प्रतीकात्मक तस्बिर।
                                            नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)- पश्चिम नवलपरासीमा कृषि सामग्री कम्पनीले मल वितरण सुरु गरेको छ। हिउँदे बालीको लागि चाहिने आवश्यक डीएपी मल आजदेखि कम्पनीले पालिकाहरूलाई उपलब्ध गराउन थालेकोहो।
जिल्लाको सुनवल नगरपालिकाले कृषि सामग्री कम्पनीलाई पठाएको निर्णय पत्रअनुसार डीएपी मल वितरण सुरु गरिएको कृषि सामग्री कम्पनीका भण्डार शाखाका अशोक त्रिपाठीले बताए।
प्रदेश सरकारले नवलपरासीलाई दिएको मलको कोटाअनुसार नगरपालिकालाई आजदेखि मल वितरण सुरु भएको त्रिपाठीले बताए।
लुम्बिनी प्रदेश सरकारले पश्चिम नवलपरासीको लागि मात्र तीन सय ५८ मेट्रिक टन मल (डीएपी) दिएको छ। जसमा दुई सय १५ मेट्रिक टन मल कृषि सामग्री कम्पनीले ल्याइसकेको छ भने एक सय ४३ मेट्रिक टन ल्याउन बाँकी रहेको स्टोर किपर त्रिपाठीले बताए।
कृषि सामग्री कम्पनी नवलपरासीले सात वटै पालिकालाई कति मल दिने भनेर निर्णय गरेर पठाउन पत्र पठाएको छ। तर अहिलेसम्म सुनवल नगरपालिकाले मात्र विवरण निर्णय गरेर पठाएको छ।
जिल्लाको सातवटै पालिकालाई मल वितरण गर्न ६९ वटा सहाकारीले अनुमति पाएका छन्। नवलपरासीको कुन स्थानीय तहलाई कति मल (डिएपी) चाहिन्छ भनेर सात वटै पालिकाका लागि लुम्बिनी प्रदेश सरकारबाटै कोटा छुट्याएर मल (डीएपी) पठाइएको हो। रासस

                                                                                            
                                             
                                             
                                             
                                             
                                             

