भक्तपुर- कटुन्जेमा रहेको कलकल ग्रुप प्रालिले संस्थाका सल्लाहकार र संवाहकहरूबीच आइतबार बैठक गरी अनुभव र राय सुझाव आदानप्रदान गरेको छ।
बैठकमा कलकल ग्रुपका अध्यक्ष रविराज कार्कीले संस्था स्थापनाका बेला संस्थापक सेयर सदस्यहरूबाट संकलन गरिएको रकमबाट उद्योगको भौतिक पूर्वाधार र मेसिनजस्ता सामान खरिदमै रकम सकिएको बताउँदै पूर्व अध्यक्ष र पूर्व प्रमुख कार्यकारी अधिकृतहरूले त्यतिबेला संस्थालाई जीवन्तता दिन खेलेको भूमिकाको प्रशंसा गरे। उनीहरूको सुझबुझपूर्ण निर्णय, योजनाबद्ध ढंगले आर्थिक संकलन जस्ता योगदानका कारण कलकल ग्रुप अहिलेको अवस्थामा आइपुगेको प्रस्ट पारे।
साथै अध्यक्ष कार्कीले भाटभटेनीमा कलकलका सामान राख्ने प्रयास भइरहेको बताउँदै उद्योगका आफ्नै आउटलेट विस्तार गर्ने योजना पनि रहेको बताए। लोकल तोरीको तेल उत्पादन गर्न उद्योगमा थप गरिएको नयाँ मेसिनबाट केही सातामै तेल उत्पादन सुरु हुने पनि उनले जानकारी दिए। यसैबीच अध्यक्ष कार्कीले संस्थाको विशेष सल्लाहकारमा प्रा. डा. सुशीला मल्ललाई नियुक्ति दिएका छन्।
बैठकमा कलकल ग्रुपका प्रमुख कार्यकारी अधिकृत समिरनारायण श्रेष्ठले उद्योगबाट उत्पादित खाद्य सामग्रीहरू बेच्न आफूहरू तीव्र गतिमा लागेको बताउँदै सेयर सदस्य थप्ने योजनामा पनि उल्लेख्य भूमिका खेलिरहेको जानकारी दिए। श्रेष्ठले अब थपिने सेयर सदस्यहरू संस्थापक नभई साधारण सदस्य हुनेसमेत स्पष्ट पारे। सेयर सदस्यहरूलाई कलकल ग्रुपले आफ्नो उत्पादनमा ५ देखि ७ प्रतिशतसम्म छुट दिँदै आएको पनि श्रेष्ठले बताए ।
यसैगरी कम्पनीका सल्लाहकार सरोज थापाले संस्थाको साधारणसभालगायत अन्य कार्यक्रमहरूमा आफ्नै उत्पादन खाजा–खानाका रूपमा प्रयोग गर्न सुझाव दिए। शुद्ध तोरीको तेल किन महँगो हुन्छ भनेर आम उपभोक्तालाई बुझाउन पनि जरुरी रहेको उनले बताए।
अर्का सल्लाहकार शर्मिला कार्कीले कलकल ग्रुपले उत्पादन गरेको तोरीको तेल शुद्ध घिउसरह स्वादिष्ट भएको बताइन्। हाइब्रिड तोरीको तेलको बास्ना आउने तर कलकल तोरीको तेल लोकल र शुद्ध भएकाले बास्ना पनि नआएको उनले बताइन्। साथै कम्पनीले अब तोरी उत्पादन पनि आफैँले थाल्नुपर्ने सुझाव दिइन्।
यसैगरी सल्लाहकार उत्तरा नेपालले जहाँ जाँदा पनि आफूले कलकलको प्रसंग जोड्ने गरेको बताइन्। दुईचारजना व्यक्तिले कुराकानी गरिरहेको ठाउँमा समेत आफूले भक्तपुरको कटुञ्जेमा कलकल उद्योग रहेको र त्यहाँबाट शुद्ध, स्वस्थवद्र्धक, पौष्टिक र स्वादिष्ट रैथाने प्रजातिका खाद्यसामग्रीहरू मात्रै उत्पादन हुँदै आएकाले उपभोग गर्न सुझाव दिने गरेको बताइन्।
कलकल ग्रुपकी स्वास्थ्य संवाहक एवं डिजिटल ट्रेनर कमला दाहालले आफूले मासिक पाँच सय लिटर तेल बेचिरहेको जानकारी दिइन्। साथै कम्पनीले गरेका कार्यहरूको भिडियो बनाएर फेसबुकमा राख्ने प्रतिबद्धतासमेत उनले जनाइन्। हरेक साता शनिबार राति ८ बजेदेखि ९ बजेसम्म जुम वेबिनारमार्फत निःशुल्क रूपमा दिँदै आएको ‘स्वास्थ्य सरोकार : सुमधुर सम्बन्धको विज्ञान’ कार्यक्रमलाई आफ्नो तर्फबाट जस्तोसुकै चुनौती झेलेर पनि निरन्तरता दिने दाहालले बताइन्।
कलकल ग्रुपका आर्थिक सल्लाहकार सत्यनारायण प्रजापतिले संस्थालाई टिकाइराख्न कहिलेकाहीँ बाहिरी देशबाट पनि कच्चा पदार्थ ल्याउनुपर्ने आवश्यकता हुनसक्ने र त्यसलाई अन्यथा लिन नहुने बताए।
सल्लाहकार दीपादेवी कुँवरले आध्यात्मिक कार्यक्रममार्फत कलकल ग्रुपलाई फैलाउने योजना रहेको बताइन् भने अर्का सल्लाहकार जुना बस्नेतले सकारात्मक सोच भएका नागरिकहरूलाई कलकलमा जोड्न आफूले प्रयास गरिरहेको जानकारी दिइन्।
यसैगरी नवनियुक्त विशेष सल्लाहकार प्रा. डा. सुशीला मल्लले खाद्य उत्पादन अत्यन्तै संवेदनशील क्षेत्र भएकाले शुद्धता र गुणस्तरीयता कायम राख्न उद्योग सदैव सचेत रहनुपर्ने सुझाव दिइन्। उनले लाइन्स क्लब र स्वास्थ्य क्षेत्रका विभिन्न निकायहरूमा कलकल उद्योगको आफूले प्रचारप्रसार गर्ने पनि बताइन्।

कलकल ग्रुपका सञ्चार संवाहक दीपक न्यौपानेले संस्थाका गतिविधिहरूलाई आमसञ्चारका विभिन्न माध्यमबाट प्रचारप्रसार गर्न प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा आफूले भूमिका खेल्दै आएको र यस कार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाए। उनले कलकलको इतिहास समेटेर आधा घण्टाको डकुमेन्ट्री बनाउन पनि सुझाव दिए। उक्त डकुमेन्ट्रीलाई कलकल ग्रुपको साधारणसभालगायत विभिन्न कार्यक्रममा प्रसारण गर्न सकिने न्यौपानेको सुझाव थियो। कलकल ग्रुपकै फेसबुक पेज र वेबसाइटहरूमा डकुमेन्ट्रीका क्लिपहरूलाई राख्न सकिने र युट्युबहरूमा पनि राख्ने सकिने उनले बताए।
सञ्चार संवाहक न्यौपानेले विभिन्न टेलिभिजनहरूमा उक्त डकुमेन्ट्री प्रसारण गरेर कलकललाई थप प्रचारप्रसार गर्न सकिने समेत सुझाव दिए। संस्था आफैँले तोरी उत्पादन गर्ने भए मध्यपहाडी राजमार्गले जोडिएको सिन्धुपाल्चोकको इन्द्रावती नदीतटीय क्षेत्रको फाँट उपयुक्त र नजिकको गन्तव्य पनि हुन सक्ने भएकाले संस्थाका पदाधिकारीहरूलाई फिल्ड भिजिट गर्न न्यौपानेले सुझाव दिए।
न्यौपानेले हरेक साता शनिबार राति ८ बजेदेखि जुममार्फत दिँदै आएको ‘स्वास्थ्य सरोकार : सुमधुर सम्बन्धको विज्ञान’ कार्यक्रम अत्यन्तै प्रभावकारी भएकाले त्यसमा जोडिन सबैसँग आग्रह गरे। स्वास्थ्य संवाहक दाहालले शरीर, मन, भावना र चेतना जस्ता स्थूल र सूक्ष्म गरी सम्पूर्ण शरीर कसरी स्वस्थ राख्ने विषयमा प्रभावकारी ढंगले प्रस्तुति दिँदै र साधनासमेत गराउँदै आएको अनुभव न्यौपानले सुनाएका थिए।
महान् कर्म, सकारात्मक सोच, सुमधुर सम्बन्धको विज्ञानलगायत धेरै विषयमा स्वास्थ्य संवाहक दाहालले प्रभावकारी ढंगले प्रकाश पार्दै आएको अनुभव न्यौपानले बैठकमा सुनाएका थिए। स्वास्थ्य संवाहक दाहालले प्रस्तुत गर्दै आएको स्वास्थ्य सरोकार : सुमधुर सम्बन्धको विज्ञान कार्यक्रमले विशेषगरी मनका दुःख र उल्झनहरूको समाधान दिने भएकाले त्यस कार्यक्रममा जोडिएर भरपुर लाभ उठाउन न्यौपानेले सबैलाई सुझाव दिए।
कलकल ग्रुपले संस्थाका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतसहित सल्लाहकार र संवाहकहरूबीचको अन्तरक्रियात्मक बैठक दुई–दुई महिनामा राख्दै आएको छ।

                                             
                                             
                                             
                                             
                                             
                                             

