रास्वपाको वैचारिक नीति : सामाजिक न्यायसहितको उदार अर्थतन्त्रमा विश्वास गर्ने लोकतान्त्रिक पार्टी

हिमाल प्रेस १३ मंसिर २०८० १६:३१ | Wednesday, November 29, 2023
रास्वपाको वैचारिक नीति : सामाजिक न्यायसहितको उदार अर्थतन्त्रमा विश्वास गर्ने लोकतान्त्रिक पार्टी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीले आफूलाई समतामूलक उन्नतिप्रति कटिबद्ध सामाजिक न्यायसहितको उदार अर्थतन्त्रमा विश्वास गर्ने बहुदलवादी लोकतान्त्रिक पार्टी घोषणा गरेको छ। पार्टीको दर्शन/विचार प्रष्ट नभएको भनेर आलोचना खेपिरहेको रास्वपाले महोत्तरीको गौशालामा जारी केन्द्रीय समिति बैठकबाट विधानको प्रस्तावना पारित गर्दै पार्टीको विचारबारे स्पष्ट पारेको हो।

‘राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सबै नेपालीको समतामूलक उन्नतिप्रति कटिबद्ध सामाजिक न्यायसहितको उदार अर्थतन्त्रमा विश्वास गर्ने बहुलवादी लोकतान्त्रिक पार्टी हो। यसको ध्येय वैयक्तिक स्वतन्त्रता र मौलिक हकको प्रत्याभूतिपूर्वक पूर्णलोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीभित्र विधिमा आधारित जवाफदेहीपूर्ण असल शासनमार्फत् समन्यायिक समावेशी समाज निर्माण गर्नु हो’ रास्वपाले पारित गरेको प्रस्तावनामा भनिएको छ

रास्वपा गणतन्त्रप्रति आफ्नो धारणा स्पष्ट पारे पनि संघीयताप्रति भने मौन देखिएको छ।

रास्वपाले लोकल्याणकारी राज्यको लागि सार्वजनिक, निजी र सामुदायिक स्रोतको दिगो परिचालनमार्फत सामाजिक बजार अर्थतन्त्रमार्फत रोजगार वृद्धिको लक्ष्य पनि राखेको बताएको छ।

प्रस्तावनामा पार्टीका मुख्यतः तीनवटा राजनीतिक मान्यता अघि सारेको छ– सामाजिक न्याय, उदार अर्थतन्त्र र बहुलवाद। प्रस्तावनामाथि छलफल सकिएर पारित भइसकेको पार्टीका प्रवक्ता तथा महामन्त्री डा.मुकुल ढकालले जानकारी दिए।

‘शान्तिपूर्ण मार्गबाट नै समाजवादका प्रधान लक्ष्यहरू संविधानमा निर्दिष्ट गरी तदनुकूल राष्ट्रिय नीति तथा कार्यक्रमका आधारमा राज्य सञ्चालनको अठोटलाई संवैधानिक समाजवादका रुपमा व्याख्या गर्दै अप्रिय ऐतिहासिक विरासतका रुपमा विद्यमान लैङ्गिक, जातीय, वर्गीय, क्षेत्रीय लगायत सबै प्रकारका संरचनात्मक विभेदहरूविरुद्ध निर्णायक सम्बोधन गर्न अवसरहरूको न्यायिक वितरण, पहुँच र उपयोगमा जोड दिइनेछ’ पारित भइसकेको प्रस्तावनामा भनिएको छ।

धर्मको विषयमा विवाद भइरहेको बेला रास्वपाले आफ्नो धारणा स्पष्ट पारेको छैन।
रास्वपाले भनेको छ, ‘नेपालको इतिहास, सनातन सभ्यता, धार्मिक–सांस्कृतिक विविधतामा आधारित सहअस्तित्व र पारस्परिक सम्मान, विश्वभर फैलिएका नेपालीहरूको सामूहिक सामर्थ्य र एसियाको उदाउँदो भूराजनीतिक महत्वलाई आत्मसात् गर्दै नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिमानलाई सदा अक्षुण्ण राख्नु नै राष्ट्रिय स्वतन्त्र पार्टीको अभीष्ट रहनेछ।’

प्रकाशित: १३ मंसिर २०८० १६:३१ | Wednesday, November 29, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast