काठमाडौँ- सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दसैँका लागि जिउँदो खसी, बोका र च्यांग्राको बिक्री सुरु गरेको छ। कम्पनीले थापाथलीस्थित प्रादेशिक कार्यालयबाट मंगलबारदेखि खसी, बोका र च्यांग्रा बेच्न थालेको हो।
कम्पनीकी सूचना अधिकारी शर्मिला न्यौपानेका अनुसार खसी-बोका प्रतिकिलो ६ सय ७० रुपैयाँ र च्यांग्रा प्रतिकिलो एक हजार दुई सय ५० रुपैयाँमा बिक्री भइरहेको छ।
यो कम्पनीले दिएको प्रतिकिलो १० रुपैयाँ छुटपछिको मूल्य हो। कम्पनीका अनुसार खसी-बोका मकवानपुर, दाङ र कैलालीबाट तथा च्यांग्रा रसुवाबाट सोमबार काठमाडौँ ल्याइएको हो।
यस वर्षको दसैँमा कम्पनीले दुई हजार खसी बोका र एक हजार च्यांग्रा बिक्री गर्ने तयारी गरेको छ।
प्रकाशित: ३० असोज २०८० १७:१२
प्रतिक्रिया