झन्झटरहित यात्रा

मस्त केसी ३ कार्तिक २०८० १२:२८
10
SHARES
झन्झटरहित यात्रा काठमाडौँका बालाजुस्थित नयाँ बसपार्कमा रोकिएका बस। तस्बिर : दिपेश श्रेष्ठ

हवाई कम्पनीमात्र होइन लामो दूरीका सार्वजनिक बसले समेत अनलाइन टिकेटिङको व्यवस्था गरेपछि यात्रा झन्झटरहित र सजिलो बनेको छ।

नौ वर्षअगाडि १० कम्पनीका बसको टिकट अनलाइनमार्फत बिक्री गरेर सेवा सुरु गरेको बससेवासँग अहिले ३०० भन्दा बढी कम्पनी जोडिएका छन्। जसमार्फत मुलुकका ६० भन्दा बढी जिल्ला र प्रमुख सहरमा जानआउन टिकट काट्न सकिन्छ। अनलाइन टिकेटिङको बलियो फाइदा भनेकै आफैँले आफ्नो र आफन्तका लागि टिकट लिन पाइनु हो। यसको प्रयोग गर्दा काउन्टरमै पुगेर लाम लागेर टिकट काट्नुपर्ने झन्झट हुँदैन।

पछिल्लो समय प्रविधिले फड्को मारेको छ। यात्रुले अनलाइन टिकटिङको बारेमा सोधपुछ धेरै गरेपछि आफैँले बेबसाइट र एपमार्फत टिकट बिक्री गरिरहेको त्रिसिद्धेश्वरी राप्ती यातायात प्रालिका अध्यक्ष सुरेश हमाल बताउँछन्। यो कम्पनीले दाङलाई केन्द्र बनाएर ६०० भन्दा बढी बसमार्फत एक सय रुटमा गाडी चलाइरहेको छ। अध्यक्ष हमालका अनुसार अहिले अनलाइनका लागि छुट्याइएका सिटमध्ये आधा बिक्री भइरहेको छ। राप्तीले प्रत्येक बसमा १२ सिट अनलाइन बिक्रीका लागि राखेको हुन्छ।

बससेवा होस् वा राप्ती यातायातको एप दुवैले आईएमई पे, ईसेवा, खल्ती, फोनपे, कनेक्ट आईपीएसलगायतका भुक्तानी सेवा प्रदायक कम्पनीसँग सम्झौता गरेका छन्। जसबाट सजिलै भुक्तानी गरेर टिकट खरिद गर्न सकिन्छ। यसका साथै सबै बैंकको एपबाट पनि भुक्तानी गर्ने सुविधा दिइएको छ।

अनलाइन टिकटिङमा बढेको विश्वास र यसको सहजताका कारण अहिले दैनिक तीन हजार यात्रुले सेवा लिन थालेको बससेवाका प्रमुख कार्यकारी अधिकृत पीआर खनाल बताउँछन्। उनी भन्छन्, ‘बिस्तारै हवाई यात्रुजस्तै बसका यात्रु पनि अनलाइनमा ‘सिफ्ट’ भइरहेका छन्।’

बसका यात्रु अनलाइन टिकेटिङमा झुम्मिन थाले पनि सिट रोज्न भने पाउँदैनन्। बस कम्पनी र टिकेटिङ पाटर्नरले उपलब्ध गराएका सिटमा चित्त बुझाउनुपर्छ। बससेवाले प्रत्येक बसमा ८ सिट राखेको हुन्छ। प्रमुख कार्यकारी अधिकृत खनाल भन्छन्, ‘बस कम्पनीहरू र त्यसका काउन्टर पूर्ण रूपमा डिजिटल नभएका कारण सीमित सिट अनलाइनमा राखिएको हो। हामी निकट भविष्यमै सबै सिट रोज्न पाउने गरी व्यवस्था गर्दैछौँ।’

हवाई यात्रुले त अनलाइन टिकेटिङलाई नै प्राथमिकतामा राखेका छन्। पछिल्लो केही वर्षदेखि कुल हवाई टिकटको ७० प्रतिशत अनलाइनबाट बिक्री हुन थालेको बुध्द एयरका सेल्स एन्ड मार्केटिङ प्रबन्धक रूपेश जोशी बताउँछन्। ‘अनलाइनबाटै बिक्री हुन थालेपछि यस वर्ष दसैँका लागि बुकिङ खुलाउनै परेन,’ उनी भन्छन्, ‘असोज १५ गतेतिरै ८० प्रतिशत हवाई टिकट अनलाइनबाट बुक भइसकेको थियो।’

बुध्द एयरले अहिले १६ एटीआर जहाजमार्फत दैनिक १५० हाराहारी उडान गरिरहेको छ। बुध्द एयरका अनुसार दसैँका बेला काठमाडौँदेखि धनगढीसम्म अधिकतम भाडादर १७ हजार १८६ रहेको छ। यो गन्तव्यमा अहिले सहुलियत भाडादर ११ हजार १ रुपैयाँ छ।

त्यस्तै सुर्खेतको १४ हजार १६८ र नेपालगन्जको १३ हजार ३९४ रहेको छ। काठमाडौँदेखि भ्रद्रपुरको भाडादर अधिकतम १२ हजार ३८३ तोकिएको छ। उक्त गन्तव्यको सहुलियत भाडादर ९ हजार १ रुपैयाँ हो। प्रबन्धक जोशी भन्छन्, ‘टिकट दर आफैँले हेर्न मिल्ने, पारदर्शी हुने, क्यासब्याकलगायत सुविधा आफैँलाई प्राप्त हुने भएकाले पनि यात्रुको रोजाइ अनलाइन टिकेटिङतर्फ बढी देखिन्छ।’

आन्तरिक उडानका बुध्द एयर, यती एयरलाइन्स, श्री एयरलाइन्स, सौर्य, सिम्रिक, सीता र समिट एयरको अधिकांश बुकिङ पनि अनलाइनबाटै भएको छ। यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौला पनि ७० प्रतिशतभन्दा बढी बुकिङ अनलाइनबाटै भएको बताउँछन्। उनी भन्छन्, ‘पहिला जस्तो दसैँलाई मात्र भनेर बुकिङ खुलाउने गरिएको छैन, टिकट अनलाइनमा सहजै पाइने भएकाले बुकिङ धमाधम भइरहेको छ। घटस्थापनापछि बढी चाप देखिएको छ।’

प्रकाशित: ३ कार्तिक २०८० १२:२८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + sixteen =