इजरायलसँग सम्बन्ध जोड्न बीपी र महेन्द्रबीच उत्पन्न मतभेद

सन्तोष खडेरी ११ कार्तिक २०८० १८:३०
1.3k
SHARES
इजरायलसँग सम्बन्ध जोड्न बीपी र महेन्द्रबीच उत्पन्न मतभेद इजरायल भ्रमणका क्रममा प्रधानमन्त्री बीपी कोइराला इजरायली प्रधानमन्त्री डेभिड बेन गुरियनका साथ र नेपाल–इजरायलबीच दौत्य सम्बन्ध कायमसम्बन्धी सिभिल एन्ड मिलिटरी गजेट लाहोर पत्रिकाको २ जुन १९६० को अंकमा प्रकाशित समाचार अंश।

इजरायलमा हमासले आक्रमण गर्दा १० नेपालीको ज्यान गएको छ। युद्धका कारण फसेका साढे दुई सयभन्दा बढी नेपालीलाई सरकारले उद्धार गरी स्वदेश फर्काएको छ। निधन भएका केही व्यक्तिको शव नेपाल ल्याइसकिएको छ भने केही आउने क्रममा छन्। नेपालीको उद्धार र स्वदेश फिर्तीमा इजरायल सरकारले पूर्ण सहयोग गर्दै आएको छ। नेपालका लागि इजरायली राजदूत हनान गोडेरको भूमिका पनि प्रभावकारी देखिन्छ। युद्ध जारी रहेको इजरायलमा अझै कैयौँ नेपाली रोजगारीमा संलग्न छन्। त्यसैले इजरायलसँग नेपालको सम्बन्धबारे धेरैको चासो छ। यहाँ सोही मित्र मुलुक इजरायलसँग दौत्य सम्बन्ध कायम हुँदाका ऐतिहासिक प्रसंगबारे चर्चा गरिएको छ–

नेपालकाे पहिलो जननिर्वाचित सरकारका प्रधानमन्त्री बीपी कोइराला र तत्कालीन राजा महेन्द्रबीच थुप्रै मतभेद थिए। राजा महेन्द्रमा आफैँ प्रत्यक्ष शासन गर्ने तीव्र महत्त्वाकांक्षी स्वभाव थियो। पछि राजा महेन्द्रले संसद् र सरकार दुवै विघटन गर्दै प्रधानमन्त्री कोइरालालाई जेल चलानसमेत गरे।

त्यस्तै महेन्द्र र बीपीबीच एउटा मतभेद नेपाल र इजरायलका बीचमा कूटनीतिक सम्बन्ध कायम गर्ने सम्बन्धमा पनि थियो। जुन कुरा बीपी कोइरालाको आत्मवृत्तान्तमा  उल्लेख भइसकेको छ। त्यहाँ राजाले अहिल्यै इजरायलसँग सम्बन्ध कायम नगर भनेर टेलिग्राम पठाएको उल्लेख छ। त्यो टेलिग्राम के थियो र त्यसमा के कुरा लेखिएको थियो भन्ने कुरा सबैलाई चासोको विषय हुन सक्छ। विभिन्न अभिलेखालयमा नेपालको इतिहाससम्बन्धी अभिलेखको खोजी गर्ने क्रममा फेला परेका ती टेलिग्रामलाई यहाँ प्रस्तुत गरिएको छ।

नेपालको इतिहासमा पहिलोपटक वि.सं. २०१५ (सन् १९५९) मा भएको आमनिर्वाचनबाट नेपाली कांग्रेसले दुईतिहाई बहुमत हासिल गरेको थियो। त्यसपछि बीपी पहिलो जननिर्वाचित प्रधानमन्त्री भए। सन् १९५९ मे २७ मा बीपीको नेतृत्वमा नयाँ सरकार गठन भएको थियो। कोइराला नेतृत्वको सरकारले नेपालसँग सम्बन्ध स्थापनाका लागि पहल गर्ने राष्ट्रहरूसँग प्रक्रिया अघि बढाउने नीति लिएकै थियो। वैदेशिक मामिलामा उनको सरकारले स्वतन्त्र, असंलग्न र सबैसँग मित्रवत् सम्बन्ध राख्ने घोषित नीति अंगीकार गरेको थियो। फलस्वरूप १८ महिना अवधिमा कोइराला सरकारले १६ देशसँग दौत्य सम्बन्ध स्थापना गरेको थियो।

वैदेशिक मामिलामा असंलग्न परराष्ट्र नीतिलाई जोड दिँदै दुवै छिमेकी भारत र चीनबाट पृथक रहेर आफ्नो अलग सार्वभौमसत्ताको परिचय दिँदै छुट्टै निर्णय लिन सक्छ भन्ने उदाहरण पाकिस्तान र इजरायलसँग दौत्य सम्बन्ध स्थापना गरेर प्रस्तुत गरेको थियो। २३ मार्च १९६० मा पाकिस्तानसँग दौत्य सम्बन्ध स्थापना भयो। त्यतिबेला चीन र भारत दुवैले मान्यता नदिएको इजरायललाई मान्यता दिएर नेपालले १ जुन-१९६० मा इजरायलसँग दौत्य सम्बन्ध स्थापना गरेको थियो।

सन् १९६० को दशकमा इजरायललाई अलग राष्ट्रका रूपमा मान्यता दिएर सम्बन्ध स्थापना गर्ने संसारका थोरै मुलुकको सूचीमा नेपाल थियो। नेपालले इजरायलसँग दौत्य सम्बन्ध कायम गर्ने निर्णय लिँदा राजा महेन्द्र ४ महिना लामो विदेश भ्रमणमा थिए। सन् १९६० को १० अप्रिलमा उनी काठमाण्डौँबाट कलकत्ता हुँदै जापानका लागि प्रस्थान गरेका थिए।

उनको भ्रमण सूचीमा जापानपछि अमेरिकाको राजकीय भ्रमण थियो। त्यस्तै थाइल्यान्ड, हङकङ, क्यानडा, इजिप्टसहितका अरब देश र अन्य युरोपेली देशहरूको समेत निजी भ्रमणको कार्यक्रम तय भएको थियो। राजाको सवारीमन्त्रीका रूपमा कोइराला मन्त्रिपरिषद्‌मा उनीपछिका वरिष्ठ उनका अत्यन्तै विश्वासिला पात्र तत्कालीन उपप्रधानमन्त्री एवं अर्थमन्त्री जनरल सुवर्णशमशेर थिए। राजाको देश तथा विदेश भ्रमणमा उनको सवारीका साथमा एकजना मन्त्री खटिने प्रचलन थियो। त्यसै वर्षको सुरुमा राजाको पश्चिम नेपाल भ्रमणको सिलसिलामा प्रधानमन्त्री कोइराला आफैँ खटिएका थिए। उनी भारतको राजकीय भ्रमणमा जानुपर्ने भएपछि दाङसम्म पुगेर त्यहाँबाट काठमाडौँ फर्किएका थिए। त्यतिबेला डा. तुल्सी गिरी राजाको पश्चिम नेपाल भ्रमणमा खटिएका थिए।

प्रधानमन्त्रीले नेपालबाट राजासँग र राजाले प्रधानमन्त्रीसँग सवारीबाट सम्पर्क गर्दा उनै सवारी मन्त्री सुवर्णशमशेरमार्फत गर्दथे।

कोइराला नेतृत्वमा सरकार गठन हुँदा नेपालसँग सम्बन्ध स्थापनाका लागि पहल गर्ने राष्ट्रहरूसँग सम्बन्ध स्थापना गर्ने सैद्धान्तिक नीतिमा सरकारले राष्ट्राध्यक्ष राजा महेन्द्रसँग सहमति लिइसकेको थियो। हाम्रा छिमेकीसँग सम्बन्ध नभए पनि विश्वका शक्ति राष्ट्रहरूसँग सम्बन्ध रहेको संयुक्त राष्ट्रसंघको सदस्य राष्ट्र इजरायलले नेपालसँग कूटनीतिक सम्बन्ध राख्ने प्रस्ताव गरेको थियो। राजासँग पहिल्यै त्यसबारेमा सरकारले सैद्धान्तिक सहमति लिइसकेकाले इजरायलका विषयमा फेरि राजासँग सहमति लिनुपर्ने आवश्यक थिएन। प्रधानमन्त्री कोइरालाको राय पनि त्यही थियो।

त्यतिबेला इजरायलको उपस्थिति भारतमा थिएन र उसले नेपालका प्रधानमन्त्रीसँग सम्पर्क राख्न चाहेको थियो। प्रधानमन्त्री कोइराला सोही मार्चमा चीनको राजकीय भ्रमणमा जाँदा बर्मा पुगेका थिए। बर्मासँग इजरायलको सम्बन्ध रहेका कारण इजरायली राजदूतले बर्मामा प्रधानमन्त्री कोइरालासँग भेटेका थिए। त्यही भेटमा कूटनीतिक सम्बन्ध कायम राख्ने चर्चा भएको थियो। कोइराला सरकारले सम्बन्ध राखेका पाकिस्तान र इजरायल त्यतिबेला अलिक जटिल विषय थियो। त्यतिबेला पाकिस्तान र इजरायल दुवै अमेरिकी खेमाका मुलुक थिए। तीसँग सम्बन्ध राख्दा कोइरालाले इस्लामाबाद हुँदै तेलअभिभको बाटो भएर वासिङ्टनको यात्रा तय गरे भन्ने हिसाबले हाम्रा दुवै छिमेकीलाई निकै झस्काएको भने थियो।

राजा जापान गएका बेला नेपालबाट प्रधानमन्त्री कोइरालाले उपप्रधानमन्त्री सुवर्णशमशेरका नाममा एउटा गोप्य कोड टेलिग्राम पठाएका थिए। उक्त कोड टेलिग्राममा दुईवटा विषय उल्लेख गर्दै ती दुवै विषय राजाका अगाडि प्रस्तुत गर्न उपप्रधानमन्त्रीलाई आग्रह गरेका थिए। टेलिग्राममा कोइरालाले यस्तो उल्लेख गरेका थिए –

‘अन्य मुलुकहरूसँग नेपालले कूटनीतिक सम्बन्ध कायम गर्ने सम्बन्धमा नेपालको खुला द्वार नीतिअन्तर्गत त्यस्तो प्रस्ताव आएमा इजरायलसँग समेत कूटनीतिक सम्बन्ध कायम राख्ने सम्बन्धमा मैले राजासँग पहिले नै सैद्धान्तिक सहमति लिइसकेको छु। इजरायलबाट आएको त्यस किसिमको प्रस्तावमा मैले इजरायलसँग नेपालले कूटनीतिक सम्बन्ध कायम गर्ने नेपालको निर्णयका बारेमा उनीहरूलाई जानकारी दिइसकेको छु र अर्को महिना त्यसको घोषणा हुनेछ। इजरायलमा आयोजना हुने सोसलिस्ट इन्टरनेसनलको बैठकमा नेपाली कांग्रेसको प्रतिनिधिका रूपमा सहभागी हुन पार्टीकै हैसियतले तुलसी गिरी इजरायल जाँदैछन्।’

तत्कालीन राजा महेन्द्र र प्रधानमन्त्री बीपी कोइराला।

सोही मे महिनाको दोस्रो साता अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूमा नेपाल र इजरायलबीच दौत्य सम्बन्ध कायम हुने समाचार सार्वजनिक भयो। उक्त समाचार सार्वजनिक हुँदा राजा महेन्द्र अमेरिकामा थिए। राजा अमेरिकाबाट क्यानडा, अन्य युरोपेली मुलुक हुँदै व्यक्तिगत भ्रमणका लागि इजिप्ट जाने योजनामा थिए। इजिप्टसँग नेपालको दौत्य सम्बन्ध स्थापित भइसकेको थियो। त्यहीअनुसार राजाको भ्रमण कार्यक्रम तय भएको थियो। नेपाल र इजरायलबीच दौत्य सम्बन्ध कायम हुने समाचारले राजाको ध्यान खिच्यो। त्यसबाट उनले आफ्नो पूर्वनिर्धारित इजिप्ट भ्रमण प्रभावित हुने ठहर गरे। त्यसपछि उनले आफ्नो सवारीमन्त्रीका रूपमा रहेका उपप्रधानमन्त्री सुवर्णशमशेरमार्फत नेपालमा प्रधानमन्त्री कोइरालालाई अर्को एउटा गोप्य कोड टेलिग्राम पठाएका थिए। उक्त टेलिग्राममा यस्तो उल्लेख थियो –

‘नेपाल र इजरायलका बीचमा दौत्य सम्बन्ध कायम हुने सम्बन्धी समाचार अनौपचारिक रूपमा भारत र विदेशतिरका अन्य सञ्चारमाध्यममा सार्वजनिक भइसक्यो। उक्त घोषणा चाँडै गर्नेमा इजरायल आतुर देखिन्छ। राजा नेपाल नफर्किँदासम्म यदि औपचारिक घोषणा एक महिनासम्मका लागि रोकेर राख्न सकिन्छ कि भनेर एकपटक इजरायललाई खबर गर्नू।’

उक्त टेलिग्रामको जवाफमा नेपालबाट प्रधानमन्त्री कोइरालाले अमेरिकामा उपप्रधानमन्त्री सुवर्णलाई अर्को गोप्य कोड टेलिग्राम पठाएका थिए। जसमा यस्तो उल्लेख थियो-

‘उपप्रधानमन्त्रीज्यू! म तपाईँका माध्यमबाट महाराजाधिराजसमक्ष सरकारका तर्फबाट आफ्नो सुझाव एवं धारणा राख्न चाहन्छु, मेरो तारलाई मौसुफका समक्ष प्रस्तुत गरिदिनुहोला। नेपाल र इजरायलका बीचमा दौत्य सम्बन्ध कायम हुने सम्बन्धी समाचार अनौपचारिक रूपमा अरब देशहरूमा समेत प्रकाशित भइसक्यो। यस्तो अवस्थामा मैले मौसुफलाई यहाँको भ्रमण सूचीबाट अरब देशहरूको नाम हटाउन र ती देशको व्यक्तिगत भ्रमण नगर्न आग्रह गर्दछु। भ्रमण अनौपचारिक र निजी नै भए पनि त्यससम्बन्धी समाचार प्रकाशित हुँदा मौसुफलाई त्यहाँ असुविधा हुन सक्छ। त्यसैले त्यस्तो परिस्थितिमा त्यहाँ नजान नै उचित हुन्छ। संयुक्त अरब गणतन्त्र (इजिप्ट) का प्रतिनिधि नेपालले इजरायलसँग दौत्य सम्बन्ध कायम नगरोस् भन्ने संकेत दिन मकहाँ आइपुगेका थिए। मैले उनलाई इजरायल संयुक्त राष्ट्रसंघको एउटा सदस्य राष्ट्र, सबै ठूला शक्ति राष्ट्रहरूले मान्यता दिएर दौत्य सम्बन्ध कायम गरिसकेको राष्ट्र, नेपाल सरकारको स्वतन्त्र, असंलग्न र सबैसँग मित्रवत् सम्बन्ध राख्ने घोषित नीतिअन्तर्गत इजरायलसँग सम्बन्ध कायम राख्न न्यायसंगत हुनाले हामीले सम्बन्ध कायम गर्छौँ भनी जवाफ दिए। त्यस्तै हामी आशा गर्दछौँ कि इजरायल र अरब देशहरूका बीचमा रहेको मैत्रीपूर्ण सम्बन्ध हालका दिनमा केवल प्यालेस्टाइनको शरणार्थीसम्बन्धी प्रश्नमा तनावग्रस्त देखिएको छ। चाँडै नै त्यो शान्तिपूर्ण रूपमा आपसी छलफल र कुराकानीका माध्यमबाट समाधान हुनेछ। हामीले आगामी जुनको पहिलो दिनबाट नेपाल र इजरायलका बीचमा औपचारिक रूपमा कूटनीतिक सम्बन्ध कायम गर्ने घोषणा गर्नेछौँ।’

इजरायलसँग नेपालको औपचारिक सम्बन्ध कायम भएपछिको बदलिँदो परिस्थितिमा राजालाई इजिप्टको भ्रमण गर्न सहज भएन। उनले प्रधानमन्त्रीको सुझाव र आग्रहअनुसार इजिप्ट भ्रमण नगरी नेपाल फर्किए।

इजरायलसँग कूटनीतिक सम्बन्ध स्थापना गर्ने विषयलाई कोइरालाले आफ्नो आत्मवृत्तान्तमा यसरी उल्लेख गरेका छन्-

‘बर्मामा इजरायली राजदूतसँग भेट भयो र अब हाम्रो दौत्य सम्बन्ध कायम गर्नुपर्छ भन्ने सहमति भयो। हामीले मन्त्रिमण्डलबाट सिद्धान्तत: भने जुनसुकै मुलुकले हामीहरूसँग अघि सरेर दौत्य सम्बन्ध कायम गर्न चाहन्छ, हामीले त्यससँग सम्बन्ध कायम गर्ने भन्ने पारित गरिसकेका थियौँ। यो सैद्धान्तिक रूपमा निर्णय भएको कुरा थियो र त्यसमा राजाको पनि स्वीकृति प्राप्त भइसकेको थियो। त्यसो हुनाले स्वीकृतिबमोजिम जो पनि सम्बन्ध कायम गर्न आउँछ, हामीले स्वीकार गर्दै जाने कुरा थियो, प्रत्येकको सम्बन्धमा राजासँग स्वीकृति लिइरहनुपर्ने आवश्यकता थिएन। पछि, इजराइलीहरूसँग दौत्य सम्बन्ध स्थापित गर्ने कुरामा राजासँग मेरो मतभेद हुँदा मैले त्यही कुरा भनेँ कि यो त हामीले सैद्धान्तिक रूपमा पास गरिसकेका थियौँ। राजाले एकदुईचोटि टेलिग्राम पठाएका थिए, अहिले नगर भनेर। तर दौत्य सम्बन्ध कायम राख्ने कुरा तय भइसकेको थियो। (विश्वेश्वरप्रसाद कोइराला आत्मवृत्तान्त, संकलक गणेशराज शर्मा, जगदम्बा प्रकाशन- २०५५, दोस्रो संस्करण, पृष्ठ २४०-२४१)

इजरायलसँग दौत्य सम्बन्ध कायम गर्ने कुरामा के भयो भने राजा कहीँ भ्रमणमा गएका थिए। हामीले सम्बन्ध कायम गर्ने घोषणा गर्नासाथ उनले अखबारमा पढेर टेलिग्राम पठाए, अहिले नगर भनेर अब हामीले घोषणा गरिसकेका थियौं, कुरा अगाडि बढिसकेको थियो। नगर भन्दा त राम्रो भएन। मैले खबर पठाएँ, यो अघि नै निर्णय भइसकेकाले अब नगर्नु हुँदैन भनेर। त्यसपछि उनले फेरि खबर पठाए, त्यो मैले मानिनँ। अरू देशहरूसँग सम्बन्ध स्थापित गर्ने कुरामा एउटा सिद्धान्त निर्धारित भइसकेको थियो र उनीहरूलाई त्यस कुराको जानकारी पनि दिइसकेपछि त्यसलाई फिर्ता लिन हुँदैन भन्ने मेरो धारणा थियो।

अनि राजाले मलाई आएर के स्पष्ट गरे भने, ‘त्यो सम्बन्ध नहोस् भनेको होइन। म इजिप्टको भ्रमण गर्न चाहन्थेँ। त्यो घोषणापछि त इजिप्ट जान गाह्रो भयो। म इजिप्टको कार्यक्रम रद्द गरेर आएँ।’ (विश्वेश्वरप्रसाद कोइराला आत्मवृत्तान्त, संकलक गणेशराज शर्मा, जगदम्बा प्रकाशन- २०५५, दोस्रो संस्करण, पृष्ठ २४८-२४९)

ती टेलिग्राम सर्सर्ती हेर्दा इजरायलसँग दौत्य सम्बन्ध कायम गर्ने औपचारिक घोषणालाई एक महिनाजति पर सार भन्ने राजाको आसय देखिन्छ। तर ‘रात रहे अग्राख पलाउँछ’ भन्ने उखान नेपाली राजनीतिमा सधैँ चरितार्थ हुन गरेको छ। त्यो त्यतिबेला थाती राखिएको भए पछि जे पनि हुन सक्थ्यो भन्नेचाहिँ रहिरहन्छ। बीपी कोइरालाले एकदुईचोटि टेलिग्राम आएको उल्लेख गर्नु र अहिले यति तीनवटा टेलिग्राम भेटिनुले पूर्णत: होइन होला तर त्यतिबेलाको अवस्था बुझ्नका लागि यी पर्याप्त छन्। राजाले आफ्नो पूर्वनिर्धारित व्यक्तिगत इजिप्ट भ्रमण गर्नका लागि त्यतिबेला त्यसलाई थाती राख भन्न चाहेको देखिन्छ तर राजा महेन्द्रजस्ता चतुर राजाको भित्री आसय वास्तवमा के थियो त भन्ने चाहिँ बुझिँदैन।

सोही अगस्टमा प्रधानमन्त्री बीपी कोइरालाले इजरायलको ९ दिने औपचारिक भ्रमण गरेका थिए। सेप्टेम्बरमा नेपालका लागि इजरायली राजदूतले त्यहाँका प्रधानमन्त्री डेभिड बेन गुरियन र रक्षाराज्यमन्त्री सिमोनका तर्फबाट ४० वटा मेसिनगन उपहार प्रदान गरेका थिए। त्यस्तै प्रधानमन्त्री कोइरालाको निमन्त्रणामा सोही नोभेम्बरमा नेपाली पानीबारे अध्ययन र अन्य विकाससम्बन्धी समस्या अध्ययन र सुझावका लागि तीन सदस्यीय इजरायली प्राविधिक नेपाल पुगेका थिए। (मिडल इस्ट रेकर्ड, १९६०)

राजा महेन्द्रले कोइरालालाई अपदस्थ गरेपछि उनको प्रत्यक्ष शासनकालमा समेत नेपाल इजरायलसम्बन्धी मैत्रीपूर्ण रूपमा कायम भयो। सन् १९६३ सेप्टेम्बरमा इजरायलका राष्ट्रपति जाल्मन साजारको निमन्त्रणामा राजा महेन्द्रले इजरायलको एक साता लामो राजकीय भ्रमण गरेका थिए। सन् १९६६ मार्चमा नेपालका राजा महेन्द्रको निमन्त्रणामा इजरायलका राष्ट्रपति जाल्मन साजारले नेपालको एक साता लामो राजकीय भ्रमण गरेका थिए।

साजारले सोही नेपाल भ्रमणका क्रममा सिलसिलामा राजा महेन्द्रद्वारा रचित कृति ‘A Garland of Verses’ हिब्रु भाषामा अनुवाद गरी उपहारस्वरूप राजालाई प्रदान गरेका थिए। उक्त कृति राष्ट्रपति साजार आफैँले हिब्रु भाषामा अनुवाद गरेका थिए। सन् १९६५ मा तेल अभिभ इजरायलबाट प्रकाशित उक्त हिब्रु अनुवाद साजारले दुईबीचको मित्रताको प्रतीकस्वरूप राजालाई हस्तान्तरण गरेका थिए। सन् १९७२ मा राजा महेन्द्रको निधनपछि इजरायलका राष्ट्रपति साजारले एक रेडियो सम्बोधनमार्फत इजरायलले एक सच्चा मित्र गुमाएको बताएका थिए। साथै उनले राजा महेन्द्रसँगको आफ्नो व्यक्तिगत सम्बन्धको उल्लेख गर्दै आफूले राजा महेन्द्रका केही कविताहरू हिब्रु भाषामा अनुवाद गरेको स्मरण गरेर उनीप्रति श्रद्धा व्यक्त गरेका थिए।

प्रकाशित: ११ कार्तिक २०८० १८:३०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + fifteen =