टी-२० विश्वकप छनोट : मलेसियालाई ६ विकेटले हराउँदै नेपाल सेमिफाइनलमा

हिमाल प्रेस १४ कार्तिक २०८० १६:२६
20
SHARES
टी-२० विश्वकप छनोट : मलेसियालाई ६ विकेटले हराउँदै नेपाल सेमिफाइनलमा

काठमाडौँ- आइसीसी टि-२० विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले मलेसियामाथि ६ विकेटको जित हात निकालेको छ। जितसँगै नेपाल सेमिफाइनल प्रवेश गरेको छ। अब नेपालले समूह ए मै रहेको ओमानसँग सेमिफाइनलमा खेल्नेछ। नेपाल र ओमानको समान ४ अंक भए पनि रनरेटका आधारमा ओमान अगाडि छ।

मंगलबार जितका लागि १ सय ६६ रनको विजयी लक्ष्य पछ्याएको नेपालले १८ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो। नेपालको जितमा कुशल मल्ल ३४ बलमा २ चौका र ७ छक्कासहित सर्वाधिक ६५ रन बनाएर आउट भए। नेपाललाई ओपनर कुशल भुर्तेलले २५ बलमा ४ चौका र ४ छक्कासहित ४३ रन जोड्दै जित सहज गराएका थिए।

कुशल पवनदीप सिंहको बलमा मिडअफमा शार्विन मुनिआन्दीबाट क्याच आउट भएपछि लगातार तेस्रो अर्धशतक बनाउन चुकेका थिए। दोस्रो विकेटका लागि कुशल मल्ल र आसिफ शेखले ६७ रनको साझेदारी गरे। आसिफ २३ बलमा १ चौका र २ छक्कासहित ३२ रनमा कट एण्ड बोल्ड आउट भए।

रोहित पौडेल २ रनमा आउट भए । सन्दीप जोरा १८ र विवेक यादव २ रनमा अविजित रहे। मलेसियाका अमिर अजिमले ३ ओभरमा १७ रन खर्चेर ३ विकेट लिए । पवनदीपले १ विकेट लिए।

त्यसअघि टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको मलेसियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ६५ रन बनाएको थियो । मलेसियाका ओपनर सैद अजिजले ४९ बलमा ८ चौका र २ छक्कासहित सर्वाधिक ६८ रनको योगदान दिएपनि जितको लागि पर्याप्त हुन सकेन ।

मलेसियाका ओपनर अहमद जुबैदी र सइद अजिजले ५.५ ओभरमा ५८ रनको साझेदारी गर्दै उत्कृष्ट सुरुवात गरेका थिए। अभिनाश बोहराको छैटौं ओभरको पाँचौं बलमा जुबैदीलाई कुशल मल्लबाट क्याच आउट गराए। जुबैदीले १६ बलमा ३ चौकासहित २४ रन बनाए । त्यसपछि नेपाल खेलमा फर्किएको थियो ।

सातौं ओभरको अन्तिम बलमा दुई रन लिनेक्रममा अहमद फैज ३ रनमा रन आउट भए । सन्दीप लामिछानेले ११ औं ओभरको पहिलो बलमा विरनदीपसिंह ४ रनमा एलबीडब्लू आउट गरेका थिए । कप्तान रोहित पौडेलले शार्विन मुनिआन्दीलाई १३ रनमा कट एण्ड बोल्ड आउट भए । मोहम्मद आमिरलाई अभिनाश बोहराले ८ रनमा बोल्ड आउट गरेका थिए ।

फिर्ती साम ६ र विजय उन्नीले १३ रन बनाए । नेपालको जितमा तीव्र गतिका बलर अभिनाश बोहराले ४ ओभरमा २७ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । स्पिनर सन्दीप लामिछानेले ४ ओभरमा २२ रन खर्चेर १ विकेट लिए । गुलशन झाले ३ ओभरमा १८ रन खर्चेर १ विकेट लिए । रोहित पौडेलले २ ओभरमा १८ रन खर्चेर १ विकेट लिए । करण केसीले ४ ओभरमा ४२ रन खर्चिए । सोमपाल कामीले २ ओभरमा १८ रन खर्चेका थिए ।

नेपालले पहिलो खेलमा सिंगापुरलाई ८ विकेटले हराएको थियो । उता ओमानले पहिलो खेलमा मलेसियालाई ३२ रन र दोस्रो खेलमा सिंगापुरलाई २२ रनले हराएको थियो । समूह ए मा नेपाल २ खेलमा ४ अंकका साथ शीर्ष स्थानमा छ । ओमान २ खेलमा ४ अंकका साथ दोस्रो स्थानमा छ ।

समूह ए मा नेपालले अन्तिम खेल बिहीबार ओमानसँग खेल्नेछ। विजेता टोलीले समूह बी को उपविजेता र उपविजेता टोलीले समूह बीको विजेतासँग खेल्नेछ। फाइनलमा पुग्ने दुई टोलीले २०२४ मा अमेरिका र वेस्टइन्डिजमा हुने टि-२० विश्वकप खेल्न पाउनेछन्। समूह बी मा युएई २ खेलमा ४ अंकका साथ शीर्षस्थानमा छ ।

प्रकाशित: १४ कार्तिक २०८० १६:२६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + twelve =