काठमाडौँ- आईसीसी टी २० विश्वकप एसिया छनोटमा ओमानले लगातार दोस्रो जित हात पारेको छ।
समूह ‘ए’ अन्तर्गत मंगलबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा ओमानले सिंगापुरलाई २२ रनले पराजित गरेको हो। ओमानको जितसँगै नेपाल दबाबमा परेको छ। अंकतालिकामा ओमान नेपालभन्दा अगाडि पुगेको छ। नेपालले भने समूह चरणको अर्को खेल खेल्न बाँकी छ। आजै नेपाल सिंगापुरसँग भिड्दैछ।
पहिलो खेलमा मलेसियालाई ३२ रनले पराजित गरेको ओमान सेमिफाइनल नजिक पुगेको छ। समूह ‘ए’ मा २ खेलबाट ४ अंकसहित ओमान शीर्ष स्थानमा छ।
ओमानले दिएको १७५ रनको लक्ष्य पछ्याएको सिंगापुरले २० ओभरमा ८ विकेट गुमाएर १५२ रन मात्र बनाउन सक्यो। सिंगापुरका लागि सुरेन्द्रन चन्द्रमोहनले सर्वाधिक ४१ र मनप्रित सिंहले ३१ रन बनाए।
बलिङमा ओमानका बिलाल खान र फयज बटले समान २ विकेट लिए।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको ओमानले अकिब इल्यासको अर्धशतक मदतमा ६ विकेट गुमाएर १७४ रन बनाएको थियो । अकिबले ३५ बल खेल्दै ४ चौका र ४ छक्का मदतमा सर्वाधिक ६३ रन बनाए । कप्तान जिसान मक्सुदले १६ बलमा २६ रन बनाए ।
सिंगापुरका लागि जनक प्रकाश, रमशे कालिमुथु र अनिश परमले समान दुई विकेट लिए।
हङकङमाथि बहराइनको जित
यता समूह ‘बी’ अन्तर्गत बहराइनले हङकङलाई २० रनले हराएको छ। यो हारसँगै हङकङको सेमिफाइनल सम्भावना कठिन बनेको छ।
जितको लागि १ ४७ रनको विजयी लक्ष्य पछ्याएको हङकङ १९.१ ओभरमा १ सय २६ रनमा अल आउट भयो। हङकङका अंशुमन रथले सर्वाधिक २८ रन बनाए । अन्य कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन्।
हङकङले सुरुवात निकै खराब रहेको थियो। पहिलो ओभरको चौथो बलमा मजिद अब्बासीको बलमा ओपनर निजाकत खान ४ रनमा बोल्ड आउट भए। मजिद अब्बासीको बलमा उच्च लयमा रहेका मार्टिन कोट्जी २ रनमा क्याच आउट भएका थिए।
स्पिनर अली दाउदले बाबर हायतलाई ६ रनमा बोल्ड आउट गरेपछि हङकङ १३–३ को अवस्थामा पुगेको थियो।
चौथो विकेटका लागि अंशुमन रथ र एजिज खानले चौथो विकेटका लागि ५० रनको साझेदारी गरेका थिए । तीव्र गतिका बलर जावेद अनवारले ल्वो फुलटस बलमा एजिजलाई १९ रनमा एलबीडब्लू आउट गरे ।
नस्रुला राना ६ बलमा १ चौका र २ छक्कासहित १६ रनमा आउट भएका थिए । हङकङलाई २४ बलमा जितको लागि ३७ रन चाहिँएको थियो । सुरुवाती चार बलमा तीन रन बटुलेको थियो ।
पाँचौं बलमा जिशान अली २१ रनमा रन आउट भए । उनले ११ बलमा ३ चौका प्रहार गरे । लगत्तै अर्को बलमा रिजवानले यासिम मुर्तजालाई ९ रनमा बोल्ड गरेपछि जितको सम्भावना सकिएको थियो ।
बहराइनका रिजवान बटले ४ ओभरमा २६ रन खर्चेर २ विकेट लिए । अब्दुल मजिदले ३.१ ओभरमा ७ रन खर्चेर ३ विकेट लिए । अली दाउदले ४ ओभरमा २३ रन खर्चेर २ विकेट लिए ।
त्यसअघि माथिल्लो मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बहराइनले १९.३ ओभरमा १ सय ४६ रनमा अल आउट भएको थियो। बहराइनको जितमा इमरान अली बटले ४३ बलमा ५ चौका र ३ छक्कासहित सर्वाधिक ६२ रनको योगदान दिएका थिए। उनी बाहेक अन्य कुनैपनि बहराइनका खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् ।
इमरान जावेद १५, हैदर अली १४ र मोहम्मद रिजवान १३ रनमा आउट भए । अन्य दोहोरो अंकमा रन जोड्न सकेनन्। हङकङले २० वाइड र एक लेग वाई गरि २१ रन अतिरिक्त दिएको थियो।
हङकङका तीव्र गतिका बलर नस्रुला रानाले ३.३ ओभरमा २१ रन खर्चेर ३ विकेट लिए । एहसान खानले ४ ओभरमा १ मेडनसहित १७ रन खर्चेर २ विकेट लिए। मोहम्मद अजिज खानले ४ ओभरमा १ मेडनसहित ३८ रन खर्चेर २ विकेट लिए । यासिम मुर्तजाले ४ ओभरमा ३१ रन खर्चेर २ विकेट लिए।
हङकङले पहिलो खेलमा कुवेतलाई ३१ रनले हराएको थियो। बहराइन पहिलो खेलमा युएईसँग ५ विकेटले पराजित भएको थियो । हङकङले अब बिहीबार यूएईसँग खेल्नेछ। उता बहराइनले बिहीबार कुवेतसँग खेल्नेछ । अन्तिम दिनको नतिजाले सेमिफाइनल निर्धारण गर्नेछ।