काठमाडौँ- फास्ट बलर मोहम्मद सामी विश्वकपका सुरुवाती चार खेलमा भारतीय बेन्चमा थिए। आइतबार राति भने उनले खेल्ने अवसर पाए। अवसर पाउँदा उनी चम्किए, न्युजिल्यान्डमाथिको जितमा सर्वाधिक पाँच विकेट लिए।
न्युजिल्यान्डविरुद्धको जित भारतका लागि धेरै हिसाबले महत्त्वपूर्ण थियो। भारतले सन् २००३ पछि आईसीसीको प्रतियोगितामा न्युजिल्यान्डलाई हराउन सकेको थिएन। फेरि यही जितले भारतलाई विश्वकप अंक तालिकाको शीर्षस्थानमा पुर्यायो। जहाँ आइतबारको खेलअघि न्युजिल्यान्ड थिए।
भारतलाई विशेष जित दिलाउन बेन्चबाट मैदान प्रवेश गरेको सामीले अति उत्साहित देखिएनन्। बरु संयमित देखिए। सुरुका चार खेलमा भारतले जसरी खेल्यो, त्यसले आफूलाई प्रेरणा दिएको प्रतिक्रिया दिए।
न्युजिल्यान्डसँगको खेलमा भारतले दुई खेलाडी परिवर्तन गरेको थियो। घाइते हार्दिक पान्ड्याको स्थान सूर्यकुमार यादवले लिएका थिए भने हामीले शार्दूल ठाकुरलाई प्रतिस्थापन गरेका थिए।
आखिरमा सामीले अवसरको फाइदा उठाए। उनले न्युजिल्यान्डको मध्य र तल्लोक्रम तहसनहस बनाइदिए। न्युजिल्यान्ड दुई विकेटको क्षतिमा १७८ रन बनाएको स्थितिमा थियो, जतिबेला सामीको जादु चल्न सुरु भयो।
नवौँ ओभरमा ओपनर विल योङको विकेट लिएका सामीले रचिन रविन्द्र र डारेल मिचेलको साझेदारी भत्काइदिए। ती दुईले १५८ रनको साझेदारी गरिसकेका थिए। रचिन रविन्द्र ७५ र मिचेल १३० रन बनाएपछि सामीको बलमा आउट भए। सामीले ४८ औँ ओभरमा मिचेल सान्टनेर र माट हेनरीको विकेट लिए।
‘जब खेल्न पाइँदैन, तब कुनै पनि खेलाडी निराश हुन्छ नै। तर त्यसबेला आफ्नो टिमले राम्रो गरिरहेको छ भने निराशालाई त्याग्नुपर्छ। किनभने नखेले पनि म त्यही टिमको हिस्सा हुँ। आखिरमा हामी सबै एकअर्काको सफलतामा रमाउँछौँ,’ सामीले भने।
सन् २०१० मा भारतीय टिमबाट खेल्न थालेका सामीले हालसम्म ९५ एकदिवसीय खेलिसकेका छन्। पछिल्लो एक दशक भारतले जे जति सफलता हात पारेको छ, तिनमा सामीको पनि भूमिका अहम् छ। तर भारतको ह्वाइट बल टिममा पछिल्लो समय सामी अरु बलरभन्दा पछि पर्न थालेका हुन्। हाल भारतका लागि फास्ट बलर शार्दुल ठाकुर पहिलो रोजाइ हुन्। उनीपछि जसप्रित बुमराह र मोहम्मद सिराजले भारतीय बलिङ विभागमा स्थान ओगटेका छन्।
कम मौका पाइरहे पनि सामी निराश छैनन्। ३३ वर्षिय बलर बेन्चमा कसरी प्रस्तुत हुनेबारे संयमित छन्। ‘बेन्चमा ठुस्स परेर बस्नुको कुनै औचित्य छैन्। खेल्दा होस् वा बेन्चमा बस्दा, रमाइलो मान्नै पर्छ। किनभने भारतमा क्रिकेट सबैभन्दा ठूलो खेल हो। यसो भएपछि खेलाडी प्रशस्त हुन्छन् नै। पहिलो एघारमा परिन्छ नै भन्ने हुँदैन। किनभने चार खेलाडी त पहिलो ११ बाट बाहिर रहनैपर्छ,’ सामीको भनाइ थियो।
न्युजिल्यान्डविरुद्धको जितपछि भारतको १० अंक भएको छ। दोस्रो स्थानको न्युजिल्यान्डसँग आठ अंक छ। आगामी आइतबार भारतले छैटौँ खेल खेल्नेछ। लखनऊमा हुने खेलमा भारतको विपक्षी हो, इंग्ल्यान्ड। जसले चार खेलमा एक जित हात पारेको छ।
सामीले इंग्ल्यान्डसँगको खेलमा पनि अवसर पाउने विश्वास व्यक्त गरेका छन्। लगातार खेल्न पाए आफू लयमा रहिरहने भनाइ उनको थियो। यो बीचमा आफ्नो टिमले मेहनत जारी राख्ने पनि उनले बताए।
‘कतिलाई लाग्नसक्छ, एक खेल जितेपछि हामी आराम गर्छौँ। त्यसो होइन, हाम्रो मेहनत जारी रहन्छ, लगातार अभ्यास गरिरहन्छौँ। किनभने हामी सबैलाई अहिलेको भन्दा अझ बलियो बन्नु छ, खेल जितिरहनु छ,’ सामीले भने।