पोखरामा रगत अभाव : रक्तदान गर्न आह्वान

हिमाल प्रेस १४ कार्तिक २०८० ७:०३
4
SHARES
पोखरामा रगत अभाव : रक्तदान गर्न आह्वान

कास्की- गण्डकी प्रदेशको राजधानी पोखरामा बिरामीका लागि रगत अभाव भएको छ। प्रादेशिक रक्त सञ्चार केन्द्र पोखराले दसैँका समयमा नियमित तालिकाअनुसार रक्तदान कार्यक्रम नहुँदा रगत अभाव भएको जनाएको छ।

रक्त सञ्चार केन्द्रमा रगत अभाव हुन थालेपछि अस्पतालहरूमा उपचाररत बिरामीलाई तत्काल रगत अभाव हुन नदिन सोमबार आकस्मिक रक्तदान कार्यक्रम आयोजनासमेत गरिएको छ । पोखरा–५ जिरो किमीमा गरिएको रक्तदान कार्यक्रमबाट ४० युनिट रगत संकलन भएको रक्त सञ्चार केन्द्रका प्रमुख अर्जुन ज्ञवालीले बताए।

उनले भने, ‘दसैँका समयमा विभिन्न संघसंस्थाले गर्ने रक्तदानका कार्यक्रम नियमित हुन सकेनन्। अहिले रगत अभाव भएपछि सबैलाई सहयोग गर्न आग्रह गरेका छौँ । आकस्मिक कार्यक्रम गरेर अभाव टार्ने प्रयास गरेका हौँ।’

रक्त सञ्चार केन्द्रले अहिले रगत छैन भनेपछि सबैबाट सहयोग प्राप्त भएको जनाएको छ। सहज आपूर्तिका लागि दैनिक कार्यक्रम हुनुपर्ने प्रमुख ज्ञवालीले बताए। प्रदेशको राजधानीसमेत रहेकाले पोखरामा दैनिक ७० देखि ७५ युनिट रगत आवश्यक पर्ने केन्द्रले जनाएको छ।

प्रदेशका अन्य जिल्लाबाट समेत यहाँका अस्पतालमा बिरामी उपचारका लागि सिफारिस भएर आउने भएकाले पोखरामा रगतको माग उच्च हुने गर्दछ। आकस्मिक रक्तदान कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख मोहनबहादुर थापाले पोखरामा रगत अभाव देखिएको अवस्थामा स्वतःस्फूर्त सहभागिताप्रति आभार व्यक्त गरे।

‘मानव जीवनसँग प्रत्यक्ष सरोकार राख्ने कार्यप्रति कास्की प्रहरी सदैव जनताको साथमा छ । प्रहरी जनताकै सेवाका लागि रहेको हुँदा जनताको सुरक्षाका साथै जनसेवाका कार्यमा प्रहरी सधैँ साथमा रहन्छ’, उनले भने।

रक्तदान कार्यक्रम आयोजना गरेको अभिभावक गृह कास्कीका अध्यक्ष देवेन्द्र सुवेदीले आकस्मिकरूपमा गरिएको कार्यक्रममा उल्लेख्य सहभागिताप्रति धन्यवाद व्यक्त गरे । उनले भने, ‘रगत अभाव भएको थाहा पाएपछि तत्कालै कार्यक्रमको आयोजना गरिएको हो।’

प्रकाशित: १४ कार्तिक २०८० ७:०३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 4 =