काठमाडौँ– क्रिकेट विश्वकप २०२३ मा तेस्रो पराजय भोगेपछि इंग्ल्यान्डका कप्तान जोस बट्लरले आगामी खेलमा गल्ती गर्ने ठाउँ नरहेको प्रतिक्रिया दिएका छन्। भारतीय सहर मुम्बईको वाङ्खेडे रंगशालामा शनिबार इंग्ल्यान्ड दक्षिण अफ्रिकासँग २९९ रनले पराजित भयो। कीर्तिमानी हारपछि बट्लरले वर्तमान लयबाट मुक्ति पाउनु पर्ने अभिव्यक्ति दिएका हुन्।
टस जितेर फिल्डिङ रोजेको इंग्ल्यान्डले दक्षिण अफ्रिकाबाट ३९९ रनको लक्ष्य पाएको थियो। एक दिवसीय क्रिकेटमा आफूले पाएको सर्वाधिक ठूलो लक्ष्य पछ्याएको इंग्ल्यान्ड अखिरमा १७० रनमै सीमित भयो।
भारतमा भइरहेको विश्वकपमा इंग्ल्यान्डले खराब प्रदर्शन गरिरहेको छ। बंगलादेशलाई हराएर अंकको खाता खोलेको इंग्ल्यान्ड न्युजिल्यान्ड र अफगानिस्तानसँग पराजित भएको थियो। अब थप एक पराजयले इंग्ल्यान्डको सेमिफाइनलमा पुग्ने सम्भावनालाई पातलो बनाउनेछ। इंग्ल्यान्ड हाल नवौँ स्थानमा छ। उता चार खेलमध्ये तीनमा जित पारेको दक्षिण अफ्रिका तेस्रो स्थानमा उक्लिएको छ।
‘हामी असाध्यै कठिन स्थितिमा पुगेका छौँ। अब अर्को खेलमा हामीसँग गल्ती गर्ने विकल्प छैन,’ आउँदो खेलमा श्रीलंकासँग भिड्ने इंग्ल्यान्डका कप्तान बट्लरले भने, ‘आफ्नै गल्तीका कारण यो स्थितिमा आइपुगेका हौँ। तर हिम्मत हारिसकेका छैनौँ। जित लयमा फर्कन जे आवश्यक छ, त्यो गर्न हामी तयार छौँ।’
दक्षिण अफ्रिकाविरुद्ध इंग्ल्यान्डका बलर निरीह साबित भएका थिए। इंग्ल्यान्डको आत्मविश्वास ध्वस्त पार्न दक्षिण अफ्रिकाका हेनरिच क्लासनले शतक र मार्को जानसनले ७७ बलमा १५१ रनको साझेदारी गरेका थिए। क्लासनले व्यक्तिगत १०९ रन बनाए भने जानसन ७५ रनमा अविसजत रहे।
विशाल लक्ष्य पाएको इंग्ल्यान्ड दक्षिणी अफ्रिकी पेस बलिङअघि झुक्यो। २२ ओभरमा अलआउट भएको इंग्ल्यान्डका लागि मार्क उडले बनाएको ४५ रन सर्वाधिक ठूलो स्कोर रह्यो। तल्लोक्रमका उडले नटआउट रहँदै १७ बल सामना गरे। तल्लोक्रमकै गुस एट्किन्सनले ३५ रन जोडे। यी दुईमाथिका कुनै पनि ब्याटरको ब्याटिङ चलेन।
‘हामी आफ्नो स्तरअनुसारको खेल देखाइरहेका छैनौँ। यो सत्य हो। कप्तानका रुपमा म र टिमका अरु साथी खेलाडीहरु गम्भीर छौँ। हामी आगामी खेलमा कसरी लयमा फर्कने भन्नेबारे छलफल गर्नेर्छौँ। हामीसँग आफूलाई सम्हालेर अघि बढ्नु बाहेकको विकल्प छैन,’ बट्लरले भने।
टस जितेपछि बट्लरले दक्षिण अफ्रिकालाई ब्याटिङको निम्तो दिएका थिए। यदि यसको उल्टो निर्णय गरेको भए नतिजा फरक आउन सक्थ्यो। ३६ डिग्री सेल्सियस पुगेको मुम्बईको गर्मीमा इंग्ल्यान्डका खेलाडीले सोचेअनुसारको फिल्डिङ गर्न सकेनन्।
‘सायद पहिले ब्याटिङ गर्नु उचित निर्णय हुने थियो। किनभने गर्मीमा फिल्डिङ गर्दा हामी थाक्यौँ,’ आफ्नो निर्णयबारे बट्लरले भने, ‘त्यसबेला मलाई त्यही निर्णय ठिक लाग्यो। ३४० वा ३५० रनको लक्ष्य पाएको भए हामी राम्रो प्रदर्शन गर्न सक्थ्यौँ जस्तो लाग्छ।’
इंग्ल्यान्डविरुद्ध शतक प्रहार गरेपछि क्लासन भावुक बनेका थिए। उनले शतक पूरा गरेपछि इंग्ल्यान्डका बलर उडसामु खुसीयाली मनाएका थिए। लगातार चोटका कारण दुःख पाएका उनले यसपालि ६७ बलमा १२ चौका र चार छक्का प्रहार गरे। उनले उडको बलमा लगातार चौका र छक्का हिर्काएका थिए।
त्यसपछि पिचको बीचमा खुसी मनाएका उनी उडअघि पुगेका थिए। उडले भने क्लासनको उत्तेजनाको कुनै प्रतिक्रिया दिएनन्।
‘मैले त्यसबेला उडलाई केही भनिनँ। खेलपछि भने उनीलाई भेटेर माफी मागेँ। उनको बलले मेरो खुट्टामा एक पटक होइन दुई पटक लागेको थियो। अहिले पनि दुखिरहेको छ,’ क्लासनले भने।
‘शतक प्रहार गरेपछि म भावनामा डुबेँ। म फेरि पनि उड र इंग्ल्यान्डका अरु खेलाडीसँग माफ माग्न चाहन्छु। कहिलेकाहीँ भावना रोक्न कठिन हुन्छ,’ क्लासनले भने।
उता इंग्ल्यान्डका कप्तान बट्लरले क्लासनको खुसीयाली मनाउने शैली अनावश्यक रहेको टिप्पणी गरे। ‘उडको अघि उनले त्यसरी खुसीयाली मनाउन आवश्यक थिएन। तर जे होस् उनले आफूले गल्ती गरेको महसुस गरे र माफी मागे। अब उनीप्रति कुनै किसिमको रोष बाँकी छैन,’ बट्लरले भने।