मेरै कूटनीतिक पहलमा राष्ट्रसंघका महासचिव र कतारका राजाको नेपाल भ्रमण हुँदैछ : प्रचण्ड

हिमाल प्रेस ११ कार्तिक २०८० १६:१३
2
SHARE
मेरै कूटनीतिक पहलमा राष्ट्रसंघका महासचिव र कतारका राजाको नेपाल भ्रमण हुँदैछ : प्रचण्ड

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नै कूटनीतिक पहलका कारण संयुक्त राष्ट्रसंघका महासचिव एन्टेनियो गुटेरेस र कतारका राजाले नेपाल भ्रमण गर्न लागेको दाबी गरेका छन्।

बडादसैँ, तिहार, नेपाल संवत् र छठलगायत पर्वका अवसर पारेर नेपाली कांग्रेसले पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरेको चियापान तथा शुभकामना आादनप्रदान कार्यक्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रचण्डले भने, ‘मैले भारत, अमेरिका र चीनको भ्रमणको सन्दर्भमा जुन कूटनीतिक पहल गरेँ त्यसैको परिणामस्वरूप संयुक्त राष्ट्रसंघका महासचिव र कतारका राजा नेपाल आउँदै हुनुहुन्छ।’

प्रचण्डले राष्ट्र संघका महासचिव गुटेरेसको आसन्न नेपाल भ्रमणबाट विश्व समुदायमा नेपालको प्रतिष्ठा अभिवृद्धि हुने विश्वास व्यक्त गरे। उनले नेपाली जनताको आवश्यकता सम्बोधन गर्न उक्त भ्रमणबाट महत्त्वपूर्ण सहयोग मिल्ने बताए।

प्रधानमन्त्री दाहालले राष्ट्रसंघका महासचिवले नेपाल भ्रमणका क्रममा जलवायु परिवर्तन, शान्तिप्रक्रिया र नेपालको आर्थिक विकासको लक्ष्यबारे सम्बोधन गर्ने कार्यक्रम रहेको जानकारी दिए।

चाडपर्वमा हुने चियापान कार्यक्रमले आपसी एकता अभिवृद्धि गर्न मात्रै नभई देशको राष्ट्रिय राजनीतिलाई पनि स्थिरतातर्फ लैजान सघाउ पु¥याउने विश्वास प्रचण्डको छ। ‘मुलुकलाई सहमति र समझदारीको बाटोमा लैजाने तथा जनताको अपेक्षाअनुसार विकास निर्माण र समृद्धिलाई अघि बढाउन चियापानले कुनै न कुनै रूपले सहयोग गर्दै आएको छ’, उनले भने।

आफूले प्रधानमन्त्रीको जिम्मेवारी प्राप्त गरेदेखि नै राजनीतिक दलहरुका बीचमा समझदारी बनाउन प्रयास गर्दै आएको दाबी उनको छ । मुलुकमा अराजकता सृष्टि गर्ने उद्देश्यका साथ राजनीतिक दलहरुमाथि प्रश्न उठाउने गरिएको उल्लेख गर्दै उनले सम्पूर्ण राजनीतिक दल एक ठाउँमा उभिएर त्यस्ता प्रवृत्तिलाई गतिलो जवाफ दिने तयारी भइरहेको बताए।

प्रचण्ड ले प्रमुख राजनीतिक दलहरु एकै ठाउँमा उभिएर परिवर्तन विरोधी प्रवृत्तिलाई निस्तेज पार्ने बताए। गणतन्त्र, संघीयता धर्म निरपेक्षता लगायतका परिवर्तनका विरुद्ध प्रश्न उठाउने चेष्टा गरिएको भन्दै दाहालले भने, ‘यो बीचमा मेरो दौडधुप पनि परिवर्तनका लागि विगतमा संघर्ष गरेका सबै राजनीतिक दलहरुलाई एकताबद्ध गर्नमा केन्द्रित छ।’

प्रधानमन्त्री दाहालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेता तथा कार्यकर्तामा शुभकामना व्यक्त गरेका थिए।

प्रकाशित: ११ कार्तिक २०८० १६:१३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + 9 =