गगन/विश्वप्रकाश युग र राजतन्त्र पुनरागमनको धुकधुकी

आरबी शर्मा पाध्ये १० कार्तिक २०८० ८:०७
374
SHARES
गगन/विश्वप्रकाश युग र राजतन्त्र पुनरागमनको धुकधुकी कांग्रेस महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मा। तस्बिर : थापाको फेसबुक

मुलुकमा देखिएको राजनीतिक, सामाजिक तथा आर्थिक अवस्था आँधी आउनुपूर्वको चकमन्नता वा शून्यताजस्तो लाग्दैछ। कुनै किसिमको चलायमान अवस्था देखिँदैन। ऊर्जाविहीन मानिस आलस्यमा सुस्ताएको जस्तो छ वातावरण। यो नेपालीमा देखिएको नैराश्यको द्योतक हो या निरीहताको पक्षपोषण हो केही भन्न सकिने अवस्था छैन।

मानिसको स्वभाव नित्य नवीन थरीथरीका खबर सुन्न चाहने हुन्छ। विभिन्न घटनापरिघटनाले समाज चलायमान होस् भन्ने चाहन्छ मानिस। समाजमा खेल, मनोरञ्जन, राजनीति, कलालगायतका अनेक किसिमका सामाजिक विधिविधान, क्रियाकर्म, अभ्यास, अनुष्ठान, प्रतिस्पर्धा, हारजित, प्राप्ति, उन्नतिप्रगति, सुखदुःखजस्ता क्रियाकर्म भइरहोस्। रचनात्मक या विध्वंसात्मक कामले पनि समाजलाई चलायमान गराइरहेको हुन्छ। सकारात्मक होस् या नकारात्मक क्रिया र प्रतिक्रियाले समाज उद्वेलित भएको हुन्छ। आशा र निराशाको पुञ्ज हो समाज। जब समाज चलायमान हुन छोड्छ त्यो समाज मृतप्रायः हुन्छ।

समाजलाई आशावादी र क्रियाशील बनाउने तत्त्वहरूको अभावमा समाज शिथिल बन्छ, ऊर्जाविहीन बन्छ। समाजलाई दिशानिर्देशित गर्ने आदर्शको मृत्यु भएको अवस्थामा समाज चेतनाहीन बन्छ। न्याय, करुणा, धर्म र आस्था मर्‍यो भने समाज चुँडिएको चंगासमान बन्छ। निराश र ऊर्जारहित समाजले आशा गर्दैन र स्वर्णिम भविष्यको कल्पना पनि गर्न छोडिदिन्छ। समाजका अगुवाले बाटो बिराए भने समाजमा विशृंखलता सुरु हुन्छ र समाज भाँडिन्छ। के अहिलेको नेपालमा यहाँ उल्लिखित सबै तत्त्वहरू पाइन्छन्?

संविधान जारी गर्दा दृश्यअदृश्य शक्तिको बलमा कसैले पनि विशेष ध्यान नदिएको, राजनीतिक तथा सामाजिक एजेन्डामा पनि कतै देखा नपरेको धर्मको विषयलाई कुनै एउटा अदृश्य तत्त्वको जोडबलमा ‘धर्म निरपेक्षता’ लाई संविधानभित्र घुसाएर अमुक शक्तिको तुष र तृष्णालाई तृप्त पारिएको घटनालाई नेपाली समाजले सहजतापूर्वक लिएको छैन। संविधानभित्र धर्म निरपेक्षतालाई स्थापित गरिएपछिको निहितार्थ सामाजिक बनोटलाई परिवर्तन गरेर नेपाली समाजको पहिचान र अस्तित्वलाई समाप्त पार्ने खेलमा यी दृश्यअदृश्य तत्त्व सक्रिय रहँदै आएका छन्।

धर्मान्तरणको रापताप यति धेरै फैलिएको छ कि हाम्रा सम्मानित भनिएका शीर्ष तहका नेताहरूसमेत होली वाइनको चास्नीमा चुर्लुम्म डुब्न पुगेका छन्। ठूला दलका ठूला भनिएका नेताहरू हाक्काहाक्की अमुक धर्मको प्रवक्तासमेत बन्न पुगेका छन्। सामाजिक सद्भाव बिथोल्न अनेक प्रपञ्च रचिएका छन्। कहिले सामाजिक सञ्जालमा हिन्दु देवीदेवताका अपमान गर्ने पोस्ट गरिएका हुन्छन् भने कहिले गौहत्याको जघन्य अपराध गरी गौमांससहितको सामाजिक भोज गरेको भिडियो सामाजिक सञ्जालमा पोस्ट गरिएका हुन्छन्।

सामाजिक तथा धार्मिक अतिवादको सोचले ग्रस्त यस किसिमका क्रियाकलाप सामाजिक सद्भाव भड्काउने उद्देश्यले गरिएका हुन्। मन्दिरको अगाडि जबरजस्ती चर्च बनाउने कार्य हिन्दु धर्ममाथि आस्था भएका समूहलाई भड्काउने, उकास्ने र सामाजिक विशृंखलतालाई बढवा दिने उद्देश्यले योजनाबद्ध रूपमा गरिएका कार्य हुन्।

केही साताअगाडि धरानमा भएको धार्मिक वितण्डा र मलंगवामा भएको आस्थामाथिको हमला यस्तै विशृंखल, उग्र सोच र विखण्डनवादीद्वारा गरिएका निहित दुष्कर्म हुन्। यी र यस्ता कार्य भइरहँदा राज्य संयन्त्र र राजकीय शक्ति सञ्चालनमा भएका नेताहरू तुष्टीकरणमा रमाइरहेका छन्। समाजको ठूलो तप्का भने राज्यको यस किसिमको अकर्मण्यता र निरीहतालाई चुपचाप हेरेर बसिरहेको छ।

भ्रष्टाचारका भनेको राजकीय शक्तिमा हुनेहरूको लागि स्टन्टबाजी जस्तो, शक्तिको प्रदर्शनजस्तो शासकीय परिचयमा सफलताको मानक भएर अगाडि आएको छ। यहाँ जोजति ठूलो त्यति नै ठूलो भ्रष्टाचारको काण्ड, जति ठूलो भ्रष्टाचार काण्ड त्यति नै बढी सफल व्यक्ति हुने होड चलेको छ। जति नै ठूला काण्डहरूको पर्दाफास भए पनि त्यसले कुनै महत्त्व पाउन छोडिसक्यो। हालैका केही घटनाले यस्तै प्रमाणित गर्दै आएको छ।

ओम्नी काण्ड, यती काण्ड, वाइडबडी काण्ड, ललिता निवास काण्ड, पशुपतिको जलहरी काण्ड, ६० किलो सुन काण्ड, भुटानी शरणार्थी काण्ड… काण्डैकाण्ड। नेपाली जनता अत्याचार, दुराचार र भ्रष्टाचार नेपाली समाजको विशिष्टीकृत विशेषताका रूपमा विकसित हुँदै गएको रमिता टुलुटुली हेरेर बस्न विवश छन्। बाहिरबाट हेर्दा समाज शान्त देखिन्छ। मनको पीडा बोकेर दैनिक हजारौँको संख्यामा बिदेसिने नेपाली युवालाई सोधे दखिन्छ नेपालीको असली अनुहार। अनि थाहा हुन्छ, पीडाको आहालमा कसरी शान्त भएर बाँच्ने कला सिकेका छन् नेपालीले। हिजोको हात्ती छाप चप्पल लगाउने व्यक्तिहरू, सर्वहारा नेताहरू कसरी आज खर्बपति भए? उनीहरूको रोमाञ्चक जीवनी पढ्दैछन् औँला भाँचेर। कुनै दिन हिसाब त खोज्लान् नै।

भ्रष्टाचारको विरोधमा राजधानीमा आयोजित धर्ना। फाइल तस्बिर

दण्डहीनताको पराकाष्ठा छ। हत्या, आगजनी, बलात्कारजस्ता जघन्य अपराधलगायत अन्य फौजदारी अभियोग प्रमाणित भएर सजाय काटिरहेकाहरूलाई निहित स्वार्थबस अमुक दलका या अमुक नेताको सिफारिसमा आममाफी दिनु तथा दिन प्रयास गरिनु सामान्य भएको छ। राजनीतिलाई अपराधीकरण र अपराधीलाई राजनीतीकरण गर्ने प्रवृत्तिको गुणात्मक वृद्धि हुँदै गएको छ। यस्तो अवस्था मुलुकमा विद्यमान रहने हो भने कानुन भन्ने चिज अशक्त, निरीह र गरिबका लागि मात्र रहने देखिन्छ। कानुनी राज्य भनिएको ठाउँमा दण्डहीनता बढ्नु भनेको लोकतन्त्रको विलुप्तता हो। लोकतन्त्रको अवसान भएको समाजको विशेषता भनेको कि त अराजकतातर्फ या अधिनायकवादतर्फको यात्रा हो। यस्तो समाजको पूर्वाभास भइरहेको छ नेपालमा।

अव्यवस्था, असमानता तथा अलपत्र अवस्थाबाहेक वर्तमान नेपाली समाजको अर्को डरलाग्दो वास्तविक पाटो भनेको आर्थिक विशृंखलता हो। आन्तरिक उत्पादन वृद्धि, व्यापार, व्यवसाय तथा निर्यात प्रवद्र्धनभन्दा छोटो मार्गबाट धनी बन्ने प्रतिस्पर्धामा ठगी धन्दा मौलाएको छ। नेपाली अर्थतन्त्रको मजबुत खम्बाका रूपमा लिइएको सहकारीको अदृश्य धन्दा भनेको जनताको आर्थिक स्रोतको दुरुपयोग देखिएको छ। बैंकिङ क्षेत्र कहिले निक्षेप अभाव र कहिले ऋण प्रवाहमा समस्याजस्ता जटिल आर्थिक अवस्थाबाट गुज्रिरहेको छ। कुल गार्हस्थ उत्पादनमा बाह्य ऋणको अनुपात विगतका केही वर्षमा उल्लेख्य रूपमा बढेर ४१ प्रतिशतभन्दा माथि पुगेको छ। संघीयताको सालबसाली खर्च धान्न पनि आन्तरिक राजस्वका स्रोतले नपुगेर आन्तरिक तथा बाह्य ऋण लिनुपर्ने अवस्था आउनु भनेको दुःखद अवस्था हो।

विकास नीति त्यस्तै दोधारे छ। एकथरी उत्तरामुखी छन् भने अर्कोथरी दक्षिणमुखी। आफ्नै डम्फुको तालमा नाच्न रमाउने यी राजनेताहरू देखेर मुलुक धर्धरी रोएको छ। एकथरी अमेरिकी र विश्व बैंकको पैसा लिनै हुँदैन भन्ने जडवादी देखिन्छन्। त्यही मार्काका नेता अनावश्यक योजना र ऋणको भारी बोकेर भए पनि चिनियाँ पैसामा राष्ट्रियता फक्रेको देख्छन्। भारतीय विस्तारवाद र अमेरिकी सम्राज्यवादको भाष्यमा रमाउने २१ औँ शताब्दीका यी रूढमती हीनग्रन्थी मनुवाहरू आफ्नो सीमित स्वार्थ पूरा हुने हो भने जोसुकैसँग पनि गला जोड्न पुग्छन्।

नेपालको राजनीतिमा घोर दक्षिणपन्थी र वामपन्थीको आन्द्रा मात्र जोडिएको होइन कि गर्धन पनि जोडिएको छ। २०१६ सालपछिको वामपन्थी आन्दोलनलाई साथ र सहयोग नारायणहिटी दरबारबाट भएको तथ्य जगजाहेरै छ। माओवादी आन्दोलनलाई पनि निर्मल निवास तथा नारायणहिटीबाट पुट पाएको खबर बेलाबेलामा बाहिर आएकै हो। वर्तमान अवस्थामा पनि दक्षिणपन्थी र वामपन्थीको अदृश्य गठजोड छँदैछ। यी दुनियाँलाई देखाउन राष्ट्रियताको जाल फ्याँक्छन् र स्वार्थको परिबन्दमा रमाउँछन्। जबसम्म यी दुई अतिवादी धार मिसिएर संगम बनाउँछन् र राजनीतिक लाभका लागि जाल फ्याँक्छन् तबसम्म यो मुलुकमा लोकतन्त्रको सबलीकरण तथा संस्थागत विकास सम्भव देखिँदैन।

हुन त कांग्रेसहरू राजासँग घाँटी जोडिएको छ भन्थे। यथार्थमा राजाले सधैँ कम्युनिस्टलाई च्यापे। राजासँगै बेलायत पढेका चिरन थापा या दामोदरशमशेरजस्ता कुलीन अभिजात वर्ग कम्युनिस्टहरूका प्रिय थिए। अन्ततः वामपन्थीकै कारणले राजा श्रीपेच फुकालेर हिँड्न बाध्य भए। अहिले पनि केपी ओली, प्रचण्ड र शेरबहादुर देउवाले नचाहेसम्म राजतन्त्र फिर्ता आउने सम्भावना न्यून छ। जनता स्पष्ट रूपमा कांग्रेस र कम्युनिस्टको भोट बैंकका आधारमा बाँडिएका छन्। जनताले मुलुकको अव्यवस्थाको कारकतत्त्व कांग्रेस-कम्युनिस्टका नेता हुन् भन्ने नबुझेसम्म परिवर्तन कठिन छ।

अहिलेको युवा पुस्ता निरपेक्ष देखिँदै छ। उनीहरूले केही आस गरेका छन् भने युवा नेताबाटै गरेका छन्। राजकीय सत्तामा सक्रिय देउवा, ओली, प्रचण्डको पतनपछि आउने पुस्ता भनेको गगन थापा वा विश्वप्रकाश शर्माका पुस्ता हुन्। यो पुस्ताको आगमनपछि भने अलिअलि चर्चामा रहेको राजतन्त्र पुनरागमनको धुकधुकी सकिएर जानेछ।

नेपालले अतिवादको मार्गमा हिँडेर धेरै गुमाइसकेको छ। नेपालका लागि मध्यमार्ग नै उत्तम विकल्प हो। त्यसका लागि राजनीतिक व्यवस्थामा ठूलो उथलपुथल आवश्यक छ। अहिले देख्दा समाज शान्त सुतेको समुद्रजस्तो छ। यो कुनै पनि समय गडगडाएर उर्लिएर आउन सक्छ। जब यो उर्लिन्छ ठूलाठूला भनिने रूखका जरा उखेलिएर ढल्नेछन्।

प्रकाशित: १० कार्तिक २०८० ८:०७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × five =