कोशी प्रदेश : मन्त्रिपरिषद् विस्तारबारे कांग्रेस-एमाले छलफल निष्कर्षविहीन

हिमाल प्रेस १४ कार्तिक २०८० ९:४९
18
SHARES
कोशी प्रदेश : मन्त्रिपरिषद् विस्तारबारे कांग्रेस-एमाले छलफल निष्कर्षविहीन

इटहरी- कोशी प्रदेशको मन्त्रिपरिषद् विस्तारबारे नेपाली कांग्रेस र नेकपा एमालेबीच भएको छलफल निष्कर्षविहीन भएको छ।

मुख्यमन्त्री कार्यालयमा सोमबार भएको छलफलमा सरकार विस्तार, प्रतिस्थापन विधेयक ल्याउने र सदन सञ्चालनबारे छलफल भएपनि निष्कर्षबिहीन भएको हो।

छलफलमा एमालेबाट संसदीय दलका उपनेता एवं विनाविभागीय मन्त्री रामबहादुर मगर र प्रमुख सचेतक रेवतीरमण भण्डारी सहभागी थिए। यस्तै, कांग्रेसका तर्फबाट मुख्यमन्त्री केदार कार्की र मन्त्री शमशेर राई सहभागी थिए।

माओवादी, जसपा र एकीकृत समाजवादी पार्टीमध्ये कुनै एकलाई सामेल गरेर मन्त्रिपरिषद् विस्तार गर्नेबारे छलफल गरिएको एमालेका प्रदेश संसदीय दलका प्रमुख सचेतक भण्डारीले जानकारी दिए। छलफलमा मन्त्रिपरिषद् विस्तार गरेपछि मात्रै बजेट पास गर्ने सहमति भएको उनले बताए।

‘हामीले भोलि नै मन्त्रिपरिषद् विस्तार गरौँ भनेर मुख्यमन्त्रीलाई प्रस्ताव राख्यौँ,’ उनले भने, ‘उहाँले कांग्रेस संसदीय दलको नेतासँग पनि छलफल गर्छु भन्नुभयो।’

एमालेले आजको छलफलमा पनि सरकारमा कांग्रेस र एमाले मात्र सहभागी हुनुपर्ने अडान राखेको छ। कांग्रेस र एमालेलाई मात्रै समेटेर मन्त्रिपरिषद् विस्तार गर्नुपर्ने आफूहरूको अडान रहेको उनले बताए।

कांग्रेसले पनि गठबन्धन भित्रको कुनै एक दललाई सहभागी गराएर सरकार विस्तार गर्न सकिने धारणा राखेको बैठकमा सहभागी कांग्रेस सांसद समशेर राईले बताए। उनले प्रदेशमा सहमतिको सरकार बन्ने सम्भावना रहेको भन्दै गठबन्धनबाहेकको सरकार नबन्ने स्पष्ट पारे।

‘गठबन्धनसहित वा गठबन्धन बाहेकको सरकार हैन’ उनले भने, ‘गठबन्धनमा एउटा शक्ति (एमाले) थपिएको रूपमा बुझ्नपर्छ।’ गठबन्धन तथा एमालेसँग छलफल गर्ने जिम्मा पूर्व मुख्यमन्त्री तथा कांग्रेस नेता उद्धव थापालाई दिएको उनले बताए।

संविधानको धारा १६८ को उपधारा ५ अनुसार कांग्रेसका ८ सांसदसहित नेकपा एमालेको सथर्मनमा केदार कार्की असोज २७ मुख्यमन्त्रीमा नियुक्त भएका थिए।

उनले कात्तिक १ गते प्रदेशसभाबाट राप्रपाबाहेक सबै दलको विश्वासको मत पाएपनि सरकार विस्तार गर्न सकेका छैनन्।

प्रकाशित: १४ कार्तिक २०८० ९:४९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + eighteen =