संयुक्त राष्ट्रसंघ स्थापना दिवसमा शान्ति पदयात्रा र विशेष कार्यक्रम

हिमाल प्रेस १ कार्तिक २०८० १७:५९
6
SHARES
संयुक्त राष्ट्रसंघ स्थापना दिवसमा शान्ति पदयात्रा र विशेष कार्यक्रम

काठमाडौँ– नेपाली सेनाले संयुक्त राष्ट्रसंघ स्थापना दिवस (युएन डे) का अवसरमा पाँच किमि दुरीको ‘शान्ति पदयात्रा’ गरेको छ।
सैनिक मुख्यालय जङ्गीअड्डास्थित खेलमैदानबाट सुरु भएको उक्त पदयात्रा सहिदगेट, सैनिक मञ्च, पुरानो बसपार्क, भद्रकाली, त्रिपुरेश्वर, माइतीघर, भद्रकाली हुँदै पुनः सहिदगेट भएर सोही खेलमैदानमा पुगेर समापन भएको थियो।

प्रधानसेनापति प्रभुराम शर्मा, पूर्वप्रधानसेनापति, रथीबृन्द, उच्च सैनिक अधिकृतसहित सकल दर्जा, गैरसैनिक व्यक्तिलगायत सो पदयात्रामा सहभागी थिए।

राष्ट्रसंघको स्थापना सन् १९४५ अक्टोबर २४ भएकामा त्यस दिन यसपटक नेपालमा बडादसैँ पर्व परेकाले आज ‘यूएन–डे’ विभिन्न कार्यक्रम गरी मनाउन लागिएको हो। यसैगरी उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, परराष्ट्रमन्त्री नारायणप्रकाश साउद, सुरक्षा निकायका प्रमुख, नेपालस्थित कूटनीतिक नियोगका पदाधिकारी, विभिन्न कार्यालयका प्रमुख तथा प्रतिनिधिलगायत सैनिक अधिकृतको सहभागितामा सैनिक मुख्यालयमा ‘यूएन डे’ विशेष कार्यक्रम आयोजना भएको छ।

नेपाल सन् १९५५ डिसेम्बर १४ मा संयुक्त राष्ट्रसंघको सदस्य बनेको थियो। नेपाल त्यसबेलादेखि नै संयुक्त राष्ट्रसंघका अधिकांश शान्ति अभियानमा सक्रिय रुपमा सहभागी हुँदै आएको छ। राष्ट्रसंघको शान्ति सहायता अभियानमा नेपाली सेनाको सहभागिता छ दशकभन्दा बढीको छ। यस अवधिमा लगभग ४४ मिसनमा एक लाख ४६ हजार छ सय २३ नेपाली शान्ति सैनिकले भाग लिइसकेका छन्।

नेपाली शान्ति सैनिकको कर्तव्यप्रति निष्ठा र उत्कृष्ट कार्यसम्पादनको राष्ट्रसंघलगायतका निकायबाट उच्च प्रशंसा हुँदै आएको छ। शान्तिकार्यमा खटिएका नेपाली सैनिकले जहिले पनि चुनौतीलाई स्वीकार गर्दै कठिन जिम्मेवारी लिँदै आएका छन्। विश्वशान्ति स्थापना कार्यमा संलग्न हुने सिलसिलामा हालसम्म ७२ नेपाली शान्ति सैनिकको वीरगति प्राप्त गरेका छन् भने ६६ जना घाइते भएका छन्। शान्ति सैनिक खटाउने मुलुकको सूचीमा नेपाल दोस्रो ठूलो वरीयता भएको राष्ट्र हो।

हाल विश्वका १३ मिसनमा नेपाली सेनाका पाँच हजार आठ सय २६, नेपाल प्रहरीका ४४ र सशस्त्र प्रहरी बल, नेपालका एक सय ९४ गरी छ हजार ६४ शान्ति सैनिक तैनाथ छन् । त्यसमध्ये पाँच सय ८६ महिला शान्ति सैनिक रहेको सैनिक प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिए। अघिल्लो वर्ष ‘युएन डे’ का अवसरमा कात्तिक ५ गते विशेष कार्यक्रम तथा कात्तिक ६ गते ‘अन्तर्राष्ट्रिय शान्ति र स्थिरताका लागि एकता’ विषयक गोष्ठी आयोजना गरिएको थियो।

दोस्रो भागको विशेष कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालको टोलीहरुद्वारा मार्चपाष्ट, नेपाली सेनाद्वारा विभिन्न प्रकारका झाँकी, तेक्वान्दो खेल प्रस्तुत गर्नुका साथै सैनिक ब्याण्डको प्रस्तुतीकरण समावेश गरिएको थियो।

उक्त कार्यक्रममा परराष्ट्र मन्त्रीनारायण प्रकाश साउदले संयुक्त राष्ट्रसंघ दिवसको अवसरमा आयोजित यस कार्यक्रमले नेपालको परराष्ट्र नीतिको प्राथमिकता विश्वशान्ति पनि रहेको र यसमा नेपालले उल्लेखनीय योगदान पुर्‍याएको कुरालाई दर्साउने बताए।

मन्त्री खड्काले नेपाल संयुक्त राष्ट्रसंघको पहिचान र विश्व शान्तिको महान् कार्यप्रति समर्पित रहेको र संयुक्त राष्ट्रसंघको महासचिवको लैंगिक समानताको रणनीतिलाई अंगीकार गर्दै दक्ष महिला शान्तिकर्मीहरू तैनाथ गरिरहेको बताए।

बदलिँदो शान्ति चुनौतीसँगै साधारण जनताको सुरक्षा संवेदनशीलता वृद्धि भएकाले उक्त चुनौतीको समाधानका लागि नवीन तवरले शान्ति कार्य सम्पादन गर्नु पर्ने र संयुक्त राष्ट्रसंघले माग गरेको अवस्थामा नेपाल सरकार दस हजार तालिम प्राप्त शान्ति सैनिकहरू पठाउन तयार रहेको जानकारी उनले दिए।

नेपालका लागि संयुक्त राष्ट्रसंघका आवासीय प्रतिनिधि हाना सिन्गर हाम्डीले पाँच जना सैनिक पर्यवेक्षकबाट सुरु भएको नेपालको शान्ति स्थापना यात्रामा हाल ६ हजारभन्दा बढी शान्ति सैनिक खटिनुले नेपाल संयुक्त राष्ट्रसंघको भरपर्दो सदस्य राष्ट्र भएको बताइन्।

प्रधानसेनापति महारथी प्रभुराम शर्माले बदलिँदो परिस्थितिहरु बीच शान्ति सैनिकहरूलाई समेत खतरा बढ्दै गएकाले शान्ति सैनिकहरू आधुनिक उपकरण र उच्च पेसागत दक्षताले सुसज्जित हुनुपर्ने बताए।

प्रकाशित: १ कार्तिक २०८० १७:५९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 12 =