आआफ्नै कथा हुन्छ। तर हरेक कथा किताब बन्दैन।
सुन्दर भाषाका धनी बुद्धिसागर बान्की मिलाएर लेख्न जान्दछन्। त्यसैले उनका कथा लोभलाग्दो किताबका रूपमा पाठकसम्म पुग्छन्।
यसपटक बुद्धिसागरले आफ्ना कतिपय पाठकलाई अलिकति निराश बनाएका छन्। किताब पढेपछि कुनैकुनै पाठकको निष्कर्ष- अपेक्षा गरेजस्तो भएन। ‘कर्नाली ब्लुज’ उनको ‘मास्टरपिस’ हो। तर लेखकले यसपालि आफ्नो साख जोगाउन नसकेको गुनासा सुनिँदैछन्। ‘कम समयमा निकालिएकाले होला’ भनेर चित्त बुझाउने शुभचिन्तक पनि छन्।
जेजस्तो भए नि किताबमा कोरिएको बुद्धिको बाल्यकाल रमाइलो छ। चुलबुले बालक बुद्धि एकक्षण पनि शान्त बस्न सक्दैन। उपद्रर्याइँ गर्न सिपालु छ। आफ्ना फट्याइँले आमाबुबालाई सताइरहन्छ। त्यसो नगर्न उनीहरूले पटकपटक बिन्ती बिसाउँछन्। तर बुद्धि सुध्रिए पो! आमाबाका कुराको केही असर भए पो! आमाले ‘छोरा किन दुःख दिन्छस्’ भन्दा एकक्षणका लागि पग्लिए पनि फेरि उही पारा देखाउँछ छुकछुके। चिया भनेसि भुतुक्कै हुने। स्कुलबाट भागेर लखरलखर बजार डुल्ने। फिल्मप्रेमी। बुबाको खल्तीबाट पैसा चोर्न खप्पिस बुद्धि।
उटपट्याङ हर्कतले आमाबालाई हैरान बनाउँछ। बालसुलभ बदमासी पढ्दा हाँसो नि उठ्छ। ‘कति दुःख देको होला’ भन्ने पनि लाग्छ। ती हर्कतले आमाबुबालाई सास्ती दिए पनि पाठकलाई चाहिँ मजा दिन्छ।
बाल्यकालको भरपूर आनन्द लिएका लेखकले कडा अनुशासनबीच हुर्किरहेको पुस्तालाई किताबमार्फत सम्झिएका छन्। आफ्ना यी स्मृति छोरी र उनको पुस्तालाई समर्पित गरेका छन्। सहरका सुविधासम्पन्न ‘फ्ल्याट’मा हुर्किरहेका केटाकेटीले किताबमार्फत गाउँका माटोको घरको अनुभव गरून्। गाउँको दुःख, संघर्ष, अभावलाई बुझून्। सहरको बन्दी जीवन र गाउँको स्वतन्त्र जीवनबीच भेद छुट्याउन सकून् भन्ने लेखकको चाहना हुन सक्छ। गाउँबाट सहर बसाइँ सरेका हरेक अभिभावकजस्तै।
‘कमिक्सको मायाजाल’ ले मलाई नि आफ्नो बाल्यावस्थामा फर्कायो। नागराज, सुपर कमान्डो धु्रव, डोगा, चाचा चौधरी, बाँकेलाल पढ्ने समयमा पुर्यायो। बिदाका बेला भाडामा लिएर कमिक्स पढेका दिन याद आए। एक रुपैयाँमा तीन कमिक्स। ५० पैसामा एउटामात्रै। कमिक्सकै लागि स्कुलको किताबमा पैसा लुकाएका दिन नि सम्झिए। चाचा चौधरीसँग साबु आँखा अगाडि घुम्न थाल्यो। नागराज पनि आँखामा त्यसैगरी आयो। एकपछि अर्को गर्दै कमिक्सका क्यारेक्टर मानसपटलमा रिङ्न थाले। एकपटक फेरि म कमिक्सको संसारमा पुगेँ। कमिक्सको मायाजालमा म नि परेँ।
‘उसले दिएको उमेर’मा लेखकको स्कुले जीवनको अधुरो प्रेमदेखि भीरैभीरमा जिपको कष्टकर यात्राको बयान छ। किताबले अधुरो प्रेमको पीडा महसुस गराउँछ। ‘सुसाइड नोटमा हस्ताक्षर गरेर आत्महत्या गर्न हिँडे’ जस्तो जिप यात्राको वर्णनले मुटु कमाउँछ।
लेखकमात्र होइनन्, बुद्धिसागर कवि पनि हुन्। उनले लेखेको पहिलो कवितादेखि राष्ट्रिय कविता महोत्सवमा स्वर्णपदक जित्दाको उनको कविता यात्रामा पाठक पनि हौसिँदै अगाडि बढ्छन्। अन्त्यमा पितासँगको सम्बन्धले पाठकलाई भावुक बनाउँछ। पिताको संघर्ष र सपना बुझेका परिपक्व बुद्धिले किताबको अन्तिममा उनलाई ‘धन्यवाद पिता’ भन्ने चाहना व्यक्त गरेका छन्। बदमासी गरेपछि पिताको रिसको प्रकोपबाट छोरालाई बचाउने आमा पनि धन्यवादकी पात्र हुन्। आमाले पनि छोराका उपद्रो सहिन्। कान्छो छोरामा माया लुटाइन्।
गाउँले फुच्चेको ससाना कलिला आँखाले खोजेको सपनाको ठूलो आकाश किताबमा हेर्न पाइन्छ। जो उनले काठमाडौँमा भेट्छन्। राजधानीको खुला आकाशले उनका सपनालाई अझै माथिमाथि उड्ने अनुमति दिन्छ। चराले पखेटा फिँजाएझैँ उनी पनि लेखन क्षेत्रमा उचाइँ लिँदै जान्छन्। उनका एकपछि अर्को कृतिले पाएको सफलता त्यसको प्रमाण हो। ‘कर्नाली ब्लुज’, ‘फिरफिरे’, ‘बुद्धिसागरका कविता’, ‘एक्लो’ र ‘उसले दिएको उमेर’का साथमा उनी पाठकका प्रिय कवि र लेखक बनेका छन्।
‘उसले दिएको उमेर’मा बुद्धिसागरसँगै म पनि आफ्ना बाल्यकालका गोरेटा र गौँडाहरूसम्म पुगेँ। उनको स्मृतिलोकमार्फत आफ्नै स्मृतिलोकमा पुगेँ। मलाई यसरी सुदूर अतीतको यात्रा गराएकामा बुद्धिसागरलाई हृदयदेखि धन्यवाद!