अफगानिस्तानमा क्रिकेटले ल्याएको ‘दुर्लभ’ खुसी

हिमाल प्रेस ७ कार्तिक २०८० १८:५६
22
SHARES
अफगानिस्तानमा क्रिकेटले ल्याएको ‘दुर्लभ’ खुसी

काठमाडौँ– विश्वकप क्रिकेटमा अफगानिस्तानले पाकिस्तानलाई हराएपछि काबुल खुसीयालीमा झुम्यो। काबुलको आकाशभर पटकाका झिल्का देखिए। आतसबाजी गरियो। कतिसम्म भने गोली पनि पड्कियो।

काबुल यत्तिको खुसी विरलै हुन्छ। कम्तीमा तालिबान सत्तामा फर्किएपछिको यो सबैभन्दा ठूलो खुसीयाली हो। सोमबार राति जब खेल सकियो तब सयौँ अफगान काबुलको सडकमा निस्किएका थिए। तुरुन्त कार र्‍याली सुरु भयो। जसले सडक अस्तव्यस्त बनायो। लगातार हर्न मात्र बजाइएन, ठूलो आवाजमा गीत पनि बजाइयो। तालिबानको प्रतिबन्धमा परेका कतिपय गीत पनि बजे। जसमा काबुली सडकमै नाचे।

‘अफगानिस्तान धेरै पीडा भोगेको देश हो। यसकारण जब खसी हुने मौका आउँछ तब हामी यसलाई खेर जान दिँदैनौँ। पाकिस्तानमाथिको जित हाम्रा लागि विशेष हो। यो अवसरमा खुसीयाली त मनाउनै पर्‍यो,’ काबुलका स्थानीय सरिफुल्लाह भन्छन्, ‘यो जित हाम्रा लागि विश्वकप उपाधि उचाले सरह हो। आशा छ क्रिकेटमा हासिल गरिरहेको सफलताले सबै अफगानलाई एक बनाउनेछ।’

पाकिस्तानमाथिको जित अफगानिस्तानका लागि धेरै कारणले अर्थपूर्ण छ। अफगानिस्तानले छिमेकी पाकिस्तानलाई एक दिवसीय क्रिकेटमा पहिलो पटक हराएको हो। यसअघिका सात एक दिवसीयमा अफगानिस्तान पराजित भएको थियो। ब्याटिङ र बलिङ दुवैमा मजबुत देखिएको अफगानिस्तानले एकदिवसीयमा पहिलोपटक यत्तिको ठूलो लक्ष्य भेटेको हो।

भारतमा जारी विश्वकपमा अफगानिस्तानले यसअघि पनि सनसनी नमच्चाएको होइन। युवा खेलाडीले भरिएको अफगानिस्तानले अनुभवी इंग्ल्यान्डलाई स्तब्ध बनाएको थियो। यस्तोमा अफगानिस्तानले पाकिस्तानलाई पनि कडा टक्कर दिने अपेक्षा थियो। यही अपेक्षाका कारण अफगानी दिनभर टेलिभिजन अगाडि थिए। सार्वजनिक स्थलहरूमा ठूला पर्दा टाँगिएका थिए, खेल देखाउन। मोबाइलमै हेर्नेको संख्या पनि कम थिएन।

छिमेकी भए पनि अफगानिस्तान र पाकिस्तानबीच राजनीतिक सम्बन्ध ठिकठाक छैन। अगस्ट २०२१ मा सत्तामा फर्किएको तालिबानले लडाकु समूहलाई तह लगाउन नसकेको पाकिस्तानको आरोप छ। ती समूहले आफ्नो भूमिमा लगातार आतंकवादी गतिविधि गरिरहेको आरोप पनि पाकिस्तानले लगाउने गरेको छ।

दुई देशबीचको सम्बन्ध यति बिग्रिएको छ कि पाकिस्तानले आफ्नो भूमिमा रहेका अफगान शरणार्थीलाई उनीहरूको देश फर्काउने घोषणा गरेको छ। पाकिस्तान सरकारले केही समयअघि गरेको घोषणा अनुसार १७ लाख शरणार्थी अफगानिस्तान फर्काइनेछन्। यसरी फर्काइने भनिएका शरणार्थी कागजपत्रबिनाका हुन्।

तालिबान र अमेरिका समर्थित तत्कालीन अफगान सरकारबीच युद्ध चर्किँदा लाखौँ अफगान नागरिकले देश छाडेका थिए। त्यसरी अफगानिस्तान छाड्नेका लागि मुख्य सहारा पाकिस्तान थियो। पाकिस्तानविरुद्ध ८७ रन बनाएका अफगान ब्याटर इब्राहिम जार्दानले जित तिनै शरणार्थीका लागि समर्पित गरेको बताए।

के भनिन्छ भने अफगानिस्तानमा क्रिकेट भित्रिएको एक शताब्दी भयो। तर हाल अफगानिस्तानका अधिकांश स्टार खेलाडी पाकिस्तानमा हुर्किएका हुन्। उनीहरूले शरणार्थी शिविरमा क्रिकेट खेल्न सिकेका हुन्।

‘हामीले अफगान टिमबाट यो स्तरको प्रदर्शन पहिले देखेका थिएनौँ। हाम्रा खेलाडीले गजबको खेले। यो जितपछि अफगान खुसीयाली मनाइरहेका छन्। उता पाकिस्तानी भने रोइरहेका छन्। उनीहरू जेसुकै गरून्, हामीचाहिँ रातभर खुसीयाली मनाउने हो,’ तालिबानी सरकारका कर्मचारी नुर एहमदले भने।

क्रिकेट टिमको सफलताको तारिफ नागरिकले त गरेका छन् नै, तालिबान सरकारले पनि गरेको छ। ‘राष्ट्रिय क्रिकेट टिम, क्रिकेट संघ र सम्पूर्ण अफगान नागरिकलाई बधाई,’ अफगान प्रधानमन्त्री कार्यलयमा राजनीतिक विभागका सहायक प्रमुख अब्दुल कादिरले भनेका छन्, ‘यो सफलताले प्रस्ट पारेको छ, अफगान युवा जुनसुकै क्षेत्रमा पनि सफल हुनसक्छन्।’

तालिबान समग्र खेलकुदप्रति नरम छैन। महिलालाई सार्वजनिक स्थलमा एक्लै हिँडडुल गर्न वर्जित गरेको तालिबानले महिला खेलकुद गतिविधि गर्न दिँदैन। तालिबान काबुल फर्किएसँगै महिला क्रिकेट टिमका सबै खेलाडीले देश छाडेका थिए। उनीहरूलाई क्रिकेट वा अन्य खेल खेलेमा मृत्युदण्डसम्मको सजाय दिइने धम्की दिइएको बताइन्छ।

अफगानिस्तानमा महिला क्रिकेटको अस्तित्व मेटाइएसँगै अन्तर्राष्ट्रिय क्रिकेटमा बहस भइरहेको छ, अफगानिस्तानलाई आईसीसी सदस्यबाट निलम्बन गर्नेबारे। यसो गरिए पुरुष टिमले पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिन पाउने छैन।

भविष्यमा अफगान क्रिकेटले कुन बाटो समात्छ? अहिल्यै भन्न सकिँदैन। तर यतिचाहिँ भन्न सकिन्छ, आमअफगानलाई क्रिकेटले हर्षको बहाना दिएको छ। ‘हामी पाकिस्तानलाई जित्न चाहन्थ्यौँ। यो धेरैअघिबाट देखिएको सपना थियो। बल्ल पूरा भएको छ। यसकारण सबै खेलाडी धन्यवादका पात्र हुन्,’ ३० वर्षीय काबुली हमिदुल्लाह भन्छन्।

एएफपीबाट

प्रकाशित: ७ कार्तिक २०८० १८:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + 14 =